बिर्तामोड २५ साउन । ‘सस्कृति हाम्रो पहिचान, संरक्षण हाम्रो अभियान’ भन्ने मुल नारासहित जनै पूर्णिमाको अवसरमा नेवाः पासा मुना पुच : ले बिर्तामोडमा ‘रोपाई जात्रा’ गरेको छ । नेवार समुदायले मनाउने विभिन्न जात्राहरु मध्ये महत्वपूर्ण मानिएको लाखेजात्रासंगै जोडिएर आउने रोपाईँ जात्रा पनि एक महत्वपूर्ण र मनोरञ्जन दिने जात्रा हो । लाखेपूर्णिमाको तेस्रो दिन अर्थात भाद्र कृष्ण द्वितीयाका दिन नेवार समुदायको बसोबास बाहुल्य रहेका ठाउँहरुमा मनाइदै आएको रोपाई जात्रा पछिल्लो समय बसाई सराईका कारण तराईका जिल्लाहरुमा पनि नेवार समुदायको बसोबास बढ्न थालेसंगै यो समुदायसंग जोडिएको संस्कार, संस्कृतिहरु प्रस्तुती पनि फराकिलो हुँदै गएको छ । यद्यपी बहुजाति बहुभाषी बसोबास रहेको नेपालमा हरेक पर्वहरुलाई प्रायःले अपनत्व ग्रहण गर्दै सबै रमाएको देख्न पाइन्छ ।
मुना पुचः ले बिर्तामोडको मेघा मार्केट प्राङ्गणमा ‘रोपाईं जात्रा’ लाखे नाच साथै सांस्कृतिक प्रदर्शन गरेको हो । कार्यक्रममा धिमे बाजा, ठाकठुके नृत्य, नेवारी नृत्य, गाईजात्रे कविता वाचन प्रस्तुत गरिएको थियो।
नेवा: पासा मुना पुचः अध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा पुरानो भद्रपुर रोड ईन्द्रेणी ब्याङ्क्वेटबाट धिमे बाजासहित शुरु गरिएको लाखे नाच मेघा मार्केट प्रांगणमा पुगे पश्चात कार्यक्रम शुरु गरिएको थियो।
लाखे नाच तथा र्र्यालीमा बिर्तामोड नगर भित्रका पासा मुना पुचः का सदस्यहरू, कार्य समिति सदस्यहरु, पदाधिकारीहरु लगायत रहेका थिए। नेवार जातिको जातीय संस्कार तथा पहिचान लाखे नाच हरेक बर्ष प्रदर्शन गरिन्छ । बिभिन्न स्थानमा यस बेला लाखे नाच प्रदर्शन भैरहेको छ ।
समाजका सबै समुदायले हेर्न रुचाउने यो नाच हरेक वर्ष नाग पञ्चमीका दिन देखि नेवार समुदायले भिमसेन मन्दिरमा विधिवत रूपमा पुजाआजा गरी शुभारम्भ गरेर कृष्ण जन्माष्टमीको दिन समापन गरिन्छ।
नाग पञ्चमीका दिन देखि शुभारम्भ गरिएको लाखेलाई विभिन्न चोक चोकमा तथा बजार प्रदर्शन गर्दै मानिसलाई मनोरंजन दिईन्छ । मनोरञ्जन दिनु नै यसको मुख्य उद्देश्य मानिन्छ। यद्यपि पासा मुना पुचः को लाखे नाच भदौ २ गते समापन गरिने आयोजकले जनाएको छ ।
बिर्तामोडमा रोपाईं जात्रा सम्पन्न

































































































