आज २१० औं भानु जयन्ती । नेपाली भाषा, साहित्यको उन्नयनका लागि महत्वपूर्ण व्यक्तिको जन्मोत्सव । नेपाली भाषाको एकीकरण तथा मौलिक कविता लेखनको प्रारम्भमा आदिकवि भानुभक्त आचार्यको योगदान बिर्सिन सकिदैन । संस्कृत भाषामा लेखिएको बाल्मीकीय रामायणको भावानुवाद पनि भानुको नेपाली साहित्यका लागि अद्वितीय योगदान हो ।
तत्कालीन विषम परिस्थितिमा भानुभक्तले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानलाई उच्च सम्मानका साथ आजको पुस्ताले पनि उनीप्रति आदर सम्मान गर्दै उनको त्यो महत्वपूर्ण योगदानलाई सम्मान गर्नुपर्छ । यस संसारमा जन्मिएका अर्बौं मानिसमध्ये धेरैले आफ्नो जीवन जिउने, मर्ने र दुई पुस्तापछि सदाका लागि बिर्सिने गर्दछन् । तर नेपाली भाषा र साहित्यले नबिर्सिने थोरै व्यक्तिहरू छन्, जुन तिनीहरूका महान् कार्यहरूका कारण तिनको नाम अमर रहन्छ । समाजमा उत्कृष्ट योगदान दिएका केही नाममध्ये नेपाली साहित्यले कदापि नभुल्ने नाममा आदिकवि भानुभक्त आचार्य पनि एक हुन् ।
उनी आफ्ना सदाबहार कामका कारण नेपाली साहित्य आकाशमा चम्किन्छन् । नेपाली साहित्यको इतिहासमा प्राथमिक कालको भक्तिधारा अन्तर्गत राम भक्तिधारामा देखिएका आदिकवि भानुभक्तको वि.सं. १८७१ मा तनहुँ जिल्लाको चुँदी रम्घा भएको थियो । उनी उच्च वर्गीय ब्राह्मण परिवारमा जन्मिएका थिए । आचार्यलाई उनका हजुरबुबा श्रीकृष्ण आचार्यले शिक्षा दिएका थिए । उनका बुबा धनञ्जय आचार्य एक सरकारी अधिकारी थिए, जसले जनरल अमरसिंह थापाका लागि पश्चिमी नेपालको पाल्पाको गभर्नरको रूपमा काम गरेका थिए ।
व्यक्तित्वका रुपमा भानुभक्त स्वभावमा खरो भए पनि पढाइमा अत्यन्त मेधावी विद्यार्थीका रुपमा रहेका थिए । उनका विषयमा नेपाली साहित्य र समालोचनामा पछिल्लो समय व्यापक चर्चा भएको पाइए तापनि तत्कालीन समयमा उनका बारे कसैले पनि चर्चा गरेको पाइँदैन । छापाखानाको प्रारम्भ नभएको तत्कालीन समयमा भानुभक्तका रचना पाण्डुलिपिमा मात्र सीमित थिए । मोतीराम भट्टले भानुभक्तका फेला पारेका पाण्डुलिपि छाप्नका लागि भारतको बनारसमा लगेपछि उनका कृतिहरू सन् १८८७ मा प्रकाशित भएका थिए ।
मोतीराम भट्ट नै पहिलो व्यक्ति हुन् जसले नेपालमा छापाखानाको स्थापना लगायतका विभिन्न सुधारात्मक कार्यहरु गरे, जसमा उनले भानुभक्तको जीवनचरित्र लेखन तथा उनका कृतिहरूको प्रकाशन गरेपछि भानुभक्तको व्यक्तिगत र साहित्यिक जीवनका बारेमा बुझ्न आम पाठकलाई सजिलो बनाइदिए । यतिमात्र होइन, मोतीराम भट्टले सन् १९८१ मा आचार्यको जीवनी लेख्दा सर्वप्रथम उनलाई आदिकवि भनेर सम्बोधन गरेका थिए । यसै क्रममा युगकवि मोतीराम भट्टद्वारा कवि भानुभक्तप्रति सम्मान व्यक्त गर्दै रचित कविताको एक अंशले पनि सो कुराको पुष्टि गर्दछ ।
