Homeविचारगुरुपूर्णिमा महिमा‘गुरुको सम्मान र सम्झना’–एक विवेचना

गुरुपूर्णिमा महिमा‘गुरुको सम्मान र सम्झना’–एक विवेचना

इन्द्रप्रसाद कटुवाल

आज गुरु पूर्णिमा । सम्पूर्ण गुरुहरुमा हार्दिक नमन गर्दै गुरुपूर्णिमाका बारेमा केही विवेचना गर्ने प्रयत्न गरेको छु । गुरु पूर्णिमा हिन्दू धर्म संस्कारभित्रको ऐतिहासिककतामा जोडिएको एक धार्मिक परम्परागत पावन पर्व मानिन्छ । यो पावन तिथि र पर्व भगवानको अवतारका रुपमा मानिएका महर्षि वेदब्यास श्री कृष्ण द्वैपायनको जन्मदिन र उनको विशेष पूजा हुने दिनको रुपमा मानिदै आएको पर्व हो । यो दिन आषाढ शुल्क पूर्णिमाको दिन हो ।
हिन्दू धर्मको उर्वर भूमि नेपाल र भारत मानिए पनि वर्तमान समयमा हिन्दूधर्मलाई नै आफ्नो जीवन पद्धति मान्दै आएका धर्मसंस्कार र संस्कृतिका अनुयायीहरु छरिएर जुन ठाउँमा पुगे पनि त्यो ठाउँमा अर्थात त्यस ठाउँबाट आफ्ना गुरुप्रतिको श्रद्धा र सम्मान जनाउन फोनबाटै नमस्कार र सम्झना गर्ने परम्परा विकसित हुँदै आएको छ । तर, यस पावन पर्वदिनको ऐतिहासिक गरिमा गरिमामय मात्र नभई रोचक र रहस्मय लीलासँग जोडिएको प्रसङ्ग महाभारतको कथा प्रसङ्गबाट थाहा हुन आउँछ ।
के छ त त्यस्तो रोचक र ऐतिहासिक पक्ष ः
हिन्दू धर्ममा आधारित कतिपय संस्कार, संस्कृति र पर्वहरुको प्रारम्भ कुनै न कुनै ऐतिहासिक प्रसङ्गमा नै गएर जोडिएको पाइन्छ । जस्तै ः इन्द्रजात्रा र मच्छिन्द्रनाथको रथ यात्रा, गाईजात्रा आदि आदि । हरेक पर्वका आफ्नै किसिमका मूल्य र महत्व रहेको पाइन्छ भने के कस्तो रहेको छ त ? गुरुपूर्णिमाको ऐतिहासिक प्रसङ्ग र समय सान्दर्भिकता ?
हामीले सुनेका छौ विश्वकै आदि भाषा संस्कृत हो र आदिम ग्रन्थ हो ‘वेद’ । वेदलाई हिन्दू धर्मग्रन्थका अनेकौं पुराण, उपनिषद, न्याय, मिमांशा आदिले अपौरुषेय भनेर मानेको छ । जस्को बारेमा साङ्गोपाङ्गो वर्णन गर्न कुनै पुरुषको सामथ्र्य छैन भनेर नै वेदलाई अपौरुषेय भनेको हो । हो, त्यही वेदलाई कलियुगमा जन्म लिएर आउने पछिल्ला पुस्ताहरुले वेदको रहस्य बुझ्न सक्दैनन भनेर नै उनै सत्यवती पुत्र पराशर नन्दन् श्री कृष्ण द्वैपायन वेदब्यासले चार भागमा विभाजन गरिदिएको हो भन्ने इतिहास पाइन्छ । वेदको प्रकृतिलाई अलग अलग पारेर उनले ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदका रुपमा विभाजन गरिदिएको हुनाले नै उनलाई ‘वेदब्यास’ भनिएको हो । यहाँ पहिले वेदको अर्थ बुझेर मात्र व्यासलाई बुझिने र ब्यासलाई चिनेर मात्र गुरु पूर्णिमाको महत्व समय सान्दर्भिकता प्रष्ट हुने हुँदा सर्वप्रथम वेदको छोटो चिनारी गराउने प्रयास गरिएको छ ।
‘वेदऽखिला धर्ममूलम्’ वेद सबै धर्मकर्मको मूल हो । ‘विद्ं ज्ञाने धातुबाट बनेको वेद शब्दका अनेकौं अर्थ लाग्छन् । यहाँ यसरी बुझौं–बेद भनेको बुझ्नु र जान्नु हो । जसले आधिकारक गुरुबाट वेदको अर्थ बुझ्दछ, जान्दछ र यौटै मात्र परम सत्यलाई बुझ्न सक्दछ त्यो ज्ञान नै वेद हो । अब प्रश्न उठ्न सक्छ व्यासले कसरी बुझें त वेदको रहस्य ? वास्तवमा वेदको रचना कुनै पुरुषले गरेको होइन यो भगवानको बाणी हो । त्यसैले अपौरुषेय भनिएको हो ।
