बिर्तामोड २५ बैशाख । कलेज प्रशासनले दिएको मानसिक दबाबका कारण बिर्तामोड ५ की प्राप्ती प्रसाईको मृत्युको कारण भएको प्रसाई ट्रष्ट कल्याण कोषले आरोप लगाएको छ ।
चितवनस्थित सि.एम.सी कलेजमा विडिएचमा अध्ययनरत प्राप्ती प्रसाईलाई कलेजले निरन्तर मानसिक पीडा दिनुका साथै सात दिनका लागि निलम्बन समेत गरेको थियो ।
निलम्बनपछि बिर्तामोड आएकी २१ वर्षीय प्राप्तिले यही बैशाख ७ गते स्वेच्छिक मृत्यु (आत्महत्या) को बाटो रोजेकी थिइन् ।
सोही पीडाका कारण बैशाख ७ गते प्राप्तिले आत्महत्या गरेको प्रसाई ट्रष्ट कल्याण कोषका केन्द्रिय अध्यक्ष टिकाप्रसाद प्रसाईले प्रेस विज्ञप्ति जारी गर्दै आरोप लगाएका छन् । बुधबार प्रसाई ट्रष्ट कल्याण कोषले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘यस्तो दुःखद् जानरीकाबाट प्रसाई ट्रष्ट कल्याण कोषका सम्पूर्ण सदस्य परिवार मर्माहित र दुखित भएका छौं । उक्त दुःखद् घटनाका सम्बन्धमा हाम्रो सिंगो प्रसाई परिवारको ध्यान आकर्षण भएको छ । उक्त घटनाले आम विद्यार्थीको आात्मसम्मानमा चोट पुग्नुका साथै कलेज प्रशासन माथि समेत गम्भिर प्रश्न उठाएको छ ।’
बिर्तामोड–५ निवासी पदमप्रसाद प्रसाईकी छोरी प्राप्तीको निधनले सिंगो प्रसाई परिवार मर्माहत भएको प्रसाई ट्रष्ट कल्याण कोषका अध्यक्ष टिकाप्रसादले बताए । उनले कानूनका जानकारहरुसँगको परामर्श पछि कलेजबिरुद्ध प्रहरी समक्ष आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गरिने बताए । प्रसाई ट्रष्ट कल्याण कोषले उक्त घटनाका सम्बन्धमा निष्पक्ष छानविन गरी दोषी भए कलेज प्रशासन तथा संलग्न ब्यक्ति माथि कडाभन्दा कडा कारबाहीको माग समेत गरेको छ । साथै ट्रष्टले यस्तो घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
पारिवारिक स्रोतका अनुसार यसअघि पनि मानसिक यातना दिने गरेको बताइएको छ ।
प्रसाई कल्याण कोषको आरोप: कलेज प्रशासनको यातनाका कारण प्राप्ती मृत्यु

































































































