नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै केन्द्रीय समितिमा आकांक्षीहरु बढिरहेका छन् । पुरानो पुस्ताले अभिभावकीय भूमिकामा बसेर युवा पुस्तालाई स्थान दिइनुपर्ने बहस राष्ट्रिय राजनीतिमा सबै दलभित्र चलिरहँदा झापाका युवा पुस्ताका महिला नेतृहरुले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् ।
संविधानसभामा दुईपटकसम्म सदस्यको भूमिकामा रहेर संसदीय फाँटको लेखा समिति संयोजकको भूमिका कुशलतापूर्वक संहालेकी युवा नेतृ उषा गुरुङले आदिबासी/जनजाति महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेकी छन् ।
२०४८ सालदेखि झापाली राजनीतिमा सक्रिय नेतृ हुन्–उषा । बहुदल प्राप्त भएपछि पहिलो पटक २०४८ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेस झापाका पूर्व सभापति एवं समाजवादी चिन्तक सि.के. प्रसाई उम्मेद्वार थिए । त्यसबेला उनी तोपगाछीको सरानपाडामा बस्थिन् र नेपाल महिला संघको स्थानीय समितिमा आबद्ध थिइन् । एकबर्षे छोरालाई काखमा च्यापेर सि.के. प्रसाईको चुनावी कार्यक्रममा सहभागी भइन् उनी । दिनभर कार्यक्रममा सहभागी भएर साँझमा घर पुग्दा नपुग्दै उनको घर घेरे– कम्युनिष्ट कार्यकर्ताले । ‘कारण केही थिएन, बस् म कांग्रेस थिएँ’–उषाले उक्त घटना सम्झदै भनिन्–‘कांग्रेस भएकै नाममा, विचार फरक हुँदैमा कम्युनिष्टहरुले मार्नेरहेछन् भन्ने लाग्यो, कालो कम्युनिष्टसँग एक्लै भिड्छु भन्ने आँट जागेर आयो । घरमा एकबर्षको काखे छोरो र म मात्रै थियौं, कत्ति बोकेर दैलामा उभिएँ । भरे उनीहरु आफैं हिडे, मेरो राजनीतिक टर्निङ पोइन्ट त्यही थियो ।’ पुस्तैदेखि कांग्रेसको विचारसँग प्रभावित उनले उक्त घटनापछि आफू कांग्रेस पार्टी र यसका संगठनप्रति झन् प्रतिबद्ध भएको सुनाइन् । त्यसो त राजनीति गर्छु कि गर्दिन भन्ने अवस्थामा भएको उक्त घटनाले उनलाई सशक्त रुपमा राजनीतिमा लाग्न प्रेरित ग¥यो रे ।
बुवा गणेशबहादुर गुरुङ इण्डियन आर्मी । आमा नन्दकुमारीको स्वभाव निकै क्रान्तिकारी । पर्यटन एवं होटल ब्यवसायमा संलग्न थियो र अहिले पनि छ –उषाको परिवार । पार्टीको बैठकदेखि नेताहरु आउँदा–जाँदा बास पनि बस्थे उनीहरुले चलाएको काँकरभिट्टास्थित होटल ढाकामा । त्यहाँबाट पनि राजनीति बुझेको, कांग्रेसको नीति, विचार र सिद्धान्तप्रति झन् प्रतिबद्ध हुन बल मिलेको उनले बताइन् । ‘आमाको क्रान्तिकारी स्वभावले मलाई राजनीतिप्रति प्रेरित ग¥यो’–उनले भनिन्–‘मेरो नाताले बाजे पर्ने बलबहादुर गुरुङलाई प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण इलामको सातखाल्डेमा जिउँदै पुरिएको थियो । यी घटनाहरुले मलाई कांग्रेसप्रति झन् प्रतिबद्ध र दृढ भएर लाग्ने प्रेरणा प्राप्त भयो ।’

इलाम सातखाल्डेको छुट्टै इतिहास छ–कांग्रेसको राजनीतिमा । प्रजातान्त्रिक आन्दोलनका क्रममा मुक्ति सेनाको अभ्यास हुन्थ्यो सातखाल्डे, माइपोखरी आसपासको जंगलमा–२०१८/०१९ सालतिर । मुक्तिसेनालाई तह लगाउने नाममा तत्कालीन सरकार मातहतको सेनाले प्रजातान्त्रिक आन्दोलनमा लागेका सात युवाहरुलाई पक्राऊ गरी आफैं खाल्डो खन्न र खाल्डोभित्र पस्न लगाएर २०१९ सालमा जिउँदै पुरेको जानकारहरु बताउँछन् । त्यहीदेखि उक्त स्थान सातखाल्डेका नामले परिचित भएको र अहिले उक्त ठाउँलाई संरक्षण गरेर पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्ने प्रयत्न पनि भइरहेको छ । यो प्रसङ्ग यहाँ यति नै ।
