बिर्तामोड १४ जेठ । रोटरी क्लब अफ बिर्तामोडको आयोजनमा बिर्ताबजारस्थित दुर्गा मन्दिरमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले उद्घाटन गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीको विशेष आतिथ्यता रहेको थियो ।
प्रत्येक वर्ष मे २८ का दिन स्थापना दिवस मनाउने रोटेरियनहरुले बिर्तामोडमा यो वर्षको स्थापना दिवस पूर्व अध्यक्ष विनोद बस्नेतको स्मृतिमा रक्तदान तथा बृक्षारोपण गरेर मनाएका छन् । ५२ वर्षको उमेरमा आकस्मिक निधन भएका बस्नेतको स्मृतिमा गरिएको रक्तदान कार्यक्रममा ५२ जनाले नै रक्तदान गरेका गरेको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष अग्रवालले जानकारी दिए ।
रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेस अग्रवाल (भद्रपुरे) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शैलेन्द्र कुरुङवाङले गरेका थिए भने स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश अध्यक्ष अग्रवालले पारेका थिए ।
रोटट्रयाक क्लब अफ बिर्तामोड लगायत विभिन्न संघ संस्थाको समन्वय तथा दुर्गा मन्दिर व्यवस्थापन समिति बिर्ताबजारको सहकार्यमा सञ्चालित रक्तदान कार्यक्रमको संयोजन सजेस शिवाकोटीले गरेका थिए ।
यसअघि बस्नेतकै स्मृतिमा बिर्तामोड ३ स्थित विराट भरत विश्रान्ति परिषरमा विभिन्न जातका फलफूलका विरुवा रोपण गरिएको अध्यक्ष अग्रवालले बताए । सो क्रममा रोटरी क्लब अफ बिर्तामोडका पदाधिकारी तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । धन्यवाद ज्ञापन दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव माझीले गरेका थिए ।
पूर्व अध्यक्षको स्मृतिमा रोटेरियनहरुद्वारा रक्तदान र बृक्षारोपण

































































































