बिर्तामोड २६ असोज । उन्नत लोकतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष भद्रप्रसाद नेपाल (स्वागत)ले आफैं केन्द्रीय अध्यक्ष रहेको पार्टीको नाम लुकाएर स्वतन्त्र उम्मेद्वारका रुपमा चुनावी प्रचार गरिरहेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि ‘स्वतन्त्र’ उम्मेदवारी दिएका भद्रप्रसाद नेपाल (स्वागत) राजनीतिक दलको अध्यक्ष रहेको पाइएको हो ।

उन्नत लोकतन्त्र पार्टी निर्वाचन आयोगमा २०७८ कार्तिक १४ गते दर्ता भएको पार्टी हो । आयोगले २०७९ साउन २० गतेसम्म अध्यावधिक गरेको सूचीको क्रम संख्या ९८ मा रहेको उन्नत लोकतन्त्र पार्टीको दर्ता नम्बर १७२ रहेको छ भने अध्यक्ष भद्र प्रसाद नेपाल र चुनाव चिन्ह खुला किताब उल्लेख छ ।
गते बैशाख ३० गत सम्पन्न स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले पालिकामा बिजय हासिल गरेसंगै प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पनि स्वतन्त्रहरुको मोह बढेसंगै नेपाल आफैंले नेतृत्व गरेको पार्टीको नाम गुमनाम राखेर स्वतन्त्र उम्मेद्वारी दर्ता गरेको टिप्पणी हुन थालेको छ । नेपालले झापा क्षेत्र नम्बर २ मा पार्टीको तर्फबाट नभइ स्वतन्त्र ब्यक्तिको रुपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन ।

































































