सर्व प्रथम भगवानले वेद आदि पुरुष ब्रह्माजीका ह्ृदयमा स्थापित गर्दिनु भयो र ब्रह्माजीलाई वैदिक रहस्य थाहा हुन गयो । सोही ज्ञान ब्रह्माजीले आफ्ना मानस पुत्रहरुमा सुनाउनु भयो । श्रुति परम्पराबाट यो प्रकट हुँदै रहँदा कतिपय ऋषि महर्षिहरु नै वेदका मन्त्रद्रष्टा ऋषि भएको बुझिन आएको छ । हो, यही श्रुति परम्पराबाट छरपष्ट भएका ऋचा मन्त्रहरुलाई यिनै वेदब्यासले संकलन गरेर वेदको ग्रन्थका रुपमा जन्म दिएका हुन् । उनले वेदको सिङ्गो ग्रन्थ तयार गरे र त्यसको प्रकृति अनुसार विभाजन गरे अनि, आफ्ना शिष्यहरुलाई पढाए । यसरी वेद विषयक ग्रन्थको अध्ययन गर्नेमा पैल ऋषिलाई ‘ऋग्वेद’ जैमिनीलाई ‘सामवेद’ वैशमपायनलाई यजुर्वेद र सुमन्तुलाई अथर्व वेदको ज्ञान दिइयो । इतिहास र पुराण रोमहर्षणलाई सुनाइयो र उनका पुत्र सूतजीले अठासी हजार ऋषिहरुमा पुराणको अवगत गराए । ब्यासजीले चार वेद र अठार पुराण उपपुराण र ब्रह्मसूत्र र १ लाख श्लोक भएको महाभारत रचना गरे । पुराणहरुमा सर्वश्रेष्ठ श्रीमद् भागवत पुराण मानिन्छ । यसको ज्ञान श्री ब्यासले आफ्ना पुत्र शुकदेवजीलाई बताउनु भयो । वर्तमान समयमा आएर महाभारत भित्र समावेश भगवद्गीता सबैभन्दा बढी अन्य भाषामा अनुवाद हुन पुगेको छ । गीताको ज्ञान र मर्म नै अन्य धर्महरुको पनि मार्गदर्शन बनेको छ । यस्ता परम श्रद्धेय गुरु ब्यास जसले आदिम् श्रृष्टि विषयदेखि लिएर अन्त्य हुने अवस्थासम्मको धार्मिक मार्ग दर्शन गरे । यस पावन पर्व गुरुपूर्णिमा उनैको जन्म दिन र आफ्ना शिष्यहरुले उनलाई उच्च आसनमा राखी पूजा गरिएको दिन भएकाले यो पर्व मूलतः सत्यवती पुत्र, परासर नन्दन महाभागवत् श्री कृष्ण द्वैपायन वेदब्यासको पूजा सम्मान र स्मरण गर्ने दिनका रुपमा प्रसिद्ध छ । गुरु वेदब्यास वास्तवमा हिन्दूहरुका मात्र गुरु नभएर विश्वमानव जातिकै गुरु हुन् । यस्ता परम पूजनीय, श्रद्धेय गुरु ब्यासको यस धराधाममा कसरी अवतरण भयो ? यस रोचक र रहस्यमय प्रसङ्गमा पनि छोटो चर्चा गरौंः
महाभारत तथा श्रीमद्देवी भागवत् महापुराणमा वर्णन भए अनुसार व्यासको जन्म बशिष्ट ऋषिका वंशज पराशर ऋषि र मत्स्य गन्धा अर्थात सत्यवतीको पारस्परिक समागमबाट हुन गएको थियो । स्मरण रहोस् कुनै पनि दैवी घटना हुनु छ भने त्यहाँ एउटा अदृश्य शक्ति नै कारकतत्व रहेको पाइन्छ । पराशर ऋषि ठूला तपस्वी र त्रिकालदर्शी महामुनि थिए । एकदिनको कुरा हो उनी भ्रमण गर्दै जमुना नदीको किनारमा पुगे । त्यहाँ एक माझीको सानो झुपडी थियो । माझी भोजन गर्दै थियो । ऋषिले उनीसंग नदी पार गराउन भने । माझीले पनि आफू भोजन गर्दै रहेकोले ऋषिलाई ढिलो हुने विचार गरी आफ्नी पुत्री मत्स्य गन्धालाई नाउबाट तारिदिन भने ।
