बिर्तामोड । महिलाका लागि सबैभन्दा महत्वपूर्ण र व्यस्त समय बिहान बेलुका हो । बिहान–बेलुका घर बडार–कुँडार, दैनिक पाठपूजा, समयमा खाना बनाउने, नानीहरुलाई स्कूल पठाउने, अनि परिवारलाई खाना, धन्दा गर्ने लगायतका काम महिलाका मात्रै हुन भनेर चिनिन्छन् ।
त्यसमाथि आफैं आय आर्जन गरेर स्वाबलम्बी हुने प्रयास गरिरहेका महिलाहरुको व्यस्तता अझ बढी नै हुन्छ । ब्यापारी व्यवसायी र कामकाजी भनेर चिनिने (जागिरे) महिलाका लागि त बिहान बेलुकाको समय कति महत्वपूर्ण हुन्छ– त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ ।
तर, जहाँ इच्छा त्यहाँ उपाय भने झैं इच्छा भएपनि तिनै व्यस्तताका बीच पनि समयलाई ब्यवस्थापन गर्न पनि महिलाहरू सक्षम हुँदारहेछन् भन्ने बिर्तामोड–४ मेघाबारीका महिलाहरूले देखाएका छन् । सिद्धिबिनायक किर्तन मण्डलीमा आवद्ध महिलाहरु खाना बनाउने समयमा बोल्ने कला सिक्नकै लागि कोही ६ बजे अघि नै भात पकाइसक्छन् त कोही ८ बजेपछि हतार–हतार चुलो बाल्न थाल्छन् ।
गाउँमै रहेको कीर्तन मण्डलीमा सचिवको जिम्मेवारी सम्हालेकी चन्द्रा भट्टराई पोखरेलले केही वर्ष अघि उनी आवद्ध नेपाल महिला उद्यमीशील संघ झापाको साधारणसभामा स्वागत भाषण गर्नुप¥यो । पहिलेदेखि गरिहाल्छु नी भन्ने लागेको थियो । फ्लोरको अग्रभागमा बसेकी उनलाई पछाडि कति सहभागी छन् भन्ने पत्तै थिएन । उद्घोषकले उनलाई स्वागतका लागि बोलाए । जब पोडियमको अगाडि पुगेर फ्लोरको उपस्थिति देखिन् तब मुटु नै ढुकढुक भएको उनले बताइन् । उनले भनिन्–‘स्वागत हो सकिहाल्छु नी भन्ने लागेको थियो, तर जब अगाडि पुगे मुटु ढुकढुक भयो, हातखुट्टा कामे जस्तो भयो, के भन्ने के गर्ने होला जस्तो भयो ।’ उनले थपिन्–‘बल्ल बल्ल बोल्न थालेको नाम नलिंदा पनि हुँदोर’छ थाहा थिएन, प्रमुख अतिथिको नाम लिएर सम्बोधन गरेको सभाध्यक्षको नाम, प्रमुख अतिथिको थर भनेर सम्बोधन गरेंछु, मिस्टेक भएको थाहा त पाइहाले, लाजले कसो कसो गरेर सकें ।’ स्थानीय कीर्तन मण्डलीको सचिव हुँदा अलिअलि बोल्ने बानी परेकी चन्द्राको यो अनुभवले उनलाई अभ्यास गर्न प्रेरित ग¥यो ।

घर, बालबाच्चा, व्यवसाय, सामाजिक संघसंस्थाका गतिविधि भ्याएर विगत १० दिनयता बेलुका ६ बजेदेखि ८ बजेसम्म मेघाबारी टोलस्थित सिद्धिबिनायक मन्दिरमा बोल्नका लागि सामुहिक अभ्यास गर्दै गरेकी चन्द्राले भनिन्––‘महिलाको जहाँ गएपनि आफ्नो घर आफंैसंग जान्छ, विहान सबेरैदेखि समय व्यवस्थापन गर्नुपर्छ, जहाँ इच्छा, त्यहाँ उपाय यी सब भ्याएर समय म्यानेज भइरहेको छ ।’
त्यसपछि उनले लायन्सको जानि–नजानी कार्यक्रम समेत सञ्चालन गरिन् रे । त्यसले पनि बोल्ने बानी परेको बताउँदै रमाइलो पारामा भनिन्–‘२०८४ को निर्वाचनमा उम्मेद्वार हुँदा भाषण गर्न सक्ने हुनुप¥यो नी’!
