बिर्तामोड १४ असार । हिजो बेलुकादेखि देखि भएको अविरल वर्षाका कारण झापाका विभिन्न ठाउँहरुमा डुवान र कटान भएको छ भने कतिपय ठाउँका वस्तीहरुबाढीको जोखिममा परेका छन् ।
खास गरी खोला किनारका बस्तीहरु डुवान तथा कटानको उच्च जोखिममा परेका हुन् । कनकाई नदीमा आएको बाढीका कारण लगभग सय घर डुबानमा परेका छन् । भद्रपुरमाको वडा नं. ६ मा पनि डुवान भएको छ भने अधिकांस गाउँ बस्तीहरु जलमग्न भएका छन् ।
रतुवा खोला दुईतिरबाट पसेपछि गौरादह–६ तेलिया डाँगी बस्ती टापुमा परिणत भएको छ भने गौरादह ४ र ५ को बीच टङ्वाका ५० घर डुवानमा परेका छन् । त्यसैगरी भद्रपुर ८ का २५ परिवार बाढीबाट विस्थापित भएको स्थानीयले बताएका छन् । त्यसैगरी शिवसताक्षी ३ र ४ मा कमलबनियानी खोलो पस्दा जोखिम बढेको छ भने शिवसताक्षी ६ नं. वडाका ४० घर डुवानमा परेका छन् । उता झापा गाउँपालिका १ को मिलनबस्तीका ९० घरमा पानी पसेको छ ।
कमल बनियानी खोलाको पानी ओभरफ्लो भएर बस्तीमा पसेपछि डुवानमा परेको शिवसताक्षी–४ सन्थाल बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन माविमा सुरक्षित राखिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
कनकाई नदीमा आएको बाढीको भंगालो बस्तीमा पसेपछि शिवसताक्षी वडा नम्बर ६ का केही घर डुवानमा परेको वडा अध्यक्ष मनोज खुलालले बताउनुभयो । झापाका मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका ठूला नदीमा पानीको सतह बढेको छ । यी नदीमा बाढी आउँदा भद्रपुर, कचनकवल, झापा, शिवसताक्षी, गौरिगन्ज, गौरादह र दमक लगायतका पालिकामा पर्ने बस्तीहरु बर्षेनी बाढीबाट प्रभावित हुँदै आएका छन् । नेपाल रेडक्रस झापाका अनुसार दर्जनौ मानव बस्तीहरु डुबानमा परेको खबर आएको छ । तर, कुन कुन ठाउँ डुबानमा परेका हुन् भन्ने यकिन छैन । विवरण संकलन जारी रहेकोले अहिले नै भन्न सकिने अवस्था नरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
उता कमल ५ स्थित चाँजु खोलामा आएको बाढीले सुँगुरका दुई वटा खोर बगाएको छ भने करिब आधा दर्जन घर कटानको उच्च जोखिममा परेका छन । स्थानीय सुँगुरपालक किसानहरु घनश्याम धिमाल र धनमाया तामाङले सुँगुरपालनका लागि बनाएका दुई वटा खोर बगाएको कमल ५ का वडाध्यक्ष लालबहादुर विष्टले जानकारी दिनुभयो । बाढीका र कटानका कारण कमल गाउँपालिकाका विभिन्न बस्तीहरु डुबान र कटानको जोखिममा परेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
त्यस्तै स्थानीय बनियानी खोलामा आएको बाढीका कारण झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ बस्तीहरु डुबानमा परेका छन । निर्माणाधिन हुलाकी राजमार्ग आसपासका बस्तीहरु बढी डुबानमा परेका हुन । हुलाकी मार्गमा पूल तथा कल्भर्टहरु निर्माण गर्दा पानीको पर्याप्त निकास हुने व्यवस्था नमिलाइएका कारण सो खोलाको आसपास चौरी, धनगाढा लगायतका बस्तीहरु डुबानमा परेका स्थानीयहरुको भनाई छ । स्थानीयबासीहरुका अनुसार त्यहाँस्थित बनियानी र कमल खोलामा करिब ३० बर्ष यताकै ठुलो बाढी आएको स्थानीय बताउँछन् ।
शिवसताक्षी ४ का १०६ जनालाई सुरक्षित स्थानमा सारियो, झापाका धेरै बस्तीहरु जोखिममा

































































































