हल्दिबारी १५ असार । आज असार १५ । १८ औं राष्ट्रिय धान दिवस । परम्परा अनुसार आजको दिन हिलोमा रोपाईं गरेर दही चिउरा खाने चलनलाई देशभरका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरि परम्परालाई निरन्तरता दिइएको छ । असार १५ मा आफ्नै खेतवारीमा धान रोपाईं गर्ने र दही चिउरा खानेहरुदेखि सामुहिक रुपमा भेला भएर उत्सवका रुपमा मनाएका झलकहरु यत्रतत्र सार्वजनिक भएका छन् । किसानको काम भनेर चिनिएको धान रोपाई दिवसलाई अझ विशेष बनाइदियो नेताहरुको उपस्थितिले ।
किसान महासंघले हल्दिवारीमा आयोजना गरेको रोपाई महोत्सवमा राष्ट्रिय सभाका सदस्य नेपाली कांग्रेसका नेता पूर्व उपप्रधान तथा गृह मन्त्री कृष्णप्रसाद सिटौलाले धान रोपाईको उद्घाटनमात्र गरेनन् , हलीदेखि राेपाहार सम्मकाे भूमिकामा शसक्त उपस्थिति देखाए । डेढ-दुईघण्टासम्म हिलोमै रमाई रहे । धानको बेर्ना रोपेर महोत्सवको उद्घाटन गरेका सिटौलाले धान रोप्नु अघि ठाउँ बनाउनका लागि राँगाको सहायतामा पटाहा लगाए । आफ्ना नेतालाई अप्ठ्यारो हुने हो कि भन्दै संगसंगै झुम्मिएका कार्यकर्तालाई चकित पार्दै सिटौलाले पटाहामा चढे, राँगा, डोरी र लौरो आफैंले नियन्त्रणमा लिए । अनि सबैलाई रमिता हुने गरी धान रोप्नका लागि बनाइएको हिलो माटो सम्याए । सिटौलाले कुनै अप्ठ्यारो, असजिलो जस्तो नदेखाइ सरासर पटाहा लगाएको देखेर चकित परेका कार्यकर्ता सिटौलालाई पटाहा छोड्न आग्रह नै गरे । अनि रोपाहारसंगै हिलोमा छुपुछुपु धान रोपे । हिलो खेले र अरुलाई प्रोत्साहित गरिरहे । उत्सवमै भएपनि सिटौलाले हिलोमा काम गरेको देखेका स्थानीयले छक्क पर्दै भने खेती त गरेकै रछन् । सिटौलासंगै नेपाली कांग्रेस जिल्ला सचिव नविन विमली र व्यवसायी प्रशान्त भण्डारीले पनि हलीबाट गोरु र राँगा नियन्त्रणमा लिएर धान रोप्ने ठाउँ बनाए । यो दृष्यले हल्दिबारी ४ च्याङग्राबन्दामा पहिलो पटक रोपाईको रमाइलो गर्ने अवसर जुटेको स्थानीय बताउँछन् ।
त्यतिमात्र होइन् असारे भाका र नौमतीको धुनमा कार्यकर्तासंगै हिलोमा नाचेका सिटौलालाई देखेर कार्यकर्ताहरु अझ हौसिएको स्पष्ट देखिन्थ्यो । नचाउने मात्र गरेनन् च्याब्रुङ नाचमा पनि उत्तिकै रमाए । च्याब्रुङ नाचमा सिटौला सरिक भएसंगै रोपाहार र बाउसेहरुले पनि नेतासंगै नाच्ने र रमाइलो गर्ने अवसरलाई छुटाएनन् ।
च्याङग्रा बन्दाको बेठी कहिले नदेख्नेका लागि प्रत्यक्ष अनुभव गर्ने अवसर समेत बनेको थियो । सुनेको थे, देखेको थिइन् मोवायलमा देखेको मात्रै हो त्यसैले कस्तो हुन्छ भनेर हेर्न आएको हल्दिबारी ४ बडाबारीका स्थानीय नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति रेम खरेलले भने, ‘बेठी भनेको सुनेको थे, आज प्रत्यक्ष हेर्न पाइन्छ भने आएको ।’
उत्सव मनाउनका लागि कांग्रेस जिल्ला सभापति, उपसभापति, सचिव, कोषाध्यक्षसहित जिल्ला, प्रदेश र केन्द्रीयस्तर तहका नेता कार्यकर्ताहरुको उपस्थिति उल्लेख्य रहेको थियो ।
राष्ट्रिय दिवसका दिन हिलोमा पस्नु अघि कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा संसदीय दलका नेता समेत रहेका सिटौलाले किसान र श्रमिकको जीवनस्तर नउकासिएसम्म देशमा समृद्धि सम्भव नभएको बताएका छन्। संविधानमा किसानका हक–हित स्पष्ट रूपमा उल्लेख भए पनि व्यवहारमा उनीहरू उपेक्षित रहेको उल्लेख गरे। “राज्यले बीउ, मल र उत्पादनको मूल्य सुनिश्चित गर्नुपर्छ। किसानका नाममा छुट्याइएको अनुदान वास्तविक किसानसम्म पुग्न जरुरी छ,” सिटौलाले भने, “देश बनाउने हो भने माटोमा पसिना बगाउने किसानको पीडा बुझ्नुपर्छ।”
नेता सिटौलाले आगामी आर्थिक वर्षको बजेटमा किसानका मुद्दाहरू समेट्न पहल भइरहेको जानकारी पनि दिए। उनले स्थानीय तथा प्रदेश सरकारलाई किसानमैत्री नीति ल्याउन आग्रह गरे।
कार्यक्रममा नेपाल किसान महासङ्घ झापाका अध्यक्ष रतन सुब्बाले किसानहरू अझै पनि मलको अभाव, उचित मूल्य नपाउने समस्या, र चैते धान बिक्रीमा समस्या झेल्न बाध्य भएको उल्लेख गर्दै किसानसंग सम्बन्धित समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्दै नेता सिटौलालाई ज्ञापनपत्र समेत बुझाएका थिए।
नेपाली कांग्रेस हल्दीबारी गाउँ समिति अध्यक्ष गंगाप्रसाद प्रसाईले स्वागत अभिनन्दन गरेको कार्यक्रममा कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री भूमिप्रसाद राजवंशी, प्रदेश सांसदहरु लख्खी गणेश, मोहन महर्जन लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । हल्दिबारी ४ का होम चुडालको २ विगाहा जमिनमा बेठी लगाइएको थियो ।
कृषिमा यान्त्रिकरण बढेपनि किसान संघले भने मौलिक परम्परा अनुसार नै धान दिवसमा बेठी आयोजना गरेको थियो ।

































































































