बिर्तामोड १४ भदौ । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले अलैंचीको उत्पादनमा बृद्धि र व्यवसाय प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिवद्धता जनाएका छन् ।
नेपाल अलैंची व्यवसायी महासंघको नवौं बार्षिक साधारणसभा तथा पाँचौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधनका क्रममा यस्तो प्रतिवद्धता गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले अलैंची क्षेत्रमा मुख्य भूमिका किसानको भएको उल्लेख गर्दै किसान फस्ट भन्ने नाराका साथ अलैंची उत्पादनदेखि प्रवद्र्धनसम्म पर्ने आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउँदै उत्पादनमा दोब्बर बृद्धि हुने गरी अध्ययन, अनुसन्धान गरेर योजना ल्याउन सुझाए ।
नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार वि.सं. १८३० मा सिक्किमबाट अलैंची नेपाल भित्रिएको अहिले नेपालका विभिन्न पहाडी जिल्लामा खेती हुँदै आएको छ ।
पछिल्ला दुईवर्षमा अलैंचीको भाउ उच्च भएसंगै अलैंची खेतीमा किसानको आकर्षण बढेपनि उत्पादनमा गिरावट आएको बताइएको छ । उत्पादनमा गिरावट आउनुको मुख्य कारण जलवायु परिवर्तनको असर अलैंचीमा परेको पूर्वी पहाडका अलैंची कृषकले बताएका छन् ।
नेपालबाट बार्षिक सातदेखि १० अर्बको अलैंची निर्यात भइरहेको अध्यक्ष भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईले भोजपुर र संखुवासभालाई समेटेर अलैंची सुपरजोन स्थापना गर्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा उत्कृष्ट अलैंची निर्यातकर्ता, उत्कृष्ट किसान र कर्मचारीलाई पुरस्कृत गरिएको छ । सम्मानित हुनेहरुमा उत्कृष्ट किसान ताप्लेजुङ्गका विदुर तिवारी, स्व. देवीप्रसाद उत्कृष्ट व्यवसायी सम्मानबाट विर्तामोड निवासी रोशनलाल अग्रवाल, उत्कृष्ट निर्यातकर्ता ओमकृष्ण विमली र उत्कृष्ट कर्मचारीको रुपमा अनिल ढुंगाना, रीमा श्रेष्ठ रहेका छन् ।
महाधिवेशनमा १६ जिल्लाका प्रतिनिधिहरुको उपस्थित रहेको बताइएको छ । सो अवसरमा अलैंचीका बारेमा विभिन्न विषयवस्तु समेटिएको अलैंची नामक पुस्तक समेत विमोचन गरिएको थियो ।
अलैंची उत्पादन र प्रवद्र्धनमा सहयोग गर्ने मुख्य मन्त्रीको प्रतिवद्धता, उत्कृष्ठलाई सम्मान



















