विर्तामोड २३ भदौ । गएराति झापाका दुई स्थानमा भएको बम विस्फोटको जिम्मा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ ।
झापाको चारपाने र गौरादहमा मध्यरातमा एकैपटक भएको बम विस्फोटको जिम्मा प्रतिबन्धित दल विप्लव माओवादीले लिएको हो । स्थानीय तहमा भएको चरम भ्रष्टाचारलाई चुनौति दिन वम विस्फोट गराइएको विप्लव माओवादीका झापा सेक्रेटरी मनिषले टेलिफोनमार्फत सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।
यसैगरी सर्वसाधारणको रकम लिएर सहकारी सञ्चालकहरु मालिक बनेको र सामान्य आयस्रोत भएका नागरिकलाई चरम आर्थिक शोषण गरिएको गुनासो आउन थालेपछि आफूहरुले सरकारीमा बम विस्फोट गराएको सञ्चारकर्मीसँगको टेलिफोन संवादमा मनिषले बताएका हुन् ।
जनताको पैसामा मस्ती गर्ने जनप्रतिनिधि, कर्मचारी र सहकारीका व्यक्तिलाई जनताकै माग अनुसार कारबाही स्वरूप गौरादह नगरपालिकाको गाडी र बिर्तामोडको सहारा नेपाल सहकारी संस्थाको भवनलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला सेक्रेटरी मनिषको भनाई छ ।
आइतवार मध्येराति झापाको चारपाने र गौरादह नगरपालिकामा बम विस्फोट भएको थियो । विस्फोटबाट सहारा नेपालको निर्माणाधीन सहकारी भवनको गेट, गार्ड रुम, र भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।
यसैगरी विस्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको नगरपालिकाको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सहारा नेपालको निर्माणाधीन भवनमा जडित सिसि टि.भि. क्यामेरा फुटेजको आधारमा बम विस्फोट गराएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
विहान ४ बजे नियन्त्रणमा लिइएका उनीहरुमाथि अनुसन्धान भइरहेकोले नाम खुलाउन नमिल्ने प्रहरीले जनाएको छ ।
प्रतिबन्धित दल विप्लब माओवादीले विर्तामोड नगरपालिकाको ८ र ९ नम्बर वडा कार्यालयमा बम विस्फोट गराएको एक महिना नवित्तै झापाका दुई अलग–अलग स्थानमा एकसाथ विस्फोट गराएको हो । यसअघि गत साउन २८ गते विर्तामोड नगरपालिकाको ८ र ९ नम्बर वडामा बम विस्फोट भएको थियो ।
विप्लव समूहले लियो जिम्मा,

































































