हाम्रा यी अति मान्य आदि कवि हुन् थुना परेका थिए
लेख्थे धर्म र भावपूर्ण कविता भाषा बनाई दिए ।
नेपालीहरूलाई भानु सरि भै बाटो बताई दिए
भाषा राष्ट्र र रामभक्त कवि यी साह्रै रसिला थिए ।
भानुभक्त आचार्यलाई नजिकबाट बुझेर उनको बारेमा लेख्ने कवि मोतीराम भट्ट हुन् । आदिकवि उपाधिको हकदार भानुभक्त नै भएको मोतीराम भट्टको समेत ठम्याइ छ । त्यति बेला हरेक साहित्य संस्कृतमा लेखिन्थ्यो र आम मानिसले संस्कृत भाषा बुझ्दैनथे । त्यसैले लेखनका कामहरू संस्कृत सिकेका शिक्षित ब्राह्मणहरूमा मात्र सीमित थिए ।
तर, भानुभक्त आचार्यले उक्त परम्परालाई बदलेर नेपाली भाषामा लेख्न थाले । जसका कारण उनले नेपाली भाषा र नेपाली साहित्यलाई समग्रमा लोकप्रिय बनाए । उनले तत्कालीन राणा परिवारको अनुग्रह पनि कमाए । आचार्यले महाकाव्य रामायणलाई नेपालीमा अनुवाद पनि गरेका थिए, किनकि उनी रामायणलाई संस्कृत सिक्ने मौका नपाएका सर्वसाधारणले पढून् भन्ने चाहन्थे । त्यतिमात्र होइन, उनी भगवान् रामका परम भक्त पनि थिए ।
मोतीराम भट्टकै अनुसार भानुभक्तका अनुवादित तथा मौलिक रुपमा रचना गरिएका सिर्जना र तिनको रचना समय पनि निम्नलिखित रहेका छन्
प्रथम दुई कविता, बालकाण्ड अनुदित, कान्तिपुरी कविता (मौैलिक सिर्जना), रामायणकै अयोध्याकाण्ड, अरण्यकाण्ड, किस्किन्धा काण्ड, सुन्दरकाण्ड (अनुदित), युद्धकाण्ड र उत्तरकाण्ड (अनुदित) प्रश्नोत्तरमाला (अनुदित)
भक्तमाला (मौलिक सिर्जना), बधूशिक्षा (मौलिक सिर्जना), रामगीता (अनुदित),
माथिका कृतिहरूमध्ये संस्कृत भाषामा बाल्मीकिद्वारा रचित प्राचीन महाकाव्य रामायणको भावानुवादसहित रचना गर्नु नै भानुभक्तको जीवनकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि मानिन्छ । जेलमा नै रहँदा उनले रामायणका अयोध्याकाण्ड, किष्किन्धाकाण्ड तथा सुन्दरकाण्डको रचना गरेका थिए । एकै समयमा रामायणको काम सम्पन्न नभए पनि विभिन्न समयमा गरेर उनले समग्र रामायणलाई भावानुवाद गर्ने कामलाई पूर्णता दिए ।
यस कृतिले समग्र नेपालीहरूमाझ भानुभक्तलाई एकातिर चिनाउने काम गरेको हो भने अर्कातिर पौराणिक काव्य रामायणमा वर्णित घटना आदिले समग्र नेपालीमा सकारात्मक प्रभाव पार्न सकेको छ र काव्यप्रति आकर्षण पनि बढाएको पाइन्छ । भानुभक्त आचार्य सन् १८४९ मा पहिलोपटक काठमाडौं पुगेका थिए । आफ्नै छिमेकीसँग जग्गा विवाद भएपछि मुद्दा गर्ने सिलसिलामा उनी काठमाडौं आएका हुन् । त्यस समयमा काठमाडौंमा रहँदा उनले बालाजु वर्णन तथा कान्तिपुरको वर्णन गरी कविता रचना गरेका हुन् । यसमा राष्ट्रभक्तिको भावना प्रकट भएको पाइन्छ । काठमाडौं बसाइका क्रममा उनको दरबारसँग पनि सम्पर्क स्थापित भयो ।
