काठमाडौँ ३० भदौ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेद्वार सिफारिस भएका प्रेस युनियनमा आवद्ध पत्रकार संसदमा पुर्याउन पहल गर्ने भएको छ ।
देशभरबाट प्रतिनिधि तथा प्रदेशसभामा उम्मेद्वारका लागि सिफारिसमा परेका युनियनमा आवद्ध पत्रकारहरुलाई संसदमा पठाउने पहलका लागि बिहीबार काठमाडौंस्थित अन्नपूर्ण फुडल्याण्डमा अन्तरक्रिया सम्पन्न भएको हो ।
संसदमा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकार प्रतिनिधित्व गरे प्रेस युनियनको साख बढ्ने उल्लेख गर्दै प्रतिनिधित्वका लागि युनियनले पहल गर्ने अध्यक्ष शिव लम्सालले बताउनु भयो । लम्सालले भन्नुभयो–‘युनियनमा आवद्ध पत्रकारलाई संसदमा प्रतिनिधित्व गराउन हामी पार्टीका शीर्ष नेतृत्व र संसदीय बोर्डका सदस्यको ध्यानाकर्षण गराउँछौँ’।
सो अवसरमा युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारलाई संसदमा प्रतिनिधित्व गराउन सके पत्रकारको आवाज देशव्यापी लैजान सकिने बताउनु भयो ।
युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले सम्भावना बोकेका पत्रकारलाई संसदमा प्रतिनिधित्व गर्न प्रेस युनियनले पार्टीको केन्द्रीय नेतृत्वलाई दवाव दिनुपर्ने बताउनु भयो ।

युनियनका सल्लाहकार एवम् वरिष्ठ पत्रकार कविर राणा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ, निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य चितवन क्षेत्र नं २ प्रदेश ख बाट प्रत्यक्षतर्फ, युनियनका पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल झापा क्षेत्र न. १ प्रदेश ख बाट प्रत्यक्षतर्फ निर्वाचनमा उम्मेद्वार सिफारिसमा परेका छन् । देशभरका ७७ वटै जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्लाबाट सिफारिसमा परेका उम्मेद्वारको नाम संकलन गरिने युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिनुभयो ।
निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि किरण पोखरेल तथा तनहुँ क्षेत्र नं. १ प्रदेश क बाट कुलचन्द्र वाग्ले समानुपातिकतर्फ उम्मेद्वार सिफारिसमा पर्नुभएको छ ।
निवर्तमान कोषाध्यक्ष सरोज अधिकारी, युनियनका पूर्व उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी, पूर्व सचिव सन्तोष न्यौपाने, युनियनका नेता एवम् नेपाल पत्रकार महासंघ उपत्यका प्रतिष्ठान शाखाका सचिव रोशन पाण्डे, युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ, युनियनका पूर्व केन्द्रिय सदस्य कृष्ण हुमागाँई झापा, युनियनको हेटौडा महाधिवेशनमा केन्द्रीय पार्षद मनकुमार शर्मा झापा, युनियनका नेता झपेन्द्रप्रसाद गैरे पाल्पा, परमेश्वर साह सिरहाबाट, चित्रकुमार मिजार सिन्धुपाल्चोकबाट उम्मेदवारका लागि सिफारिस भएका छन् ।
महासचिव पौडेलका अनुसार देशभरबाट ५० भन्दा बढी युनियनकर्मीलाई पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका रुपमा सिफारिसमा परेका छन् ।

































































































