Homeविचारबढ्दो मपाइत्व : घट्दो सहिष्णुता

बढ्दो मपाइत्व : घट्दो सहिष्णुता

म अर्थात मपाइत्व शब्दले परम्परागत रूपमा कुनै वस्तु, विचार, वा सम्पत्तिमा व्यक्तिको स्वामित्व र जिम्मेवारी भन्ने जनाउँछ । आजको पुस्तामा यो शब्दले फरक अर्थ लिएको देखिन्छ । मपाइत्व एक यस्तो पन हो, जहाँ मानिस आफूभित्रको म मा यति केन्द्रित हुन्छ कि अरूका कुरा आवश्यक नै ठान्दैन । यस्तो मपाइत्व व्यक्तित्वको परिपक्वता होइन, अहंकार र आत्मकेन्द्रितताको सूचक हो । म नै सवैथोक हो भन्ने ग्रसित मानसिकताबाट मपाइत्व भाव बढ्ने हो । जसले सामुहिक भावनाको तेजोबध गर्छ र व्यक्तिलाई निरंकुश बन्न प्रेरित गरिरहन्छ । जहाँ मैले गरेको सबै ठिक अरुले भनेको, गरेको सबै बेठिक ठहर्छ । मपाइत्वमा रमाएकाले सामुहिक भावनाको सम्मान गर्नुको सट्टा स्वनिर्णय लाद्न उद्दत रहन्छ । सहिष्णुता कोमामै पुग्छ । धैर्यता, योगदान केही देख्दैन, खाली म र मपाइत्वमात्रै । म वाद अर्थात मपाइत्व के हो ? मपाइत्वका फाइदा, बेफाइदाबारे विभिन्न सन्दर्भ सामग्रीको सहयोगमा केही उपयोगी कुराहरु प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
– नयाँ पुस्ताको स्वभावमा परिवर्तनः
वर्तमान पुस्ता प्रविधिमा अभ्यस्त, जानकारीमा तेज, र अभिव्यक्तिमा निडर छ । तर त्यही पुस्तामा देखा परिरहेको ‘लयमा नहिँड्ने, अरूको कुरा नसुन्ने’, र सुझावलाई अपमान ठान्ने प्रवृत्तिले गम्भीर सामाजिक संकट निम्त्याइरहेको छ । यी युवा आत्मविश्वासका नाममा, अनुशासन र धैर्यलाई कमजोरी ठान्न थालेका छन् ।
कोही पनि मान्छेमा न धैर्यता गर्ने क्षमता छ न त विषयवस्तुमा गहिरिने नै । यी दुवै क्षमता नभएपनि आफू अब्बल हुँ भन्ने भावना भने यति धेरै जागृत भएको पाइन्छ कि ! समाजको एउटा पुस्ता कसैको कुरा सुन्न र बुझ्नै चाहदैंन र आफ्नो कुरा छोड्नै सक्दैन । यसको मतलब मै जान्ने, मै ठूलो, मैले भनेको हुनैपर्छ, मैले जे गरें ठिक गरें, अरु सबै गलत हुन् भन्ने ‘म’ वाद अर्थात मपाईत्व मौलाएको छ । यस्तो म वादका अगाडि सही गलत जे सुकै होस् झुक्नैपर्ने, सम्बोधन गर्नैपर्ने अन्यथा चिन्ता लिएर गुज्रनुपर्ने बिडम्बनापूर्ण अवस्था छ ।
