झापा । दैनिक कोरोना (कोभिड) संक्रमण दरका आधारमा झापा उच्च विन्दुमा पुगेको छ । देशभरका ७७ जिल्ला मध्ये झापा तेस्रो स्थानमा रहेको सार्वजनिक भइरहँदा झापामा कोरोना संक्रमण बढ्नुका कारणबारे आम चासोको विषय बनेको छ ।
पछिल्लो समय काठमाडौं पछि बढी संक्रमित हुने जिल्ला दोस्रोमा पोखरा छ भने तेस्रोमा झापा रहेको खुलासा भएको छ ।

झापामा दिनानु दिन कोरोना संक्रमितको संख्या बढ्न थालेसंगै संघीय सरकार अन्तरगत बनेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)–को ध्यान झापातर्फ मोडिएको छ । झापामा यति धेरै कोरोना संक्रमण बढ्नुको कारण के हुन सक्छ ? भन्ने कुराको अध्ययन अनुगमन गर्न सिसिएमसीका प्रमुख बालानन्द शर्मा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालासहितको सिसिएमसीको सिङ्गो टोली नै झापा आएको हो ।
टोलीले जिल्लास्थित जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी, नेपाल रेडक्रस सोसाइटीसहित सरोकारवालाहरुसंग छलफल गर्नुका साथै विभिन्न ठाउँको अनुगमन समेत गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति तथा विपद व्यवस्थापन समितिका केन्द्रीय सदस्य लोकराज ढकालले जानकारी दिनुभयो ।
झापामा कोरोना भाइरसको संक्रमणको अवस्था, उत्पन्न परिस्थिति बारे डिसिसिएमसीका अध्यक्ष तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले प्रस्तुत गर्नुभएको थियो भने नियन्त्रणका लागि भइरहेका प्रयासबारे रेडक्रस सभापति ढकालले जानकारी गराउनु भएको थियो ।

झापामा किन बढ्यो कोरोना भन्ने कुराको स्थलगत अध्ययन अनुगमनका लागि आएको टोलीका सदस्य तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. कोइरालाले कोरोनाको तेस्रो लहर पूर्वबाटै पो फैलिने हो कि भन्ने चिन्ता व्यक्त गर्दै सचेत रहन सुझाव दिनुभयो ।
त्यस्तै सिसिएमसीका संयोजक शर्माले जिल्लाको वर्तमान अवस्थाका बारेमा जानकारी लिएसंगै नियन्त्रणका लागि कडा कदम चाल्न सुझाव दिनुभएको बताइएको छ ।
सिसिएमसीका संयोजकसहित नेपाली सेनाका उच्च पदस्थ, नेपाल सरकार संघीय र प्रदेश सरकारका सचिव तथा सहसचिव र डिसिसिएमसीको टोलीले आजै २२ करोडको लगानीमा दुवागढीमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण, नेपाल रेडक्रस सोसाइटीद्वारा काँकरभिट्टामा सञ्चालित होल्डिङ सेन्टरको स्थलगत अवलोकन, एन्टिजेन परीक्षणस्थलको अनुगमन तथा नेपाल–भारत आवत–जावतको अवस्थाबारे जानकारी लिएको थियो ।
टोलीले शुक्रबारै बुद्धशान्ति गाउँपालिकाद्वारा सञ्चालित आइसोलेसनको समेत अवलोकन गरेको थियो ।

































































































