बिर्तामोड । उद्यमी व्यवसायी महिला समूह बिर्तामोडको आयोजनामा एकदिने उद्यमशीलता तथा सीप विकास सम्बन्धि तालिम सम्पन्न भएको छ ।
उद्यमी व्यवसायी महिला समूह बिर्तामोड ५ को आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रममा बिर्तामोड नगरभित्रका १० वटा वडाका महिलाहरुको सहभागिता रहेको थियो । तालिम उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका उपमेयर तथा कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र संग्रौलाले नगरले महिलाको सीप विकासका लागि धेरै लगानी गरेपनि अपेक्षाकृत उपलब्धी नदेखिएको बताउँदै सीपलाई सिर्जनामा जोड्न सुझाव दिए ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईले सिपलाई उद्यममा लगेर जोड्न आग्रह गर्दै, महिलाले उत्पादन गरेका सामग्रीको बजार प्रवद्र्धनमा आफूले पनि सहयोग गर्ने बताए ।
उद्यमी व्यवसायी महिला समूहकी अध्यक्ष यशोदा प्रसाई भटट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिमा शिवाकोटी र चनीमाया तामाङले उद्यमी बन्नका लागि आफूमा चाहिने, आँट, लगाव, मेहनत, मान्यता प्राप्त गर्नका लागि जानुपर्ने ठाउँ, लगानीको सुरक्षण, उत्पादन र बजार प्रवद्र्धनका विषयमा सहजीकरण गरेका थिए ।
सञ्चालक सरिता मैनालीले सञ्चालन गरेको कार्यक्रममा भावना आचार्यले स्वागत गरेकी थिइन् । कार्यक्रममा बिर्तामोड वडा नं. ५ की वडासदस्य मालती विक, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, महिला चेम्बर अफ कमर्शकी अध्यक्ष प्रेमा भटटराई, डोरी तान संघकी केन्द्रीय सदस्य संगिता चिमरिया लगायतको उपस्थिति रहेको थियो ।

































































































