बिर्तामोड । बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बधाई तथा सम्मान गर्ने भएको छ । मूलतः बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक ब्यापार महोत्सवको समुद्घाटन समारोहको प्रमुख आतिथ्यका लागि सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्र आउन लागेका सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मान गर्न लागिएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सभामुख घिमिरे र उपसभामुख राना मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । नगरपालिकाको कार्यालयमा फागुन ४ गते बिहिबार दिउँसो २ बजे बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरीएको नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।
प्रवक्ता पाण्डेले सभामुख र उपसभामुख दुवैजना झापा क्षेत्र नं. २ बाटै रहेका कारण यो गौरव र ऐतिहासिक भएको भन्दै बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरीएको बताए। कार्यक्रममा अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका र बुद्वशान्ति गाउँपालिकाको समेत सहभागिता रहने जनाइएको छ ।
सभामुख घिमिरे नेकपा एमालेबाट प्रत्यक्ष तर्फ र उपसभामुख राना मगर रास्वपा समानुपातिक तर्फबाट सांसद बनेकी थिइन् ।
कार्यक्रम पछि मध्यान्ह १२ बजे बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक ब्यापार महोत्सवको समुद्घाटन तथा सम्बोधन गर्ने र अपरान्ह ३ बजे बिर्तामोडमा पत्रकारहरुसँग अन्तरसम्वाद भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
२०७९ फागुन ५ गते दिउँसो ४ः३० बजे निजामति कर्मचारी संगठनका प्रतिनिधिहरुसँग भद्रपुरमा भेटघाट गर्ने र सोही साँझ ६ बजे भद्रपुर विमानस्थलबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम बनाएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे र उपसभामुख रानालाई पालिकाद्वारा सम्मानको तयारी

































































































