रेजिना गौतम
सिमलवाढी झापा । आफ्नो उमेर कति भन्ने थाहा छैन उनलाई । कति वर्षको हुनुभयो हाम्रो जिज्ञासामा अन्दाज लगाउँदै भनिन्–‘खै २५/३० वर्ष भयो होला ।’ शारीरिक रूपमा अत्यन्तै कमजोर देखिने उनका काखमा अहिले छैटौं सन्तान छन् । छैटौं सन्तानका रूपमा छ महिनाकी छोरी हुर्काइरहेकी उनलाई अझै कति बच्चा जन्माउनु पर्ने हो ? थाहा छैन । अनि बच्चा जन्माउँदा–जन्माउँदै अझै कति कमजोर भइने हो त्यो झन् थाहा हुने कुरै भएन ? उनी हुन् झापा गाउँपालिका–३ सिमलवाढीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी जहरून नेसा ।
नेसाकी जेठी छोरी रूप्सन १४ वर्षकी भइन् भने काखमा छ महिनाकी छोरी खेलिरहेकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण स्कूल पढ्ने उमेरका छोराछोरीहरू स्कूल जान पाएका छैनन् । तैपनि सन्तान जन्माउन रोक्ने सम्बन्धमा केही गर्न सक्ने अवस्थामा उनी छैनन् । धेरै सन्तान जन्माउनु हुन्न भन्ने थाहा पाउनु भएको छैन भन्ने हाम्रो अर्को प्रश्नमा नेसाले भनिन्– ‘थाहा छ तर पाप लाग्छ ।’
पातलो शरीर, मलिन अनुहार, शारीरिक रुपमा कमजोर देखिने उनलाई हामीले सोध्यौं–‘कमजोर भएको अनुभव हुन्छकी हुँदैन’ छोटो जवाफ दिंदै भनिन्– ‘कमजोर भएको छु भन्ने लाग्छ, तर के गर्नु ?’ सासु, नन्द र छोराछोरीसहित समूहमा बसेकी नेसा नेपाली भाषा बुझेपनि सहज कुरा गर्न अप्ठ्यारो मानिन् र सोधेको कुरा डराएझैं गरी छोटोमा जवाफ दिइन् ।

आफू पढ्न नजाने पनि धर्मग्रन्थले बच्चा जन्माउन रोकेमा पाप लाग्छ भन्ने सुनेको उनले बताइन्–‘पढ्न त आउँदैन तर कुरान सुन्दा सबै भन्दा ठूलो पाप लाग्छ रे ।’
भाई–बहिनी हेर्नुपर्ने भएपछि, नजिकैको मस्जिदमा पढ्दै गरेकी रुप्सन अहिले घरमै समय विताइरहेकी छन् । भाईबहिनी नहेरे विहान बेलुका हातमुख जोड्न कठिन भएपछि नातिनीलाई स्कूल जान रोक्नु परेको रुप्सनकी हजुरआमा (जहरुनकी सासू) ले बताइन् । काम नगरी के खानु के खुवाउनु अनि भाईबहिनी नहेरे ठूलोले काममा कसरी जानु ? खान छैन पढेर के गर्छ, काम गर्छ खान्छ नी–रुप्सनकी हजुरआमाले थपिन् । आफ्नो नाम नबताएकी रुप्सनकी हजुरआमाले आफूले पनि आठ जना जन्माएका बताइन् । छोराछोरीले के काम गर्दैछन् । पाँच जना यतैउँदी छन्, तीनटा कता के गर्दैछन् था छैन ।’ नेसा उनकी जेठी बुहारी हुन् ।
१४ वर्षकी रुप्सनले पनि पढ्न मन लाग्दा लाग्दै छोड्नु पर्दा दुख लागेको बताइन । गरिबी र मस्जिदकाका कारण छोरीले पढ्न नपाएको बताउँदै नेसाले भनिन््–‘मस्जिदबाट अन्त पढ्न जाँदा गुरु र समाजले दिंदैन, भाईबैनी पनि हेर्नुपर्यो ।’
करोडौं खर्च गर्दा पनि कसैको एउटा बच्चा नभएको तर्क गर्दै नेसाका ससुरा महमद हारुन अन्सारीले भने–‘सुखी संसार सबैलाई चाहिन्छ, हामीलाई पनि चाहिन्छ, एउटा बच्चा पाउन कसैले करोडौं खर्च गर्दा पनि पाएको छैन, हामी जन्मेकोलाई कसरी मार्नु ।’ बच्चा जन्माउन रोक्नुलाई धार्मिक ग्रन्थ कुरानले ठूलो पाप भनेका कारण रोक्न नसकिने बताउँदै अन्सारी भन्छन्–‘मरेर जाँदा ठूलो पाप लाग्छ, जन्मिन्छ, जन्मेपछि कता जान्छ केही गर्छ खाइहाल्छ नी ।’
जन्मान्तर राख्ने तथा निश्चित सन्तान जन्माउनका लागि आफ्नो धर्मग्रन्थ संशोधन गर्नुपर्ने धारणा राखेका अन्सारीले भने–सबैभन्दा ठूलो धार्मिक ग्रन्थ कुरान अनुसार नै चल्नुपर्छ, यो हाम्रो बाध्यता हो ।’ सहज रुपमा कुराकानी गरेका अन्सारीले सामुहिक तस्विर लिन भने अस्विकार गरे । ‘घरको फोटो खिचेर लानु, तर पुरै परिवारको हुँदैन, हामी गरिबलाई फेरी कसले आएर के दुःख दिन्छ ।



















