विर्तामोड ७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्ट सिद्धान्त बोकेका दललाई मत दिएर देशमा विकास र समृद्धिको सपना नदेख्न युवाहरुलाई सुझाव दिनुभएको छ ।
विर्तामोडको अग्रसेन भवनमा आज आयोजित झापा र झापालीलाई सम्मान, विश्वप्रकाश शर्माका तर्फबाट आभार कार्यक्रममा बोल्दै नेता शर्माले भन्नुभयो–‘कम्युनिष्ट सिद्धान्त बोकेका दलको शासन, विकास र जनताप्रतिको उत्तरदायित्व हेर्न उत्तर कोरियालाई हेरे पुग्छ, कम्युनिष्टलाई भोट दिएर दक्षिण कोरियामा रोजगारीको सपना देख्नु ब्यर्थ छ।’ उत्तर कोरियामा कम्युनिष्ट अधिनायकवादी शासन ब्यवस्था रहेको र त्यहाँका जनताले बोल्न समेत नपाउने अवस्था रहेको उहाँले प्रष्ट्याउनुभयो ।

अहंकारले अधोगति निम्त्याउने उल्लेख गर्दै नेता शर्माले के.पी. ओलीतर्फ संकेत गर्दै ओली नेतृत्वको सरकार आफ्नै अहंकारका कारण ढलेको बताउनुभयो । ‘कांग्रेसले विवेकलाई केन्द्रमा राख्छन् भन्ने उदाहरण महाधिवेशनमा देखियो’–उहाँले भन्नुभयो–‘कम्युनिष्ट प्रतिनिधिले महाधिवेशनमा विवेक नपु¥याउँदा कम्युनिष्ट आन्दोलन विमुख भएर किनारातर्फ पुग्दैछ ।’
बहुदलीय संसदीय ब्यवस्था आफैंमा गलत नभएको टिप्पणी गर्दै उहाँले राजसंस्था फर्काउने भ्रम नबोक्न सबैलाई सचेत गराउनुभयो । कांग्रेसको काँधमा बसेर कांग्रेसलाइ नै बन्दुक ताक्ने प्रवृत्ति राजसंस्थामा बसेकाहरुले देखाएपछि कांग्रेस राजसंस्थाको विपक्षमा उभिएको स्पष्ट पार्दै नेता शर्माले राजतन्त्र र कम्युनिष्ट अधिनायकवादले देश अधोगतितिर जाने दावी समेत गर्नुभयो ।
वी.पी.ले ६० बर्षअघि सुन्दरीजल परिसरमा रोपेको कपुरको विरुवामा पानी हालेर र आफूले रुद्राक्षको विरुवा रोपेर लिएको संकल्प विर्सिएको छैन भन्न जीतपछि पनि आफू त्यहाँ पुगेको चर्चा गर्दै नेता शर्माले प्रसंशा भन्दा आफ्ना कमीकमजोरी दर्साएर सुझाव, सल्लाह र खबरदारी गरिरहन कार्यकर्तालाई आह्वान गर्नुभयो । सोही सुझावका आधारमा आफू रुपान्तरित भएर पार्टीका काममा लाग्ने उहाँको भनाई थियो ।
कांग्रेस पहिलोपटक निर्वाचनमा जादाखेरि नै ‘आफूसँग प्रतिष्पर्धा गर्न आऊ’ भन्ने लोकतान्त्रिक संस्कार वी.पी.ले सिकाउनुभएको भन्दै नेता शर्माले आन्तरिक चुनावमा सोही लोकतान्त्रिक पद्धति अपनाएर गरिएको प्रतिष्पर्धा अब सकिएको बताउनुभयो ।
‘अब प्रतिष्प्रर्धा सकियो, हामी जहाँ थियौं त्यही छौं, कोही धर्ती र आकाशमा पुगेको छैन, हामीले टेकेको माटो एउटै छ । चुनावमा कसैले जिम्मेवारी पाए होला, कसैले पाएनन् होला । तर जिम्मेवारी पाएका सबैले सबैलाई सघाएर जानुपर्छ, कांग्रेसलाई बलियो शक्तिका रुपमा स्थापित गर्नुपर्छ’–उहाँले भन्नुभयो–‘कांग्रेसलाई रुपान्तरण गर्न सक्छन् भनेर पाएको मत खेर जान दिने छैन । यो मत गुट र ब्यक्ति हेरेर पक्कै आएको होइन, रुपान्तरणको नारा र एजेण्डा हेरेर नै आएको हो ।’ उमेरले नभई एजेण्डाका आधारमा जुनसुकै उमेरका ब्यक्ति पनि नेतृत्वमा पुग्न सक्ने बताउँदै उहाँले प्रविधि, प्रवृत्ति र संगठनमा रुपान्तरणको खाँचो औल्याउनुभयो । ‘कांग्रेस कार्यकर्ताले आफू सानो, नम्र, मिलनसार, संयमित, सरल भएर अघि बढ्ने हो’–शर्माले भन्नुभयो–‘सरल र इमान्दार भएर नै सबैको मन र मत जित्न सकिन्छ ।

‘झापा विद्रोहको भूमि हो, झापाले उठाएको विचार र आन्दोलनले यसअघिका राजनीतिक घटनाक्रममा सार्थकता पाएको चर्चा गर्दै नेता शर्माले २०२८ को कम्युनिष्ट विद्रोहप्रति वैचारिक असहमति रहेको दोहो¥याउनुभयो । सबै जातजाति, भूगोल, क्षेत्र को प्रतिनिधित्व आफ्नो मन्त्री मण्डलमा गराएर वी.पी. कोइरालाले समावेशी सहभागिता प्रारम्भ गरेको इतिहास दर्साउँदै नेता शर्माले कांग्रेसले एजेण्डा र ब्यवहार दुवैमा समावेशी सिद्धान्त अपनाएको दावी गर्नुभयो । सबै जातजाति, भाषाभाषीहरुको संस्कार र संस्कृतिको संरक्षण गरेर सबैको समान विकास गर्नुपर्नेमा उहाँको जोड थियो ।
कांग्रेसको लिएको विकास, समृद्धिको नीतिबाट नै नेपाली जनताले गाउँगाउँमा स्वास्थ्य सेवा, शिक्षा, सूचना, सञ्चारको सुविधा प्राप्त गरेको दावी गर्दै उहाँले कांग्रेस नेतृत्वको सरकारले गरेका विकासका कामका बारेमा जनतलाई सुसुचित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य गोपालकुमार बस्नेतले मुलुक अब निर्वाचनमा होमिएको चर्चा गर्दै कांग्रेसका सबै कार्यक्रमलाई अब चुनावकेन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस झापाका पूर्व उपसभापति राम कट्टेल, क्षेत्रीय सभापतिहरुका तर्फबाट इन्द्रबहादुर बुढाथोकी, जनप्रतिनिधिका तर्फबाट रत्ना राजवंशी, प्रदेश क्षेत्रीय सभापतिहरुका तर्फबाट जीवन राई र शहीद परिवारका तर्फबाट युवराज विमली लगायतले मन्तब्य राख्नुभएको थियो । नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन तेजप्रसाद चम्लागाई र प्रेम सम्बाहाम्फेले गर्नुभएको थियो ।

































































































