रेजिना गौतम
बिर्तामोड । पूर्व–पश्चिम लोकमार्ग अन्तरगत बिर्तामोड सडकखण्डको दक्षिणी सडकपेटीमा जुत्ता पोलिस तथा मर्मत गर्ने विकास राम बहिनीको विहेमा दिने दाइजो (दहिज) को रकम जुटाउने चिन्ता छ ।
३ वर्षमै बुबा गुमाएका राम र उनका दाजु झापाको बिर्तामोडमा घर खर्च र दहिज जुटाउनका लागि मेहनत गरिरहेका छन् । स्थायी घर बिहारको दरभंगा जिल्लामा भएका विकास सानै उमेरदेखि बिर्तामोडमा बसे, आठ कक्षासम्मको औपचारिक शिक्षा लिए र त्यो पछि पढाई छाडेर कमाउनतर्फ लागेको बताउँछन् । आफूसंगै दाजुलाई पनि त्यही चिन्ताले सताएको रामले बताए । रामले भने–‘‘दाजु भाई बसेर काम गर्दैछौं बहिनीको दहिज जुटाउनका लागि ।’ उनले थपे–‘मेहनत गरिराखेका छौं ।’ रामका अनुसार उनी जुत्ता सिउँछन् भने उनका दाजु सिजन अनुसार जे काम पायो त्यही गर्छन् ।
बहिनीको बिहे गर्न कम्तीमा पनि ८ देखि १० लाख भारु रकम आवश्यक हुने विकासको ठम्याइ छ । सकेसम्म मेहनत गरेर कमाउने र नपुगेमा ऋण नै खोजेर भएपनि केटालाई दहिज दिने संकल्प उनीमा देखिन्छ । भन्छन्–‘दहिज दिन्न भन्न मिल्छ, केटाले त मान्ला तर उसको बुबा आमाले मान्दैन, त्यही कारण पछि बहिनी हेलाँ हुन्छ । उनले थपे–‘दिएन भने बहिनीलाई हरेक दुःख दिन थाल्छ, कुटपिट गर्न थाल्छ ।’ दहिजकै कारण झगडा हुन थालेपछि बहिनीले पनि कम्प्लेन गर्दै भन्न थाल्छ,–‘तैले अलि सोचेर गरेको भए मैले दुःख पाउँदिन थे’ उनले यसो भन्दा आफूलाई–‘झन टेन्सन हुन्छ ।’
दहिज माग्न आफ्नो समुदायको संस्कार नै भएको उनले बताए । दहिज दिन्न भन्न त पाइन्छ तर छोरी चेली हेला हुने मुख्य कारण नै त्यही बन्न सक्छ ।’
बाटोमा जुत्ता पोलिस गर्ने वा मर्मत गर्ने उनी बिहारमा काम पाएपनि पैसा नपाएका कारण नेपालमा आएर काम गर्न थालेको बताउँछन् । घर खर्च चलाएर वा आफ्नो खर्च कटाएर पनि मासिक ३० हजार रुपैयाँ बचत हुने उनी बताउँछन् । भन्छन्–‘बिहारमा काम पाइन्छ, तर यो काममा पैसा छैन, यहाँ मासिक खाएर ३० हजार रुपैयाँ बाँच्छ ।’
कक्षा १२ सम्मको पढाइसकेकी बहिनीको बिहे खर्च जुटाउने ध्याउन्नमा रहेका विकासले बाल्यकाल मै बुबा गुमाएपछि घर खर्च टार्ने र बिहे खर्च जुटाउने जिम्मेवारी दाजु र आफ्नो काँधमा आएको उनको भनाई छ । आठ कक्षा सम्मको औपचारिक शिक्षा पछि सडक पेटीमा जुत्ता सिलाउने र पोलिस गर्ने कामलाई पेशाका रुपमा अपनाएका उनी बहिनी र दाजुको विहे सकेपछि आफू पनि विदेश जाने योजनामा रहेको बताउँछन् ।
आफूले बिहे गर्दा दहिज नलिने सोचमा रहेको बताउँदै भने–‘विदेश गएर कमाएर ल्याउँछु, अनि अलि राम्रो व्यवसाय गर्ने सोचमा छु, म चै बिहेमा दहिज लिने सोचमा छैन ।’ हाल रामका आमा र बहिनी दरभंगास्थित आफ्नै घरमा बस्छन् भने दाजुसंगै झापाको बिर्तामोडमा बसेका राम घर खर्च र दहिज को रकम जुटाउन बाटामा ग्राहक कुरेर तिनै ग्राहकले लगाएका जुत्ता सिलाउने (मर्मत) र पोलिस गर्ने काम गर्दै आएका छन् ।
भनेजति दहिज नपाएकै कारण नेपालको भित्री मधेश तथा भारतमा समेत महिलाहरुले ज्यान गुमाउनु परेका घटना समय समयमा सार्वजनिक हुँदै आएको छ । संस्कारका नाममा हुर्कदैं आएको यो विकृति विरुद्ध सबैले सचेत हुन जरुरी छ ।
दहिज जुटाउन दरभंगाका राम बिर्तामोडमा जुत्ता सिलाउँदै

































































































