लखनपुर । झापाको कमल गाउँपालिका वडा नं–५ मा सञ्चालित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले लैंगिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियान अन्तर्गत संस्थाका महिला सेयर सदस्य तथा स्थानीय महिला र बालबालिकालाई हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थाको महिला उपसमितिले शनिबार स्थानीय मंगलमय माविको सभाकक्षमा आयोजना गरेको सो कार्यक्रमकी प्रमुख अतिथी गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले सहकारीका माध्यमबाट महिलालाई आर्थिक रुपमा सवल बनाउन सकेमात्रै समाजमा महिलाले भोग्नुुपरेका हिंसाका घट्नामा कमी आउन सक्ने धारणा राख्नु भयो । महिलाहरु अझै पनि हिंसाको शिकार हुनु दुःखद रहेको उल्लेख गर्दै समृद्ध देश निर्माणका लागि हिंसामुक्त समाज अनिवार्य भएको भएको काफ्लेको भनाई थियो ।

संस्थाकी महिला उपसमिति संयोजक उषा भण्डारीले महिलाहरुको नेतृत्व स्थापित नहुञ्जेल समाजमा कुनै न कुनै रुपबाट महिलाहरु हिंसा सहन बाध्य हुने बताउनु भयो । सक्षम र सवल महिला नेतृत्व अधिकांश क्षेत्रमा आवश्यक भएकोमा उहाँले जोड दिनु भयो । सो अवसरमा अधिवक्ता देवेन्द्र भण्डारीले सहभागी महिला सदस्यहरुलाई महिला हिंसाका प्रकृति, न्यूनिकरण र विद्यमान कानुनी व्यवस्था लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा कमल गाउँकार्यपालिका सदस्य गीता गजुरेल, चन्द्रदर्शन साकोसका अध्यक्ष बालकृष्ण गौतम, कोषाध्यक्ष रोशन दाहाल, अगुवा महिलाहरु गौरा चापागाइँ, चन्द्रकला भण्डारी, शान्ता उप्रेती लगायतको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा सहकारीका महिला सदस्यहरु , स्थानीय किर्तन मण्डली, विद्यालयका छात्राहरु लगायत ३ सय जना बढी सहभागी भएका चन्द्रदर्शन साकोसका व्यवस्थापक राजु थापाले जानकारी दिनु भयो ।

































































































