शरणामती । झापाको झापा गाउँपालिका–६ शरणामतीमा सम्पन्न प्रदेश १ स्तरीय अन्तरपालिका दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक झापा गाउँपालिकाले जितेको छ । उसले उपाधि दाबेदार भोजपुरको आमचोक गाउँपालिकालाई २५–२२, २५–२३, २१–२५ र २५–१५ ले पराजित गर्दै उपाधि जितेको हो ।
जीतसँगै उपाधि विजेता झापा गाउँपालिकाले नगद १ लाख एकाउन्न हजार र ट्रफी हात पारेको छ । त्यस्तै उप–विजेता आमचोकले नगद १ लाख हात पार्यो । फाइनल खेलको म्यान अफ दि म्याच पराजित आमचोकका रोमन बस्नेत भए । उनले नगद एक हजार हात पारे । प्रतियोगिताको बेष्ट सेटरको उपाधि विजेता टोलीका सागर किरण भट्टराईले हात पारे भने बेष्ट स्पाइकरको उपाधि आमचोकका रोमन बस्नेतले हात पारे । त्यस्तै बेष्ट सर्भरको उपाधि झापाका रोशन शिवाकोटी र बेष्ट डिफेन्सको उपाधि झापाकै गणेश कट्वालले हात पारे भने उदीयमान खेलाडीको उपाधि आयोजक झापा गाउँपालिकाकै अनिष गणेशले हात पारे ।
उनीहरुले जनही नगद ५ हजार ५ सय प्राप्त गरे । त्यस्तै प्रतियोगिताको बेष्ट ब्लकर र सर्बोत्कृष्ट खेलाडीको उपाधि आयोजक झापाकै रोहित शिवाकोटीले हात पारे । उनले नगद सोह्र हजार पाँच सय हात पारे । प्रतियोगितामा प्रदेश एकका १६ टिमको सहभागिता रहेको थियो । जनता माविको खेल मैदानमा सम्पन्न प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको थियो ।
खेल समितिका अध्यक्ष तेजप्रसाद भट्टराईले अध्यक्षता समापन भएको कार्यक्रममा प्रमुख अतिथी समेत रहेका पालिका प्रमुख जयनारायण साहले विजेता–उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए। समितिका सचिव मोहन मिश्रले संचालन गरेको कार्यक्रममा समाजसेवी, बुद्धिजिवी, स्थानीय लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो।
अन्तरपालिका दोश्रो अध्यक्ष कपको उपाधि आयोजक झापा

































































































