बिर्तामोड २८ वैशाख । बिर्तामोड नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा बिर्तामोडमा सञ्चालित दुईदिने पत्रकारितामा नयाँ प्रविधि विषयक तालिम आइतबार सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका–२ स्थित सहारा बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय भवनमा शनिबार र आइतबार सम्पन्न तालिममा ३० बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो।
समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रविधिको तीव्र विकासले पत्रकारिताको ढाँचामा व्यापक परिवर्तन ल्याइरहेको उल्लेख गर्दै सञ्चारकर्मीहरू एआइ लगायतका नयाँ प्रविधिप्रति सचेत र अपडेट हुन आवश्यक रहेको बताउनुभयो ।
तालिममा आमसञ्चार विज्ञ भानुभक्त आचार्य र उमाकान्त खनालले सहजीकरण गर्नुभएको थियो । एआईका विज्ञ सहजकर्ता आचार्यले एआइ प्रविधिको मूल स्वरूप, पत्रकारितामा यसको प्रयोग, सम्भावित चुनौतीहरू र उत्तरदायित्वका बारेमा सहजीकरण गर्नुभएको थियो ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमले तालिमले पत्रकारितामा आबद्ध महिलाहरूसहित सबै सञ्चारकर्मीहरूलाई प्रविधिसँग अपडेट गराउने उद्देश्य राखेको बताउनुभयो। “नयाँ प्रविधिको प्रयोग र प्रभाव बुझ्न सक्ने क्षमतासहितका सञ्चारकर्मी उत्पादन गर्नु हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।
तालिम बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले एआइ प्रविधिको प्रभाव र प्रयोगबारे बुझ्ने अवसर पाएको जनाउँदै आगामी दिनमा यस्ता तालिम निरन्तर हुनुपर्ने मागसमेत गरेका छन्।
यसअघि शनिवार तालिमको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले सत्य तथ्यको आधारमा सूचना प्रवाहमा जोड दिँदै नयाँ प्रविधिलाई सञ्चारकर्मीले आत्मसात गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले पत्रकारको सीप तथा क्षमता विकासमा नारी सञ्चार गृहले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । हरेक संघसंस्था सञ्चालनका लागि स्थिर पूँजी (अक्षयकोष) हुनुपर्नेमा जोड दिंदै उहाँले नारी सञ्चार गृहको अक्षय कोषलाई एक लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
सो अवसरमा अक्षयकोषमा सहयोग गर्ने सहारा नेपाल र पत्रकार सुनिरा मैनालीलाई सम्मान गरिएको छ । सहरा नेपालमा आवद्ध कर्मचारी युनियनले सञ्चार गृहको कोषमा सहयोग गरेको थियो ।
पत्रकारितामा नयाँ प्रविधि सम्बन्धी तालिम सम्पन्न

































































































