विर्तामोड । यो दृश्य हो विर्तामोड नगरपालिका वडा नं.–५ स्थित देवी माविमा कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाउनका लागि उभिएका नागरिकहरुको ।

यो भीड देख्दा लाग्छ स्वास्थ्य मापदण्ड केवल कागजी खोस्टो मात्र हो भन्दा अत्युक्ति हुँदैन । बिहीबार देवी माविमा ५५ वर्ष उमेर पार गरेका विर्तामोडमा बसोबास खुल्ने नागरिक, बैंक तथा वित्तीय संस्थाका लक्षित कर्मचारी, सञ्चारकर्मी, बाणिज्य कर्मचारी तथा व्यवसायीलाई लक्षित गरी खोप लगाउने तयारी थियो ।
देवी माविमा बिहीबार ४ सय जनालाई खोप लगाउने तयारी भएको विर्तामोड नगरपालिका वडा नं.–५ का वडा सदस्य डिआर कडरियाले बताए । खोप लगाउने प्राथमिकताको पहिलो सूचीमा ५५ वर्ष पार गरेका नागरिक रहेको विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका ओम खड्काले बताए ।

उनले भने–‘५५ वर्ष उमेरमाथिका नागरिकको खोप हो यो, उनीहरुलाई पुगेर उबे्रको मात्रै अन्यलाई हो ।’ शुरु शुरुमा खोपका लगाउनका लागि पुगेका मापदण्ड पूरा नगरेका वा जबरजस्ती हामीलाई पनि हुनुपर्छ भन्नेहरुलाई खड्काले अनुनय–विनय नै गरे र हात जोडेर सम्झाएपनि । खड्काले स्कूलको गेटभित्र पसेकालाई त्यसो गरिरहँदा गेट बाहिरको भीड भने थामिसक्नु थिएन ।

चर्को घाममा लाइनमा बस्न नसकेर धेरै लाइन नै छोडेर बाहिर निस्किसकेका थिए । केही नागरिक खोप लगाउन पर्खने भन्दा पनि सोही भिडबाट कोरोना सर्ने जोखिम बढेको भन्दै फर्किएका समेत देखिन्थ्यो । यसरी फर्कनेमा ५५ वर्ष पार गरेकाहरु नै बढी थिए ।

लाइनमा बसेर पालो कुरिरहेकाहरु सोर्सफोर्समा लक्षित समूह बाहेकले खोप लगाएको गुनासो गरिरहेका थिए भने खोपमा आर्थिक चलखेल भएको आशंका समेत व्यक्त गरिरहेका थिए ।
मानिसहरुको बढी भिडभाड हुने स्थलबाट कोरोना सर्ने जोखिम उच्च रहन्छ । आम नागरिकलाई खोप लगाएर सुरक्षित राख्नु सरकारको दायित्व हो।

तर, खोप केन्द्रहरुमा देखिएको अव्यवस्थित भिडबाट कोरोना घट्ने भन्दा बढ्ने जोखिम बढी देखिंदा कोरोना संक्रमण नियन्त्रण बाहिर जाने त होइन भन्ने खतरा बढेको छ ।

































































































