बिर्तामोड असार । वर्षात नजिकिंदै जाँदा तराईमा बाढीबाट बच्ने वा पानीको सतह कुन तहसम्म पुगेपछि खतरा हुन्छ भन्ने सूचनाका रुपमा झापामा विजुलीका पोलहरुमा संकेत गरिएको छ ।
झापा गाउँपालिका वडा नं.–७ स्थित कनकाई नदी तटिय क्षेत्रका विजुलीका पोलमा बर्षातमा जल सतह हेरेर सतर्कता अपनाउने किसिमका संकेत राखिएको छ ।
नदी तटिय क्षेत्रका विजुलीका पोलहरुमा गरिएको संकेत अनुसार पानीले कुन तह पार गर्दा के गर्ने भन्ने जानकारीका लागि संकेत गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।
उनका अनुसार जिल्लाका बाढी प्रभावित नदि तटिय धेरै क्षेत्रका पोलहरुमा यस प्रकारका संकेत राखिएका छन् । जुन पोलमा पानीको सतह हेरेर बाढीबाट बच्न सतर्कता अपनाउ छन् ।
तटिय क्षेत्र क्षेत्रसहित झापाको चन्द्रगढी, कचनकवल, सहितका क्षेत्रमा बाढी पूर्वसूचना प्रणाली अन्तरगत साइरन सिष्टम जडान गरिएको छ ।
विजुलीका पोलमा सबैभन्दा तल निलो अर्थात सेतो रङ्गले रंगाइएको छ भने दोस्रो स्टेपमा पहिलो र तेस्रोमा रातो रंगले संकेत गरिएको छ ।
डुवान क्षेत्रमा रहेका बासिन्दाहरु विजुलीको पोलमा गरिएको संकेत अनुसार पानीको सतह सेतोमा हुँदासम्म सामान्य, पहेलोमा पुगेपछि घर छोड्नका लागि तयारी अवस्थामा रहनुपर्ने तथा रातोमा पुग्दा घर छोडेर हिड्नुपर्ने भन्ने बुझिन्छ ।
कोशी प्रदेशका १४ जिल्ला मध्ये यस वर्षको बाढीबाट सबैभन्दा बढी ४ जिल्ला प्रभावित हुने मनसुन पूर्वानुमान छ । बढी जोखिममा पर्ने पूर्वानुमान गरिएका जिल्ला मध्ये झापा, मोरङ, सुनसरी र उदयपुर रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए ।
२०८१ मा हुने बर्षातको बाढीबाट झापामा मात्रै ४९ हजार २ सय ३२ मानिस प्रभावित हुने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशमा ४ लाख ९६ हजार ३४९ मानिस प्रभावित हुने देखिएको छ ।
जसमा सबैभन्दा बढी सुनसरीमा मात्रै ३ लाख ६१ हजार ७ सय १८ जना मानिस प्रभावित हुने आंकलन गरिएको छ ।
दोस्रोमा रहेको झापामा ४९ हजार २ सय ३२ जना मोरङमा २६ हजार ९ सय ५४ जना र उदयपुरमा १६ हजार ८ सय ९९ सय जना बाढीको जोखिममा पर्ने अनुमान गरिएको छ ।
त्यसैगरी कोशीका १४ जिल्ला मध्ये बाँकी १० जिल्लामा पहिरोको जोखिम रहेको छ ।
पहिरोबाट हुन सक्ने जोखिम पूर्वानुमान अनुसार १० जिल्ला ४१ हजार ५ सय ४७ जना प्रभावित हुने मनसुन पूर्वानुमान गरिएको छ ।
यी मध्ये संखुवासभामा पहिरोबाट ७ हजार ६ सय २६ जना प्रभावित हुने देखिएको छ भने सबैभन्दा कम ताप्लेजुङमा १ हजार एकसय २९ जना प्रभावित हुने पूर्वानुमान तथ्याङ्कमा उल्लेख छ ।
बाढी पहिरोबाट प्रभावित हुन सक्ने लगभग २२ हजार घरपरिवार देखिंदा ५ हजार परिवारलाई भने राहत वितरण गर्नुपने अवस्था आउने आंकलन गरिएको छ ।
बिजुलीको पोलमा बाढीको जल सतहबारे सूचना



















