बिर्तामोड । विद्यालयको विद्यार्थी स्वागत कार्यक्रममा रेफ्री (खेल खेलाउने व्यक्ति) ले अंग्रेजी शब्द प्रयोग गरेपछि विद्यार्थीहरुले हल्ला (हुटिङ) गरे । कार्यक्रमस्थलको अगाडि पट्टि बसेका शिक्षकहरुले रेफ्रीलाई सुधार्न गरेको सहयोग पनि निरर्थक भएपछि दुवै चुप लागे । विद्यार्थीलाई खेल खेलाउन मञ्चमा पुगेकी रेफ्रीले बिद्यार्थी बोलाइन बेलुन–फुटाई र मुखले रिले गर्दै स–साना बल गिलासमा बल भर्ने खेल खेल खेलाइन् । उनी आयोजक कलेजकै मिस हुन् ।
कुनै बेला पश्चिमा संस्कृतिप्रति बढेको मोह दिनप्रतिदिन मौलिक संस्कृति, भेषभूषा र लवजमा फर्किन थालेको छ । पाटी, कन्सर्टहरुमा जाँदा सुट र टाई नलगाएसम्म आफूलाई स्टान्डर्ड प्रस्तुत गर्न सकिंदैन, सहभागी मध्ये आफूलाई कमजोर ठानिन्छ भन्ने मानसिकता बसिसकेको थियो । तर, आफ्नौ मौलिक भाषा, संस्कृति, पहिचान र अस्तित्वको कुरा उठेसंगै क्रमिक रुपमा परिवेश परम्परागत मौलिकतामा फर्किन थालेको छ । यो पहिचान खोज्ने र अधिकार माग्नेले मात्रै होइन शैक्षिक संस्थाले सामुहिक रुपमै आफ्नै संस्कार संस्कृति र मौलिकताको संरक्षण गर्नुपर्छ भन्ने चेतना भर्नथालेको छ ।
सोही अनुरुप शुक्रबार बिर्तामोडको देवी पञ्चकन्यास्थित इकम कलेजले त्यस्तै कार्यक्रम गर्यो । जहाँ बहुजाति, बहुभाषी, बहुसंस्कृति भित्र पर्ने गीत तथा नृत्य प्रस्तुतीद्वारा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गर्यो ।
जहाँ उद्घोषणदेखि प्रस्तुतीसम्म एकाधले गरेको अंग्रेजी शब्दको प्रयोगबाहेक सबैमा नेपाली । मौलिकतामा रमाउन पाउँदा आफूहरुलाई पनि खुशी लागेको सहभागी विद्यार्थीहरुको प्रतिक्रिया थियो ।
कलेजका सञ्चालक आलोक कार्कीले आयातित शब्द भन्दा भरसक आजको दिन अन्य भाषा प्रयोग नगर्ने तरिकाले मौलिकता झल्काउने प्रयास गरेको बताए । कलेजले यसअघि पनि त्यस्ता कार्यक्रमहरु गर्दै आएको बताउँदै उनले भने–‘समय अनुसार भाषा त सबै सिक्नु र जान्नु आवश्यक छ, तर यो चाँहि विशेष गरी नेपाली संस्कृतिका अनेकता र मौलिकताबारे विद्यार्थीहरुलाई सिकाउनकै लागि आयोजना गरिएको हो ।
कार्यक्रमस्थल पनि बाँसको चोयाद्वारा निर्मित हाम्रा परम्परागत प्रयोजनका डोको, नाम्लो, डालो, थुन्चे लगायतका सामग्रीहरुले सजाइएको थियो ।
विगत विश्वमै कहाली लाग्दो रुपमा फैलिएको कोरोना संक्रमण र त्यसबाट उत्पन्न अत्यास लाग्दो परिवेशलाई मार्मिक ढंगले पस्केका विद्यार्थीहरुले २०७२ सालमा गएको भू–कम्पले दिएको डर लाग्दो कुरालाई पनि सम्झिए ।