# के हो मपाइत्व ?
मपाइत्व भन्नाले कुनै व्यक्तिले कुनै वस्तु, सम्पत्ति, वा अधिकारमा स्वामित्व (अधिकार) राखेको अवस्था जनाउँछ । सरल रुपमा कानूनी भाषामा भन्ने हो भने, मपाइत्व भनेको आफ्नो हकअधिकार स्थापित गर्नु हो । मपाइत्वलाई कानूनी, व्यक्तिगत, सामाजिक, संस्थागत, संयुक्त धेरैतिरबाट परिभाषित गरिएको पाइन्छ ।
कानुनी रुपमा मपाइत्व प्रमाणित गर्नका लागि प्रायः कागजात आवश्यक पर्छ, जस्तैः
लालपुर्जा (जग्गा)
बिल/रसीद (सामान)
दर्ता प्रमाणपत्र (बौद्धिक सम्पत्ति)

मपाइत्व व्यक्तिगत वा संयुक्त पनि हुन्छ । एकल मपाइत्व, संयुक्त मपाइत्व (दुई वा सो भन्दा बढि व्यक्तिहरुको संयुक्त स्वामित्वमा रहेको जो सार्वजनिक सम्पत्ति) मा पनि हुनसक्छ । त्यस्तै निजी संस्था वा व्यक्तिको पनि स्वामित्वमा पनि मपाइत्व हुन सक्छ । यो कानूनी प्रक्रियामा आधार स्थापित गर्नका लागि ।
# ‘म नै सबैथोक हो, मैले गर्छु त्यो नै ठिक’ भन्ने दावी :
पहिलो मपाइत्वको कुरा कानूनी प्रक्रियाका लागि हो–जो आवश्यक छ । जसले ‘म’ को हक अधिकार सुरक्षित गरेको हुन्छ । यहाँ दोस्रो मपाइत्वको सन्दर्भबारे चर्चा गर्न खोजिएको छ । जो अहंकार, आत्मकेन्द्रित, आत्मरतिमा रमाएको छ । जसले निकै गहिरो सामाजिक यथार्थ बोकेको छ । यहाँ ‘मपाइत्व’ शब्द मौलिक अर्थमा स्वामित्व होइन, बरु म आफ्नै सबैथोक हुँ, म नै केन्द्र हुँ भन्ने प्रकारको अहंकार वा आत्मकेन्द्रित सोचको उपज हो । जसले म भन्दा अरु कोही पनि देख्दैन । खाली म मात्रै देख्छ । यो प्रकृतिको मपाइत्व स्व–केन्द्रित हुनेहुँदा अरुलाई उपेक्षा गर्ने प्रवृत्ति हो । जुन प्रवृत्तिले म र मेरो मात्रै देख्छ र सुन्छ । वास्तवमा अहिलेको समस्या नै यही हो भन्दा फरक पर्दैन । मपाइत्वका फाइदा र बेफाइदा दुवै अवश्य छन् नै । सर्सती हेर्दा मपाइत्वले मानिसमा उत्तरदायी, आत्मविश्वास बढाउनुका साथै लक्ष्यप्राप्तिमा एकाग्रता पनि कायम राख्छ । तर, त्यो भन्दा धेरै बेफाइदा छन् । जसले स्वयं व्यक्ति र व्यक्तित्वलाई पछाडि धकेल्छ । सामान्यतया मपाइत्व झल्किने अवस्था :–