महिलाको काम खाना बनाउने र घरको काम मात्रै त होइन, केही सिकौं, केही जानौं, कत्ति छोरा मान्छे मात्रै अगाडि बढ्छन् ? समाजमा हामी पनि त केही गरौंन भन्ने लागेर सिक्न आएको निर्मला मगर बताउँछिन् । अभ्यासमा पुग्नुअघि निर्मला बेलुकाको खानाका लागि दाल/तरकारी पकाएर चामल भिजाएर ६ बजे मन्दिर (उद्घोषण अभ्यास स्थल) पुग्छिन् । १० दिनदेखि बोल्ने अभ्यास गर्दै आएकी निर्मलाले भनिन्–‘बोल्न सक्दैनथ्यौं धेरै बोल्न सक्ने भयौं, अझै सिकेर आफ्ना कुरा राख्न सकौं भन्नका लागि सिक्ने हो ।’
गाउँ समाजमा साना–साना काम कुरा हुँदा पनि आफ्ना कुरा स्पष्ट राख्न सकौं भन्ने लागेर उद्घोषण कला सिकिरहेकी राधिका भण्डारीलाई २/४ जना मान्छेका अगाडि बोल्न सकौं भन्ने लागेको छ रे । उनले भनिन्–‘साँझ पखको समय घरकै लागि महत्वपूर्ण हो, संगैसंगै अहिलेको आवश्यकता अनुसार हामीले बोल्न सिक्नैपर्ने रहेछ, त्यसैले प्रयास गर्दैछौं ।’
सोही टोलकी सिता भण्डारी अधिकारी फ्याक्ट्रीमा व्यस्त हुनुपर्ने समय बोल्ने कला सिकिरहेकी हुन्छिन् । उद्योगलाई समय दिनुपर्ने बेलामा पनि तालिम लिन आउनुको कारण बताउँदै अधिकारीले भनिन्–‘क्षमता प्रस्फुटन गरी, आत्मनिर्भर हुने उद्देश्य छ ।’ उद्योगको उत्पादन प्रवद्र्धनका लागि त झन धेरै बोल्न जान्नुपर्ने र’छ ।’
१० दिन अघि बोल्ने कला सिक्न समूहमा पुगेकी सुनिता बजगाँईलाई ‘ला बोल्न जान्दिन की ? के हुन्छ कि ?’ जस्तो लाग्थ्यो रे । समूहमा पहिलोपटक बोल्नुपर्दा डरले अनुहारको रंग नै बदलिएको देख्ने सहभागीहरु अहिले उनको बोल्ने अभ्यासमा भएको प्रगति देखेर अचम्मित छन् । उनी आफैं पनि आफूमा प्रगति भएकोमा उत्साहित हुँदै भनिन्–‘कन्फिडेन्स बढेको अनुभव भएको छ, ९/१० दिनमा कार्यक्रममा बोल्न सक्ने भएभन्ने लागेको छ ।’ उनले थपिन–‘अब केही दिन सिक्दा त कार्यक्रम नै सञ्चालन गर्न सक्छु भन्ने हिम्मत आउन थाल्यो ।’ अभ्यासको नवौं दिन उनी वडाध्यक्षको भूमिकामा अभ्यास गर्दै थिइन् ।
हामी सिक्छौ भन्नुपर्ने बेलामा उहाँले नै सिक्नु भनेर प्रोत्साहित गरेपछि आफूहरुलाई पनि चिठ्ठा परेको सिता न्यौपाने र उमा आचार्यले बताए ।
उनीहरुलाई बोल्ने कला सिकाउँदैछिन्– स्थापित कार्यक्रम प्रस्तोता भीमा शिवाकोटीले । गृह जिल्ला, बाह्रय जिल्लाका धेरैलाई सिकाइयो, आफ्नै टोलका दिदी–बहिनीहरुलाई भने कहिले सिकाउने मौका नै मिलेको थिएन । उनले भनिन्–‘यो पटक जुरेको छ, उहाँहरु पनि उत्साहित भएर आउनुभएको छ ।’ समय व्यवस्थापन गरेर सिक्न चाहेजति र आफूसंग भएजति सेवाभावले सिप र शिक्षा बाँड्ने हो ।’
गत फागुनमा महिलाको नेतृत्वमा सामुहिक पुराण सफल पारेसंगै मेघाबारी टोलका महिलाहरुमा महिलाले पनि केही गर्न सक्छन् भन्ने कन्फिडेन्स बढेको बताउँछन् । काम गर्ने कन्फिडेन्स बढेसंगै कुरा गर्ने कन्फिडेन्स लेभल पनि बृद्धि गर्नुपर्ने महशुस भएपछि इच्छुकहरु मिलेर समय ब्यवस्थापन गरेको उनीहरुको भनाई छ ।

































































































