काठमाडौं २४ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न बाढी प्रभावित क्षेत्र पुग्नु भएको छ ।
प्रधानमन्त्री ओली संगै उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल रहेका छन् ।
यसैगरी नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभिागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्रमा गएका छन् ।
जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ ।
विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिनुभयो ।
‘त्यति ठूलो बाढी नै जाने गरी दुवैतर्फ ठूलो वर्षा भएकै छैन । न्यून चापीय रेखा पनि सरदर आसपासमा नै रहेको बताइएको छ। विश्व मौसम सङ्गठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास फ्लड गाइडेन्स प्रणाली) को स्याटेलाइट(आधारित वर्षा अनुमानअनुसार पनि भोटेकोसी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन ।
विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन या नेपालको क्षेत्रमा पर्ने कुनै पनि हिमताल एक्कासि फुटेर बाढी गएको हुन सक्ने आशङ्का गर्नुभएको छ । ‘ठूलो वर्षा नहुँदा पनि बाढी जानु भनेको हिमताल कतै नफुटेको बताइएको छ । बाढीबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज बिहान ३ बजे आसपास भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको देखिएको जनाएको छ ।
विभागले रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्याङ्क अनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासी लगभग ३।५ मिटर बढेको देखिएको जनाएको छ । महाशाखाका बाढीविद् पराजुलीले रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल विभागको रसुवास्थित स्याफ्रुबेँसी स्वचालित जलमापन केन्द्रमा बिहान ३ः३० बजे एक्कासि बहाव बढेको देखिएको बताउनु भयो । उक्त केन्द्रमा बिहान ३ः३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासि ३ः४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको देखिन्छ । उक्त केन्द्रका गेजरिडरसँग बिहान ६ बजे आसपास सम्पर्क कायम भएको र निजका अनुसार केन्द्र बगाएको जानकारी प्राप्त भएको बताइएछ ।
रसुवागढी नाकाबाट करिब ४१ किलोमिटर तल यस विभागको नुवाकोटस्थित त्रिशूली वेत्रावती स्वचालित जलमापन केन्द्रमा आज बिहान ५ः०० बजे उक्त बहाव पुगेको प्रतिवेदनमा उल्लेख छ ।
बाढी प्रभावित क्षेत्रको अवलोकनमा प्रधानमन्त्री ओली

































































