# विकृत मपाइत्व ?
विकृत मपाइत्व भन्नाले : जहाँ व्यक्ति आफूलाई मात्र ठिक ठान्छ, आलोचना नसहने प्रवृत्ति हुन्छ, अरूको अनुभव, क्षमता, वा सुझावको अवमूल्यन गरिन्छ, सामूहिक उत्तरदायित्वलाई बेवास्ता गरिन्छ । यो स्वाभिमानको विकृत रूप हो—स्वघोषित महानता, जसको आधार न त ज्ञान हो, न त व्यवहार ।
# सम्भावना र समस्याबीचको द्वन्द्वः
युवापुस्तामा क्षमता, ऊर्जा, र सम्भावना प्रशस्तै छन् । तर जब यी योग्यताहरू अहंकारमा मिसिन्छन्, तबः
सामाजिक संवाद कमजोर बन्छ, सहकार्य र समावेशिता घट्छ, संघ–संस्थाहरू अस्थिर बन्छन्, र सामूहिक मूल्यहरूमा समस्या पैदा गर्छ । एक उदाहरणका लागि–अहिले सामाजिक सञ्जालहरूमा हेरे पुग्छ । जहाँ सामान्य कुरामा पनि अनावश्यक टिकाटिप्पणी, आलोचना,आक्रोश पोखिएका हुन्छन् । त्यतिमात्र होइन ब्लक गर्ने, तिरस्कार, नामै लिएर काउण्टर दिने जस्ता असहिष्णुताले समाजलाई विभाजित गरिरहेको छ ।
# विकृत मपाइत्वका दुष्परिणामहरू :
मपाइत्व बढी नै हावी भयो भने यसका नकारात्मक असरहरु पनि त्यत्तिकै छन् । जस्तो : नयाँ कुरा प्राप्त गर्न सक्दैन, नेतृत्व केवल नियन्त्रण हुन्छ, मार्गदर्शन होइन, आलोचना नसहने समाजले आत्मसुधार गर्न सक्दैन, छलफल र बहसलाई शत्रुता मानिन्छ, यसले लोकतान्त्रिक मूल्यहरू नै कमजोर बनाउँछ ।
# समाधानका उपायहरूः
सुनुवाइको संस्कार विकास गरिनुपर्छ — आफ्ना सीमाहरू स्वीकार गर्न सक्नुपर्छ , सामूहिकता र सहकार्यमा जोड दिनुपर्छ — ’हामी’ को संस्कृति बलियो पार्नुपर्छ, आलोचना र परामर्शलाई स्वागत योग्य बनाउनु पर्छ — किनभने त्यहीँबाट सुधारको मार्ग सुरु हुन्छ, वास्तविक मपाइत्व को अर्थ बुझ्नुपर्छ — मपाइत्व भनेको घमण्ड होइन, जिम्मेवारी हो ।
झट्ट सुन्दा मपाइत्व समाजका लागि सकारात्मक शब्द भएपनि जब यो आत्मकेन्द्रित, अहंकारी, र अकर्मण्य स्वभावमा रूपान्तरण हुन्छ, तब यो विकृति बन्छ । वर्तमानमा त्यही देखिएको हो । अहिलेको पुस्ताले ‘म मात्र हैन, हामी पनि हौँ’ भन्ने चेतको विकास नगरेसम्म, सिकाइ, सहकार्य, र समृद्धिको यात्रा अपूर्ण रहन्छ ।
यसकारण, आजको आवश्यकताको नाम हो—विकृत मपाइत्वबाट पुनः जिम्मेवार मपाइत्वमा फर्किनु । यसको सम्बन्ध सामाजिक मनोभाव, प्रविधि, र सांस्कृतिक रूपान्तरणसँग गहिरो रूपमा जोडिएको छ । यहाँ पछिल्लो समय देखिएको ‘विकृत मपाइत्व’ (अहंकारयुक्त ’म’ केन्द्रितता) का केही प्रमुख कारणहरू प्रस्तुत गरिएको छ ।
# सामाजिक सञ्जाल र डिजिटल प्रविधिको प्रभाव :
फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम जस्ता माध्यमले व्यक्तिलाई विश्वका सामु राख्न सक्ने स्थान दियो । यसले ‘हामी कस्तो देखिन्छौं’ भन्ने कुरामा बढी ध्यान जान थाल्यो । तर ‘हामी के हौं’ भन्ने आत्ममूल्याङ्कन घट्यो । हरेक व्यक्तिले आफूलाई सर्वेसर्वा सम्झन थाले, जसले आत्मप्रशंसा बढायो र आलोचना सहन सक्ने क्षमतामा ह्रास ल्यायो ।