२०५०/०५१ सालतिर तरुण दल मेचीनगरको सदस्य, २०५२/०५३ मा तरुण दल झापाको सदस्य र उक्त कार्यकाल सकिएलगत्तै तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी उषाको परिवार द्वन्द्वकालमा समेत माओवादीको ‘टार्गेट’ मा प¥यो । ‘२०५९ सालमा दुईदर्जन बढी माओवादी कार्यकर्ता हरियारसहित मेरो मेचीनगर–६ स्थित घरमा प्रवेश गरे र ‘सफाय’को सजाय सुनाए । ‘रातभर कुरुक्षेत्रको मैदान जस्तै तनावग्रस्त अवस्था बन्यो’–उनले भनिन्–‘तरुण दलमा रहँदा तत्कालीन माओवादीले उठाएको चन्दाको विरुद्ध बोलेकै कारण त्यसबेला पनि म माओवादीको ‘टार्गेट’ मा परें । तर रातभरको रस्साकस्सीपछि अन्ततः माओवादीलाई भगाउन सफल भएँ ।’ उनका अनुसार त्यसबेला तरुण दलले माओवादीले बन्दुकको त्रास देखाएर उठाउँदै आएको चन्दाको विरोधलाई अभियानकै रुपमा चलाएको थियो । ‘कम्युनिष्टहरुको ज्यादतीले मलाई कांग्रेसको विचारप्रति प्रतिबद्ध बन्न थप बल मिलिरह्यो ’–उषाले भनिन् ।
२०६४ साल र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटाबाट संविधानसभा सदस्यमा चयन भईन् । संसदमा रहँदा संसदीय समिति अन्तरगत लेखा समितिको नेतृत्वको अवसर पाएकी उनले आर्थिक सुशासन र पारदर्शिताका लागि बुलन्द आवाज उठाइन् । त्यसो त संविधानसभामा रहँदा उत्पीडित , उपेक्षित समुदाय, अपाङ्ग र महिलाहरुका आवाजलाई बुलन्द पार्दै संविधानमार्फत संबोधन गर्ने काममा समेत सक्रियता देखाइन् । नेपालको संविधानमा जनयुद्ध लेख्ने कि नलेख्ने भन्ने बहस निकै लामै समय चल्यो, संसदीय समितिमा भएको उक्त बहसमा उषासहितका कांग्रेसी सांसदहरुले जनयुद्ध होइन, सशस्त्र द्वन्द्व लेख्नुपर्ने विषयमा महिनादिनसम्म बहस नै चलाए । ‘अन्ततः भोटिङमार्फत जनयुद्ध र सशस्त्र द्वन्द्वको विषयमा निर्णय लिदा सशस्त्र द्वन्द्वको पक्षमा बहुमत जुट्यो ।’–उषाले भनिन्–‘अहिलेको संविधानमा जनयुद्ध भन्ने शब्द छैन ।’
स्पष्ट विचार राख्न सक्ने हक्की र मिजासिलो स्वभावले उनलाई नेपाली कांग्रेस कार्यकर्तामाझ लोकप्रिय नेतृका रुपमा उभ्याएको छ । संसदमा रहँदा र संसदीय समितिमा रहँदा गरेको कामकै कारण उनी देशभर चिनिइन् । पार्टीका हरेक गतिविधिमा सक्रिय, पार्टीको नीति, विचार र सिद्धान्तप्रति कटिबद्ध उनी एक सफल ब्यवसायी पनि हुन् । ‘होटल ग्रिन प्यालेस काँकरभिट्टा’को प्रोप्राइटर समेत रहेकी उनी राजनीति र ब्यवसायलाई सँगसँगै अगाडि बढाएर आर्थिक रुपमा सक्षम भएमात्रै महिला हिंसाको अन्त्य संभव हुने बताउँछिन् ।
नेपाली कांग्रेसको १२ औं, १३ औं र १४ औं महाधिवेशनमा झापाबाट महाधिवेशन प्रतिनिधिको रुपमा केन्द्रीय निर्वाचनमा सहभागी भइसकेकी उनले १४ औं महाधिवेशनमा आइपुग्दा आदिबासी/जनजाति महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी छन् । सबै महाधिवेशन प्रतिनिधिको साथ, सहयोग र अमूल्य मतको अपेक्षा गर्दै उनले आफूलाई केन्द्रीय समितिमा रहेर कार्य गर्न अवसर दिन पनि नेता–कार्यकर्तासँग अपिल गरेकी छन् ।

































































































