काठमाडौं १ माघ। चालक दलसहित ७२ जना सवार बिमान दुर्घटनापछि बसेको मन्त्री परिषदको आकस्मिक बैठकले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको छ । बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सदस्यहरूमा हवाईविज्ञ अवकाश प्राप्त दीपकप्रकाश बाँस्तोला, हवाईविज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र सदस्य सचिवमा पर्यटन मन्त्रालयका बुद्धिसागर रहेका छन् ।
आयोगलाई बिमान दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने सावधानीका विषयमा सुझावसहितको प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको मन्त्री पौडेलले बताए ।
बैठकले विमान दुर्घटनाको शोकमा भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ । काठमाडौंबाट पोखरका लागि उडेको यती एयरको जहाज ७२ जना यात्रुसहित दुर्घटनाग्रस्त बनेको थियो । जहाज अवतरण गर्ने क्रममा करिब ११ बजे फेवा खोँचमा दुर्घटना भएको हो ।
सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
दुर्घटनामा परेकाहरुको अहिले उद्धार भइरहेको छ । अहिलेसम्म कसैलाई जिवित फेला पार्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।
पोखरा बिमान दुर्घटना छानबिनका लागि आयोग गठन,भोली शोक विदा

































































