# अभिभावक र शिक्षाको शैलीमा परिवर्तन :
अघिल्लो पुस्ताका अभिभावक र शिक्षकले अनुशासन र मूल्यमा जोड दिन्थे । पछिल्लो समय, ‘बच्चालाई स्वतन्त्र छोड्नुपर्छ’ भन्ने मान्यता स्थापित हुँदै जाँदा जिम्मेवारी र नैतिक संस्कार समेत हराउँदै गयो । फलतः, सहानुभूति, धैर्य, र समर्पण जस्ता सामाजिक मूल्यहरू समेत खस्किए ।
# सिकाइभन्दा प्रदर्शनमुखी प्रतिस्पर्धा :
आजको पुस्ता “कसरी राम्रो देखिने“ भन्ने दौडमा लागेका छन्, न कि “कसरी राम्रो बन्ने“ ।डिग्री, प्रमाणपत्र, वा स्किल भन्दा दृष्यात्मक सफलता (views, likes, followers) बढी महत्वपूर्ण मानिन्छ । यसले वास्तविक क्षमता र शैलीको विकास रोकिदिन्छ, तर “मपाइत्वको आत्मघोषणा“ बढाउँछ।
# अनिश्चित भविष्य र असुरक्षित समाज :
रोजगारीको अभाव, शिक्षा र जीवनबीचको असन्तुलन, र स्थायीत्वको कमीले मानिसहरूलाई “आत्मकेन्द्रित“ बचाउ रणनीति अपनाउन बाध्य बनायो। जब प्रणालीमा भरोसा हराउँछ, तब व्यक्तिले आफूलाई मात्र सत्य ठान्न थाल्छ।
# सांस्कृतिक मूल्यहरूको विचलन :
पहिलेको पुस्ता परिवार, समुदाय, संस्कार, परम्परा र सामूहिकताको भावनामा हुर्कन्थ्यो। अहिले धेरै हदसम्म त्यो “समूह–केन्द्रितता“ बाट “व्यक्ति–केन्द्रितता“ मा रूपान्तरण भएको छ। पश्चिमी प्रभाव, उपभोक्तावाद, र आत्मप्रचार संस्कृति यसमा प्रमुख भूमिका खेलिरहेका छन्।
# मपाइत्वका फाइदा :
मपाइत्व भएको व्यक्ति आफ्नो काम र व्यवहारप्रति जिम्मेवार हुन्छ, स्वाभिमान र आत्मबल बलियो बनाउँछ, मपाइत्वले व्यक्ति भित्र आत्म–गौरव र आत्मविश्वास जगाउँछ , सृजनशीलता र नेतृत्व क्षमता विकास गर्छ ।आदिइत्यादि ।
# बेफाइदा (नकारात्मक पक्षहरू):
अहंकार र आत्मकेन्द्रितता जन्माउँछ, अरूको मत, अनुभव वा सुझाव स्वीकार्न सक्दैन, सहकार्यमा बाधा पु¥याउँछ, आत्ममग्नताले ग्रसित हुँदा सुझावलाई पनि शत्रुताको रूपमा देख्दछ, बिना आधारको आत्मविश्वास बढ्छ्, सामाजिक विभाजन सिर्जना गर्छ, नेतृत्वमा अधिनायकवाद प्रवृत्ति बढ्छ ।
कारक विषादीयुक्त खाना पनि मपाइत्व व्यक्तिको आफ्नै स्वभाव हो । नितान्त व्यक्तिगत स्वभावबाट विकास भएको मपाइत्व र वंशाणुगत रुपमा आउने, बाल्यावस्था तथा खानेकुरा आदिका कारण पनि व्यक्तिमा मपाइत्व हावी हुने गरेको पाइन्छ । खानपानका कारण मस्तिष्कको विकास र व्यवहारमा प्रभाव पर्नेहुँदा व्यक्ति वा समाजमा देखिएको विकृत मपाइत्व हावी हुने कारक विषादीयुक्त खानालाई पनि अहंकार, र आत्मकेन्द्रित प्रवृत्तिको एक अप्रत्यक्ष तर गहिरो कारण मान्न सकिन्छ ।