फलस्वरुप सन् १८५० मा उनले जागिर पाए र यसैका सिलसिलामा उनी मधेसतिर गएर बसेको पाइन्छ । करिब दुई वर्षको जागिरे जीवनमा कागजपत्र समयमा बुझाउन नसकेपछि उनी जेलमा थुनिए । पाँच महिनाको जेल बसाइमा उनले लेखनलाई अगाडि बढाए । उनी नेपाली भाषामा लेख्ने पहिलो कवि थिए । उनले नेपालीलाई साहित्य लेखनमा प्रयोग गर्न सकिने भाषा बनाए ।
उनको समयभन्दा पहिले भाषिक एकता हुन नसकेको नेपाली समाजका लागि उनले मानक भाषाको प्रयोग गरी भाषिक एकताको प्रयास गरे, जुन नेपाली भाषाको इतिहासमा महत्वपूर्ण र स्मरणीय कार्य मानिन्छ । यसका अलावा कविताको मर्म वा भित्री सार बुझ्न र त्यसै अनुरुप काव्यको भावानुवाद गर्न पनि उनी सक्षम थिए । यसैको परिणामस्वरुप उनले रामायण, प्रश्नोत्तर र रामगीताजस्ता कृतिको भावानुवाद गरेको पाइन्छ ।
प्रश्नोत्तर उनको मौलिक कृति नभई अनुदित कृति हो ।
संस्कृत साहित्यका विशिष्ट विद्वान् शंकराचार्यद्वारा रचना गरिएको संस्कृतको ‘मणिकरत्नमाला’को अनुवादका क्रममा उनले तत्कालीन समाजलाई नैतिक शिक्षा प्रदान गर्ने काम गरेका छन् । यस कृतिमा तत्कालीन समयको आदर्शलाई प्रस्तुत गर्ने काम शंकराचार्यले गरेका र उनले तत्कालीन समयमा नारी शक्तिलाई नकारात्मक टिप्पणी गरेका अनि सोही कृति अनुवादका क्रममा त्यहाँ प्रस्तुत विषय जस्ताको तस्तै प्रस्तुत हुँदा भानुभक्तलाई कतिपयले नारी विरोधी र नारीलाई अवहेलना गरेको भन्ने आरोप पनि लगाउने गरेको पाइन्छ ।
तर आधुनिक नजरले भानुभक्तलाई हेरेर व्याख्या गरिनु अवश्य पनि गलत हुन्छ । किनकि उनी नारीका विरोधी र नारीप्रति हेला गर्ने किसिमका थिएनन्, बरु अनुवादका क्रममा कतिपय स्थानमा उनले सचेतता र संयमता अपनाएको पाइन्छ । उनको प्रश्नोत्तर कविता नेपाली साहित्यको प्राथमिक कालमा समाजलाई नैतिक र आदर्श सिकाउने समाज सुधारक कृति हो भन्नुमा अत्युक्ति हुँदैन ।भानुभक्त आचार्यको मृत्यु वि।सं। १९२५ मा भएको थियो । तर उनलाई नेपाली समाज र साहित्यले कहिल्यै बिर्सिएको छैन ।
हरेक वर्ष असार महिनाको २९ गते भानु जयन्ती पर्छ । हरेक वर्ष यो उत्सवको अवसरमा नेपाल सरकार र नेपाली जनताका साथै विश्वभरका नेपाली भाषीहरूले मनाउँछन् ।
भानुभक्तप्रतिको सच्चा सम्मान उनको जन्मजयन्तीमा विविध कार्यक्रम गर्दैमा र उनको फोटो अनि सालिकमा माल्यार्पण गर्दैमा मात्र हुँदैन । उनीप्रति सच्चा सम्मान गर्नका लागि त आजका पुस्तालाई भाषा र साहित्यको महत्व दर्शाएर प्रारम्भिक समयमा यी दुवै क्षेत्रमा भानुभक्तले पु(याएको योगदानको महत्व बुझाउन सक्नुपर्छ । नयाँ पुस्ताले पनि पुराना सर्जकको महत्वलाई बुझेर सम्मान गर्ने संस्कृतिको विकास गर्न सक्नु नै भानुभक्तप्रतिको वास्तविक सम्मान हुन्छ ।
आज भानु जयन्ती

































































































