बिर्तामोड २७ बैशाख । बिर्तामोड नगरपालिकामा नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडमा भौतिक पूर्वाधार,कृषि, पशुपालन, शिक्षा, विपन्न आवास लगायतका क्षेत्रमा उल्लेखनिय प्रगति भएको बताउनु भयो ।
चुनावी प्रचार अभियानका क्रममा आज मंगलबार वडा नम्बर ६ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै निवर्तमान नगर उपप्रमुख समेत रहनु भएकी उम्मेद्वार प्रसाईले विगत ५ वर्षको अवधिमा धेरै प्रगति भएको बताउनु भयो । उहाँले नेकपा एमालेले बिर्तामोडमा १० वटै वडा जोड्ने रिङ्गरोडको आवश्यकता भएको महसुस गरेर अवधारणा ल्याएको बताउनु भयो । यस्तै नगरभित्र रहेका उद्यान पार्क, ऐतिहासिक स्थलहरुलाई पर्यटन, उद्यमशिलतासंग जोडेर उद्योग र समृद्धितिर अघि बढाउनु पर्ने बताउनु भयो ।
बैदेशिक रोजगारका कारण मुलुक तहस–नहस हुने अवस्थामा रहेकोले यहाँ भएका साना उद्योगहरुलाई विकास गर्दै कृषि क्षेत्रलाई पनि प्रविधिमा जोडेर व्यवसायीकरुपमा अगाडी बढाउनु पर्ने बताउनु भयो । उम्मेदवार प्रसाईले पर्यटन र होटल मेनेजमेन्ट अध्यनका लागि बिर्तामोडमा नाथुन कलेको स्थापना गरेको पनि जानकारी दिनु भयो ।
नेकपा एमालेको सरकारले आयोग गठन गरेर जग्गा पहिचान गरि भूमीहिन सुकुम्वासीको लगत संकलन कार्य सुरु गरेको तर परमादेशी सरकारले यसलाई विगठन गरीदिएको उम्मेदवार प्रसाईले बताउनु भयो । बिर्तामोडमा परेका राष्ट्रिय स्तरका योजनासमेत परमादेशी सरकारले खारेज गरेको बताउनु भयो ।
यस्तै उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले विजयी पश्चात आफ्नो जिम्मेवारीमा रहनेकामहरु इमान्दारीताका साथ पुरा गर्ने प्रतिवद्वता जनाउनु भयो । वडानम्बर २का निवर्तमान वडाध्यक्ष समेत रहनु भएका संग्रौलाले यस अघिका अधुरा कामहरु पुरा गर्ने र बाँकी नयाँ योजनालाई अघि बढाउने बताउनु भयो । कृषि,पशुपंछिको क्षेत्रमा किसानहरुलाई अनुदानको व्यवस्था अझै बढाएर लैजाने समेत बताउनु भयो ।
नेकपा एमालेको तर्फबाट वडा नम्बर ६को वडाध्यक्षमा बुद्विराम भट्टराई,खुल्ला सदस्यमा महिला तर्फ आइतमाया लिम्बु सेर्मा,दलित महिला सदस्यमा पदमकुमारी दियाली,सदस्यमा खेमनाथ अधिकारी र देवी प्रसाद नेपाल उम्मेदवार रहनु भएको छ । प्रचार प्रसारको अन्तिम दिन एमाले बिर्तामोड नगरकमिटिले वडा नम्बर ६का स्यालडाँगी,पिपलचोक,बुट्टाबारी लगायतका क्षेत्रमा कोणसभा सम्पन्न गरेको छ । प्रचार प्रसारका क्रममा टोलटोलमा रहेका ज्येष्ठ नागरिकहरुलाई खादा लगाएर सम्मान समेत गरिएको थियो ।
विगत ५ वर्षमा विर्तामोडमा उल्लेखनीय प्रगति भयो : प्रसाई

































































































