बिर्तामोड १४ कात्तिक । नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले नेपालको इतिहासमा राजनीतिक परिवर्तनका लागि विभिन्न चरणमा गठबन्धनको अभ्यास भएको बताउनुभएको छ । ब्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरुमा गठबन्धन दलको सहकार्यबाट नै राजनीतिक परिवर्तन सम्भव भएको बताउँदै सभापति थापाले अहिलेको गठबन्धन पनि चुनावकेन्द्रित मात्रै नभएको बताउनुभएको हो ।
लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र विर्तामोड नगर समितिको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति थापाले देश र जनताको समृद्धिका लागि गठबन्धनको विकल्प नभएको दावी गर्नुभएको हो । देश संवैधानिक संकटमा फस्न लागेको अवस्थामा संविधानको रक्षा र लोकतान्त्रिक आन्दोलनका उपलब्धी रक्षाका लागि लोकतान्त्रिक बाम गठबन्धन बनेको पृष्ठभूमि बताउँदै सभापति थापाले देश र जनताको समृद्धिका लागि लामो समयसम्म यो गठबन्धन रहिरहने पनि धारणा राख्नुभयो ।

कार्यक्रमका विशेष अतिथि एवं झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिका संयोजक सुधिरकुमार शिवाकोटीले के।पी। ओलीको संविधान र लोकतन्त्रविरोधी षडयन्त्रलाई परास्त गर्न गठबन्धन भएको बताउँदै गठबन्धनका उम्मेद्वारले चुनाव जितेमात्र शान्ति, स्थिरता र विकास सम्भव हुने भनाई राख्नुभयो ।
झापा क्षेत्र नं–२ प्रतिनिधिसभाका उम्मेद्वार हरिकुमार रानाले के।पी। ओलीको पार्टीमा बसेर देश र जनताको पक्षमा काम गर्न नसकिने अवस्था देखेर आफू गठबन्धन दलको साझा उम्मेद्वार बनी आफू देश र जनताको सेवामा सक्रिय हुने बताउनुभयो ।
झापा क्षेत्र नं–२ प्रदेशसभा १ का उम्मेद्वार पुष्प पोखरेलले यो निर्वाचन अग्रगामी र प्रतिगामी शक्तिबीचको प्रतिष्पर्धा भएको बताउँदै अग्रगमनकारी गठबन्धन दलका उम्मेद्वारलाई मतदानमार्फत जिताएर प्रतिगामी शक्तिलाई परास्त गर्न अपिल गर्नुभयो ।
भोजराज सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, नेकपा माओवादी पोलिटब्युरो सदस्य धर्मशिला चापागाई, केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने ९सरु०, लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्रका सदस्य बेदराज रेग्मी, राजु आचार्य अग्नी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको औचित्यमाथि लक्ष्मी आचार्यले प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत श्रीप्रसाद सिटौला र सञ्चालन दिनेश पराजुलीले गर्नुभएको थियो ।

































































































