काँकडभिट्टा १९ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाममा कांग्रेसले चुनावमा हार बेहोरेपनि सम्मानजनक मत ल्याएको बताएका छन् । इलामको भूगोल विशेष रहेको र सोही अनुरुप नै रणनीति नबनाउँदा चुनावमा पार्टीलाई हारबाट जोगाउन नसकेको स्पष्ट पारे ।
१३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मेचीनगर नगर समितिद्वारा आयोजित ज्येष्ठ नागरिक तथा श्रमिक सम्मान कार्यक्रमलाई बुधबार गृहनगर धुलाबारीमा सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसले चुनाव हारेको हो, नयाँ हौं, चुनाव जित्छौं भनेर हल्ला गर्नेहरुको जमानत नै जफत भयो ।’
कांग्रेसले विगतको आफ्नो मत संरक्षण गर्न नसकेको स्वीकार गरेका महामन्त्री शर्माले एमालेले इलाममा चुनाव जितेपनि आफ्नो मत संरक्षण गर्न चुकेको बताए । कार्यक्रममा बोल्दै शर्माले कुनै पार्टीको नाम नलिई चुनाव जित्छौं भनेर हल्ला गर्ने नयाँहरुको जमानत नै जफत भएको बताए । उनको यो भनाई रास्वपाप्रति लक्षित थियो ।
नेता, कार्यकर्तालाई ढाडस दिँदै महामन्त्री शर्माले भने, ‘चुनाव हो, हारजीत हुन्छ, एकपटक चुनाव हार्दैमा निरास हुनुपर्ने कारण छैन, पार्टीलाई रुपान्तरण गर्ने नै हो, कांग्रेसलाई जिताउने नै हो।’ उनले त्यही केटी चाहिन्छ … भन्ने गीतको हरफ उल्लेख गर्दै सहकारीको करोडौँ ठगी गर्ने र मलाई त्यही गृहमन्त्रालय चाहिन्छ भन्नेहरुको इलाममा हालत भएको बताए ।
‘हामी काम गर्छौँ, गरिरहेका छौँ तर सबै ठिकठाक हुन समय लाग्छ’ उनले भने, ‘प्रदेश १ को नामाकरणमा कमजोरी भएकै हो, पहिचान झल्कने गरी नामाकरण हुनुपर्थ्यो ।’ आफूले पार्टी प्रवक्ता हुँदा नै सार्वजनिक रूपमा सो कुरा उठाएको र त्यो पार्टीको आधिकारिक धारणा भएको शर्माले स्प्रष्ट पारे ।
‘ुकांग्रेस एउटा जातिको मात्रै होइन, भिन्न भिन्न जाति, समुदाय र सबैको साझा पार्टी हो’ महामन्त्री शर्माले भने, ‘इतिहासले पुष्टि गरेको तथ्य हो कांग्रेस टाउको कटाउन तयार छु, झुकाउन चाहान्न भन्नेको पार्टी हो ।’ जिबी याक्थुम्बा, नारदमुनी थुलुङ, राधाकृष्ण थारु, डिबी परियार, रामनारायण मिश्र लगायत ५० औँ नेताको नाम लिँदै कांग्रेस जाति र समुदाय विशेषको पार्टी नभएको जिकिर गरे ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य भरत सुब्बा, कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, महासमिति सदस्यद्वय प्रेम सम्बाहाम्फे, तारावीर कटुवाल लगायतले आ आफ्नो धारणा राखेको कार्यक्रममा मजदुर र ज्येष्ठ नागरिकसहित १७ जनालाई महामन्त्री शर्माले सम्मान गरे ।
महामन्त्री शर्माले यतिबेला इलामको चुनावपछि आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा समय दिइरहेका छन् । शर्माले आज नै बाहुनडाँगी खानेपानीको साधारणसभालाई सम्बोधन गरे । आजै कांग्रेस जिल्ला पार्टी कार्यालय बिर्तामोडमा ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममासमेत सहभागी हुनुभएको छ ।
‘कांग्रेस एमालेले मतको संरक्षण गर्न नसकेको चुनावमा जित्छौं भन्नेको जमानत नै जफत’

































































































