विर्तामोड १८ मंसीर । विर्तामोडमा मुख्य कार्यालय रहेको साना–मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिक साधारणसभा आज सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिक साधारणसभामा संस्थामा आवद्धमध्येबाट विभिन्न विधामा उत्कृष्ट १३ जनालाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।
विर्तामोडस्थित अतिथि सदनमा आयोजित कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरु प्रभु साह, मेनुका पोखरेल र सुधा अटल, उत्कृष्ट ऋण कारोबार गर्ने रेवती दर्जी, दुर्गा चम्लागाँई र दुर्गा थपलिया सम्मानसहित पुरस्कृत हुँदा बालबालिका लक्षित खुत्रुके बचततर्फ यमुना बस्नेत र आरुसी खतिवडालाई सम्मान पत्रसहित शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
त्यस्तै संस्थाका शेयर सदस्य मोहन भट्टराईले आफ्ना दिवंगत पिता र पुत्रका नाममा स्थापना गरेको अक्षयकोषको ब्याजबाट संस्थामा आवद्ध शेयर सदस्यका छोराछोरी मध्ये एसइइ उत्कृष्ट अदिती बस्नेत,सुमित अधिकारी र ब्याचलर उत्कृष्ट भुवन अधिकारीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी उत्कृष्ट कर्मचारीतर्फ कनकाई सेवा केन्द्रका प्रमुख गीता शर्मा ढुङ्गाना र मुख्य कार्यालयमा कार्यरत मुना गुरागाँईलाई सम्मानसहित पुरस्कृत गरिएको सचिव चन्द्रकुमार भट्टराईले जानकारी दिनु भयो ।
संस्थाका उपाध्यक्ष रामलोचन न्यौपानेले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, विशेष अतिथि विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल र संस्थाका पूर्व अध्यक्ष खड्गप्रसाद ओडारीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सचिव चन्द्रकुमार भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
साधारणसभामा अध्यक्ष, कोषाध्यक्ष र लेखा प्रतिवेदकले प्रस्तुत गरेको प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।
कोभिड–१९ का कारण वित्तीय समस्या झेलेको संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा शेयर पूँजीमा अघिल्लो आवको भन्दा २९.९७ प्रतिशतले बृद्धि भइ छ करोड १५ लाख ३७ हजार सातसय रुपैयाँ पुगेको छ भने सोही अवधीमा कर्जा लगानी ४३. ९०६ प्रतिशतले बृद्धि भई २४ करोड, ५७ लाख ९९ हजार छ सय २६ पुगेको अध्यक्ष बस्नेतद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ । संस्थाकोे आव २०७६÷०७७ मा चारकरोड ७३ हजार ४४ लाख आठसय शेयर पूँजी हुँदा १७ करोड आठलाख एकहजार पाँचसय ७३ रुपैयाँ लगानी गरेको थियो ।
त्यसैगरी आव २०७६÷०७७ मा ११ करोड ५६ लाख ९६ हजार पाँचसय ८९ मा ६२.२१ प्रतिशतले बृद्धि भइ गत वर्ष १८ करोड ७८ लाख ७७ हजार ६६ रुपैयाँ पुगेको संस्थाद्वारा वितरित प्रतिवेदनमा उल्लेख गरिएको छ । सोही समयमा दुईहजार आठसय १५ जना सदस्यमा २६. ६१ प्रतिशतले बृद्धि भइ तीन हजार पाँचसय ५३ जना पुगेका छन् ।
गत कात्तिक २४ गतेदेखि २७ गतेसम्म सेवा केन्द्रगत साधारणसभा सम्पन्न गरेको संस्थाले आज साधारणको निर्णय प्रमाणीकरण तथा बैठक पुस्तिका अनुमोदन र साधारण सभा समापन कार्यक्रम सम्पन्न गरेको हो ।
कोभिड महामारीमा आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गर्नुका साथै विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगतका काम गर्दै आएको साना मझौला सहकारी संस्थाले मुख्य कार्यालय बाहेक दुईवटा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ भने विर्तामोड ३ स्थित सैनिक मोडमा कलेक्शन सेन्टर सञ्चालन गर्ने प्रस्ताव गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
साना–मझौलाको ११ औं बार्षिक साधारणसभा सम्पन्न

































































































