झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयबारे जानकारी गराएका छन्।

सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान तथा ऊर्जा मन्त्री थिए ।

































































































