चारआली २४ मंसीर । केन्द्रगत साधारणसभामा व्यस्त स्वरोेजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले चारआली र धुलावारी सेवा केन्द्रको सधारणसभा सम्पन्न गरेको छ ।
कोरोना संक्रमणका कारण सबै सदस्य एकै ठाउँ भेला गर्ने संभावना नभएपछि अन्य सहकारी संस्थाले झैं केन्द्रगत साधारणसभा गर्दै आएको स्वरोजगारले बनियानी, भद्रपुर, गरामनी, मेचीनगर, बाहुनडाँगी हुँदै चारआली र धुलावारी सेवा केन्द्रमा केन्द्रगत सभा सम्पन्न गरेको बताइएको छ ।
कृष्णप्रसाद देवकोटाको अध्यक्षता तथा मेचीनगरपालिका वडा नं. १३ का वडाध्यक्ष कृष्णप्रसाद सिग्देलको प्रमुख आतिथ्यमा चारआली सामुदायिक भवनमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि सिग्देल, बिशिष्ट अतिथि झापा जिल्ला उद्यमी संघकी अध्यक्ष निर्मला चौहान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी सुरेन्द्र बुढाथोकीको अध्यक्षतामा धुलावारी सेवा केन्द्रमा सम्पन्न केन्द्रगतसभामा नेपाल सहकारी बैंकका सञ्चालक दुर्गा सापकोटा, धुलावारी खानेपानी संस्थाका महासचिव कञ्चन तामाङ लगायतले मन्तव्य राख्दै सहकारी संस्थाको माध्यमबाट महिलाहरुको आर्थिक स्वाबलम्बनमा टेवा पुगेको धारणा राखेका थिए । कार्यक्रम मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो ।
दुवै केन्द्रगत सभामा स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव बस्नेतले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन सचिव मनोज भट्टराईले गर्नु भएको विभागीय प्रमुख रुपन चाम्लिङले जानकारी दिनुभयो ।