काँकरभिट्टा २५ असोज । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेता/कार्यकर्तालाई नभएको स्पष्ट पार्नुभएको छ । निक्कै आक्रमक ढंगमा प्रस्तुत भएका शर्माले वैशाख ३० को जस्तो गडबडी मंसिर ४ कसैले गरे त्यो ठिक नहुने चेतावनी समेत दिए। ‘वैशाख ३० मा गडबडी गरेकै हो, मंसिर ४ मा पनि गरिन्छ भन्ने कुविचार दिमागबाट हटाइहाल्नुस्’ गृहनगर धुलाबारीमा आज आयोजित अर्जुनदृष्टि अभियान कार्यक्रममा बोल्दै शर्मालेले भन्नुभयो–‘कसैले गडबडी गरेर गठबन्धनका उम्मेदवारको पराजय भयो भने उसलाई पार्टीले छोड्दैन।’ उनले मुलुक विकासका लागि नवीन बिद्रोह जरुरी रहेको समेत बताए । ‘बिद्रोह बन्दुकको होइन, आफूभित्रको कमजोरी सच्याउने बिद्रोह अबको आवश्यकता हो’ महामन्त्री शर्माले भन्नुभयो–‘हरेक दल र तिनका नेताले आफूभित्रको कमजोरी सच्याउने बिद्रोह नगरेसम्म देश विकास हुँदैन । भौतिक प्रगति मात्रै विकास नभएको उल्लेख गरेका उनले समाज रुपान्तरण नभएसम्म विकास नहुने टिप्पणी गर्नुभयो। झापा १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उहाँले जिम्मेवार र परिपक्व तवरले काङ्ग्रेसले मुलुकलाई समृद्ध बनाउन चाहेको बताए । ‘चुनावी परिणाम हाम्रो पक्षमा आउँछ, चुनाव जितिन्छ’ उहाँले भन्नुभयो–‘त्यसका लागि जीत, जीत र जीत अर्जुनदृष्टी हुनैपर्छ ।’ कि चुनाव लड्नु हुन्न , चुनाव लडेपछी जित्नै पर्छ भन्ने सोचका साथ आफू चुनावी मैदानमा खडा भएको उहाँको तर्क छ । गठबन्धनको विजयी सुनिश्चित भएको दाबी गरेका उनले ५ वर्षको जनादेशलाई इमानदारी साथ सम्मान गर्ने बताउनुभयो । ‘एमाले अध्यक्ष ओलीलाई मेरो प्रश्न छ’ उहाँको भन्नुभयो–‘तपाईंलाई दुई, अढाई , तीन वा कति वर्षका लागि मत चाहिएको हो’ कोही पनि विपक्षीलाई गाली र तितो आलोचना नगर्ने बताएका उहाँले जनताको मत माथी खेलवाड गर्ने अधिकार कसैलाई नभएको प्रष्ट्याउनु भयो। आफूले काठमाडौँ ५, नवलपरासीबाट चुनाव लड्ने सोचेर पनि झापा १ नछाड्ने निर्णय गरेरै यहीँबाट उम्मेदवार बनेको बताउनु भयो । चुनाव जित्न र सरकार बनाउन मात्रै नभई सुन्दर सपनाका साथ गठबन्धन गरेको उनले स्पष्ट पारे। एमालेले विगतमा गरेको गठबन्धनलाई भूत प्रभावीको संज्ञा दिएका शर्माले आफूहरूले गरेको गठबन्धनलाई भविष्यप्रभावी भनी व्याख्या गरे। उनले इमान्दार भएर गठबन्धनको उद्देश्य हासिल गर्न र बेइमानी नगर्न सबैलाई अपील समेत गरे। पार्टीको चुनावी घोषणापत्र तयारी समितिका संयोजक समेत रहेका शर्माले आफ्नो नेतृत्वमा निर्माण हुने घोषणापत्रमा देशको मार्गचित्रको स्पष्ट रेखा कोरिने विश्वास दिलाउनु भयो। यसपटक झापा १ मा आफू र गठबन्धनका उम्मेदवारले चुनाव जित्नेमा सन्देह नरहेको शर्माले बारम्बार दोहोर्याउनु भयो । कार्यक्रममा प्रदेशसभाका उम्मेदवार गोपाल तामाङ, श्यामवीर लिम्बु, नेकपा माओवादी केन्द्रका सचिव राम कार्की, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शारदा शर्मा,झापा १ का काङ्ग्रेस सभापति इन्द्रबहादुर बुढाथोकी लगायतले बोलेका थिए। चुनावी अभियान अन्तरगत झापा १ को यो कार्यक्रम पहिलो हो।

































































































