झापा । राष्ट्रिय सौन्दर्यकर्मी युनियनको चौथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पवि गुरुङ निर्वाचित हुनुभएको छ ।
समितिको उपाध्यक्षमा अन्जु गुरुङ र महासचिवमा सुना जोशी निर्वाचित हुनुभएको छ ।
पोखरामा सम्पन्न केन्द्रीय महाधिवेशनबाट १ नं. प्रदेशबाट केन्द्रीय उपमहासचिवमा ममता प्रधान निर्वाचित हुँदा केन्द्रीय सचिवमा झापा विर्तामोडकी धनु कन्दङ्वा निर्वाचित हुनुभएको छ । कन्दङवा यसअघि केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

त्यसैगरी लुम्बिनी प्रदेशका लागि निर्मला मल्ल, कर्णाली प्रदेशका लागि राधा श्रेष्ठलाई चयन गरेको छ । समितिको सदस्यहरुमा गीता कडरिया मैनाली, मिना गुरुङ डङ्गोल, मिना लामासहित २३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।
महाधिवेशनमा सौन्दर्यकर्मी व्यवसायीदेखि जिफन्टका अध्यक्षले सौन्दर्य व्यवसायले मुलुकको सम्ृद्धिमा महत्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए ।
साथै उनीहरुले सौन्दर्यकलालाई विद्यालयतहदेखि स्नातकोत्तर तहसम्मको पाठ्यक्रममा समेट्नु पर्ने बताउँदै त्यसका लागि जिफन्टले सरकारलाई दबाब दिने जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले बताउनु भयो ।
अध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद मिना गुरुङले इच्छाशक्ति र आत्मबल भए कुनै पनि काम गर्न असंभव नहुने बताउनु भयो ।

































































































