झापा १२ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवार बन्नका लागि विभिन्न प्रदेशका ७ जना प्रदेश सांसदले पदबाट राजीनामा दिएका छन् ।
राजनीनामा दिनेमा १ नम्बर प्रदेशबाट एमालेका २ जना, बागमती प्रदेशबाट नेकपा एमालेका २ जना, मधेश प्रदेशबाट जसपाका र कांग्रेसका गरी २ जना, र लुम्बिनी प्रदेशबाट माओवादी केन्द्रबाट १ जना सांसदले राजीनामा दिएका हुन् ।
१ नम्बर प्रदेशबाट राजीनामा दिनेमा एमालेबाट निर्वाचित सांसद इलाम १ (२) बाट निर्वाचित काजीमान कागते र झापा १ (२) बाट निर्वाचित गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका १ नम्बर प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
राजीनामासंगै कागतेले इलामको सूर्योदय नगरपालिकाको प्रमुख र बुढाथोकीलाई झापाको मेचीनगर नगरपालिकाको प्रमुखका लागि मनोनयन दर्ता गराएका छन् । त्यस्तै बागमती प्रदेशका एमालेका दुई सांसदहरुले पनि महानगरको मेयर बन्नका लागि भन्दै पदबाट राजीनामा दिएका छन्। प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार चितवनको भरतपुर महानगरपालिकाको मेयर बन्नका सांसद विजय सुवेदी र काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिनका लागि सांसद केशव स्थापितले पदबाट राजिनामा दिएका हुन् । मेयर बन्नका लागि भन्दै मधेश प्रदेश सभाका कांग्रेस र जसपाका २ जना सांसदहरूले पनि पदबाट राजीनामा दिएका छन् ।
रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित जसपाका सांसद शेषअबुल कलाम आजाद र सर्लाहीको ४ (२) बाट निर्वाचित नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र महतो कुशवाहाले राजिनामा दिएका हुन् ।
यस्तै लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्रका बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित सांसद दिपेश थारुले पनि सांसद पदबाट राजीनामा दिएका छन्। सांसद थारूले राजापुर नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि राजीनामा दिएका हुन्। कर्णाली प्रदेशमा हालसम्म कुनै सांसदले राजीनामा नदिए पनि ३ जना सांसदका स्वकीय सचिवले राजीनामा दिएका छन्। प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार एमालेका तीनजना सांसद यमलाल कँडेल, कौशिलादेवी खत्री र करवीर शाहीका स्वकीय सचिवहरूले स्थानीय चुनावमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार एमालेका सांसद नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका सांसद तुलाराम घर्तीका स्वकीय सचिवले पनि राजीनामा दिएका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि एमालेका दुईजना सांसदका स्वकीय सचिवले राजीनामा गरेका छन् । एमालेका तर्फबाट पूर्वमन्त्री समेत रहेका पठान सिंह बोहोरा र अर्का एक सांसदका स्वकीय सचिवले राजीनामा दिएका प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।
पालिका प्रमुख बन्न सात सांसदको राजीनामा

































































































