झापा । जग्गा किन्नका लागि बैना रकम लिएर आएका दुईजनाको साथमा रहेको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएका चारजनालाई रकमसहित झापा प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप जिल्ला देउराली गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर बस्ने राजेश श्रेष्ठ, पाँचथर मिक्लाजुङ गाउँपालिका ४ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका जनक रेग्मी, मोरङको बेलबारी घर भई हाल झापाको मेचीनगर ६ बस्ने रणबहादुर पोखरेल र झापाकै कमल गाउँपालिका –६ का बिजय राई पक्राउ परेका हुन् ।
इलामबाट पक्राउ परेका श्रेष्ठ र रेग्मीबाट प्रहरीले १४ लाख ६५ हजार बरामद गरेको जनाएको छ भने झापाबाट पक्राउ परेका पोख्रेल र राईका साथबाट १३ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।
बिहीवार (चैत ३०) गते विर्तामोड बसपार्क नजिकै दुई कठ्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीकी बिष्णुमाया सापकोटा (सुवेदी) र अनिल विश्वकर्माले साथमा लिएर आएको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबार फरार भएका थिए ।
सस्तोमा जग्गा पाइएको छ आजै बैना गर्न आउनु भनेर उनीहरूलाई झापाको कमल गाउपालिका–५ बस्ने बिजय राईले बोलाएका थिए । राई र जग्गा किन्ने विष्णुमाया सुवेदी एकै गाउँका चिनजानका व्यक्ति हुन् । विष्णुमायाले जग्गा बैना गर्नका लागि छिमेकी अनिल विश्वकर्मालाई साथमा लिएर उर्लाबारीबाट विर्तामोड आएकी थिइन् ।
राईले मोरङको बेलबारी नगरपालिका–६ घर भई झापाको मेचीनगर नगरपालिका–६ बस्ने वर्ष ५५ का रण बहादुर पोख्रेलसँग मिलेर उनीहरूलाई लुट्ने योजना बनाएका थिए । दुईजनाले मात्र लुटपाट गर्न नसकिने ठानेर राईले काठमाडौंमा रहेका राजेश श्रेष्ठ र जनक रेग्मीलाई दुई दिन अगाडि नै झापा बोलाएको दावी गरिएको छ ।
चारजना मिलेर पूर्वनिर्धारित योजनाअनुसार जग्गा खरीदकर्तालाई नव ज्योती होटलमा बोलाएर बैना कागज नै नगरी विष्णुमायाको साथमा रहेको ३२ लाख रुपैयाँ नगद रकम लुटेर फरार भएका थिए । फरार भएकाहरूको खोजतलास गर्ने क्रममा दुईजना व्यक्तिहरू इलामबाट पक्राउ परेका छन् ।
रामेछापको देउराली गाउँपालिका–२ घर भई हाल भक्तपुर बस्ने वर्ष ३९ को राजेश श्रेष्ठ र पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भई काठमाडौँको गर्जुधारा बस्ने वर्ष ५२ का जनक रेग्मी झापाबाट भागेर इलाम पुगेपछि पक्राउ परेका हुन् ।
त्यस्तै, अर्जुनधारा नगरपालिका–११ मा रहेको थापा होटल एण्ड लजको कोठा नं। १०१ मा लुकेर बसेका राई र पोखरेललाई पनि प्रहरीले आजै पक्राउ गर्न सफल भएको छ । उनीहरूको साथबाट प्रहरीले १३ लाख रुपैयाँ नगद बरामद गरेको छ ।
लुटिएको ३२ लाख रकममध्ये उनीहरूको साथबाट २७ लाख ६५ हजार रकम बरामद भएको छ । बाँकी रहेको चार लाख ३५ हजार रकम उनीहरूले खर्च गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जग्गा बैना गर्न लिएर आएको रकम लुटेर फरार चारजना पक्राउ

































































