# मस्तिष्कको विकास र व्यवहारमा असर :
दैनिक भान्सामा प्रयोग गरिने खाद्यसामग्रीमा उत्पादनमा हुने विषादीको प्रयोग, मसलाजन्य पदार्थमा हुने मिसावट, गुणस्तरहिन सामग्री, घर बाहिरको खाइने खानेकुरामा शुद्धता कायम नहुँदा त्यसको शुष्म प्रतिकुल असरमस्तिष्कको स्नायु प्रणाली (nervous system) मा पार्न सक्छन् । यस्तो खानाले धैर्य, ध्यान, विवेक, निर्णय क्षमता र भावनात्मक सन्तुलनमा गिरावट ल्याउन सक्छ ।
# बाल्यकालमा मस्तिष्कको विकास अवरुद्धः
विषादीयुक्त खाना लगातार सेवन गर्दा बालबालिकाको EQ -Emotional Quotient_ / Self–Regulation क्षमतामा ह्रास आउँछ । त्यसैले किशोर र युवा अवस्था पुग्दा उनीहरूमा अकस्मात रिस उठ्ने, प्रतिक्रिया जनाउने, वा घमण्ड देखाउने प्रवृत्ति देखिन सक्छ ।
# हार्मोनल असन्तुलनः
धेरै रसायन (जस्तै BPA, synthetic hormones) ले शरीरमा हार्मोन सन्तुलनमा असर गर्छ, जसले मूड स्विङ, चिडचिडाहट, अनावश्यक आत्मविश्वास वा आत्महीनता निम्त्याउँछ ।
# शारीरिकभन्दा मानसिक स्वास्थ्यमा असर बढीः
आजकाल धेरैजसो मानसिक समस्याहरू (anxiety, depression, impulsive behavior) को जड जीवनशैली र खानपान मा भेटिन्छ । आत्मकेन्द्रितता, सहिष्णुता अभाव, अति–प्रतिस्पर्धात्मक व्यवहारमा विषादीयुक्त खानाको अप्रत्यक्ष भूमिका हुन सक्छ।
# वैज्ञानिक प्रमाणहरूः
विभिन्न अध्ययनहरूले देखाएका छन् कि कीटनाशकयुक्त खानाले न्यूरो–टक्सिक असर पु¥याउन सक्छ। WHO, FAO, / UNESCO लगायत संस्थाहरूले Silent Harm को रूपमा विषादीको दीर्घकालीन प्रभावबारे चेतावनी दिएका छन्।
झण्डै दुई दशक अघिसम्म प्रविधिको प्रभाव सीमित थियो । त्यो बेलासम्म हाम्रा सामाजिक संरचना बलियो थिए– त्यतिबेलाको शिक्षाले मानवता सिकाउँथ्यो, समाजले सहकार्य, धैर्यता, इमान्दारिता र जिम्मेवारीलाई मूल्य दिन्थ्यो । आज ती संरचनाहरू कमजोर हुँदै गएका छन्, जसको परिणामस्वरूप ‘म केन्द्रित मपाइत्व’ हावी भएको छ । सामाजिक व्यवहार केवल प्रविधि र संस्कारले होइन, स्वस्थ–अस्वस्थ शरीर र मस्तिष्कले पनि निर्धारण गर्छ । अहिले समाज सेवाका नाममा हुने सामाजिक काममा पनि कुनै न कुनै स्वार्थको भाव लुकेको देखिन्छ । यसको मतलव सामाजिक व्यवहारभित्र पनि मपाइत्वले प्रश्रय पाएको छ । यद्यपि अन्त्यमा यो भन्न सकिन्छ की मपाइत्वले व्यक्तिमा आत्मबल बढाएपनि संगसंगै अहंकार, अभिमान समेत बढाउने हुँदा सामुहिक भावना भने कमजोर देखिन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारबढ्दो मपाइत्व : घट्दो सहिष्णुता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img