बिर्तामोड २४ भदौ । जेनजी पुस्ताको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तीदेखि व्यक्तिका घर र राजनीतिक दलका पार्टी कार्यालयमा पनि क्षति भएको छ । झापाको विर्तामोड, नगरपालिकासहित वडा नं. ५ स्थित बुधबारे हटियाभित्र रहेको वडा नं. ५ को कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय भित्रका कुर्सी, टेबल तथा कागजात समेत जलाइएको छ भने जिल्ला टाफिक कार्यालय अगाडिको गेट तोडेल विश्रामालयमा आगजनी समेमत गरिएको छ । प्रदर्शनकारीको निरन्तरका प्रदर्शनका क्रममा प्रहरीले दर्जनौ अश्रु ग्यास, हवाई फायर र गोली चलाएको बताइएको छ । सो क्रममा तीनजना घाइते भएका छन् ।
गोली लागेका मध्ये एक जनाको नाम खुलेको छैन भने गोपाल भट्टराई र दिनेश दनुवारको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
पहिलो दिनको आन्दोलनका क्रममा काठमाडौंमा हिंसात्मक घटना भएपछि आक्रोशित बनेको जेनजी पुस्ताको दोस्रो दिनको प्रदर्शन सार्वजनिक सम्पत्तीमा क्षतितर्फ केन्द्रित भएझै देखिन्थ्यो । अन्ततः परिस्थिति जटिल बन्दै गएपछि सोही कारण सोमबार नै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर आज राजीनामा दिएका छन् ।
प्रदर्शनका क्रममा बिर्तामोडस्थित नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरिएको छ भने पूर्व मेयर ध्रुव शिवाकोटीको घरमा समेत आगौ लगाइएको थियो । प्रदर्शनका क्रममा आन्दोलनकारीले विर्तामोडमा सडक सुरक्षाका लागि राखिएका सिसि क्यामेरा तोडफोड गर्नुका साथै सचेतनामुलक बोर्डहरु भाँच्ने, उखेलिने गरिएको छ । आक्रोशित भीडले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको झापास्थित निजी निवासमा तोडफोड गरेको छन् ।
जेनजी पुस्ताको प्रदर्शनको दोस्रो दिन: घाइते, आगजनी र तोडफोड

































































































