विर्तामोड १७ मंसीर । हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार’ भन्ने नाराका साथ ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।
दिवसकै अवसरमा झापा नेत्रहीन संघको आयोजनामा विर्तामोडमा विविध कार्यक्रम सम्पन्न भएको छ ।
झापा नेत्रहीन संघका अध्यक्ष यशोदा बरालको अध्यक्षता तथा विर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यापाने प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न दाताको सहयोगमा संघमा आवद्ध अपाङ्गता भएका व्यक्तिहरुलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै पोषणयुक्त सामग्री र न्यानो कपडा वितरण गरिएको थियो ।
सो अवसरमा आफ्नो छोरा प्रज्वल विमलीको जन्मदिनको अवसरमा विर्तामोडका व्यवसायी ओमकृष्ण विमली र पार्वता विमलीले संघलाई नगद ११ हजार रुपैयाँ आर्थिक सहयोग समेत गर्नुभएको संघका सचिव भोजकुमार तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा मनोज रौनिया, राधारानी कुर्ता सुरुवाल पसल र शत्रुधन रौनियारले उपलब्ध गराएका ज्याकेट, हाइनेक, पाइन्ट तथा कुर्ता सुरुवालसहित ४२ थान कपडा समेत वितरण गरिएको संयोजक विर्तामोड नगरपालिकाका नगर परिषद सदस्य द्रौपदी गणेशले जानकारी दिनुभयो ।
भोजकुमार तामाङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, विशेष अतिथि मेची आँखा अस्पतालका व्यवस्थापक सुरज रौनियार, द्रौपदी गणेश, दाता पार्वता खरेल विमली, संस्थाका सल्लाहकार खेम रेग्मी, कनकाई नगरपालिकाका महिला विकास शाखा प्रमुख टिका खतिवडा लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
उपाध्यक्ष होमनाथ राजवंशीले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश दिलकुमार राजवंशीले गर्नुभएको थियो भने पवित्रा तामाङले गीत प्रस्तुत गर्नु भएको थियो ।
यसअघि विहान विभिन्न नारा लेखिएका प्लेकार्ड र नौमती बाजासहितको र्यालीले विर्तामोड परिक्रमा गरेको थियो । विर्तामोडस्थित दुर्गा मन्दिरबाट शुरु भएको र्यालीले नगर परिक्रमा गरी विर्ताबजारस्थित संघको कार्यालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
अपाङ्गता दिवसमा विविध कार्यक्रम, छोराको जन्मोत्सवमा सहयोग

































































