मत्स्य गन्धा ज्यादै रुपवती किशोरी थिइन् । उनी जहाँ हुन्थिन त्यसको हजारौं कोस परसम्म माछाको गन्ध चल्ने भएकाले नै उनलाई मत्स्य गन्धा भनिएको थियो । आफ्ना पिताको वचन शिरोपर गरी मत्स्य गन्धाले ऋषिलाई नाउँमा राखेर खियाउन लागिन् जब नदीको बीच भागमा डुङ्गा सवार भइरहेको थियो ऋषिमा एकाएक कामोत्तेजना बढेर आएकाले आफ्ना दाहिने हातले मत्स्यगन्धाको दाहिने हातमा समाएर काम पीडित भाव देखाउन पुगे । ऋषिको यस्तो दशा बुझेर मत्स्य गन्धा भन्दछिन् कि हे ऋषिश्वर ! तपाई आफ्नो कुल र मर्यादाको आचरण तोडेर के गर्न लाग्नु हुदैछ ? ठूला बडाले त आफ्नो समानस्तरकासंग पो सम्बन्ध राख्तछन्, म एक अदना निम्न जातिकी तपाईलाई सुहाउने नारी होइन, त्यस्मा पनि म यस्ती दुर्गन्ध भएकी उमेरले पनि कच्चा नै छु, कृपया यो हठ छोड्नु होस् भन्दा ऋषिको कामोत्तेजना त्यसै शान्त नहुने दशादेखि नदी पार भएपछि मात्र यो कर्म गर्नुहोस् भन्न पुगिन् । ऋषिले त्यो शर्त स्वीकार गरे । जब नदी पार भयो तब मत्स्य गन्धा पुन उनको अङ्गालोमा कसिन पुगिन् । त्यो बेला पनि मत्स्य गन्धाले भनिन् हे ऋषिश्वर दिउँसोको समयमा सबैले देख्छन्, ज्ञानी पुरुषले त दिनमा स्त्री संसर्ग गर्दैनन् भन्ने मैले बुझेकी छु । रातको समय प्रतिक्षा गर्नुहोस्, अझ त्यसमा मेरा तीन शर्त छन्, एउटा हाम्रो सम्बन्ध कसैलाई थाहा, नहोस् दोस्रो मेरो शरीरको दुर्गन्ध हटेर सुगन्धले युक्त होस्, तेस्रो म गर्भवती भएँ भने त्यसबाट मेरो कुमारीत्व र कौमार्यको अवस्था नबिग्रोस भन्ने माग राखिन् । ऋषिले ती शर्त पूरा गर्ने क्रममा आफ्ना योगबलले कुहिरो उत्पन्न गरी दिउँसै अन्धकार पारिदिए र मत्स्य गन्धाको तरुण अवस्था बृद्धि गरी सुगन्धले युक्त बनाइ दिए र मत्स्यगन्धालाई उनको गोपनीयता सुरक्षित रहने वरदान दिएर उनीसँग सम्भोग गरे । त्यसपछि ऋषिले मत्स्यगन्धालाई त्यहीँ छाडेर आफ्नो आफ्नो बाटो लिए । यस प्रसङ्गमा विचारणीय कुरा यो छ कि, कस्ता कस्ता अप्सराहरुले फसाउन नसकेका ऋषि कुहिरो उठाएर सूर्यलाई ढाक्न सक्ने तपस्वीले एउटी सामान्य माझी कन्यासंग किन आशक्त बनेर आफ्नो मनलाई ढाक्न सकेनन् ? यो नै एक दैवको लीला थियो । भगवान विष्णुले आफ्नो तेजलाई पराशरको वीर्यमा स्थापित गरिदिएका थिए । त्यसै कारण पराशर परचालित कामोद्वेगका फन्दामा फस्न पुगे । देैवले सबैको मनोदशा बुझ्दछन् तर कसैले दैवको मनोदशा बुझ्न नसक्ता रहेछन् ।
उता मत्स्य गन्धा तरुण भएकी उनको शरीरबाट दिब्य सुगन्ध फैलिने भएकी र झर्झराउँदी अवस्थामा रहँदै गर्दा समय पुगेपछि त्यसै द्विपमा गोप्य तबरले यिनै वेद ब्यासलाई जन्माउन पुगिन् । यमुना नदी र सरस्वती नदीको दीप (दोभान अर्थात संगम) मा उनको जन्म भएको र जन्मदै श्यामवर्णको बालक भएकाले उनलाई श्री कृष्ण द्वैपायन भनिएको हो । यसरी विचित्र रहस्यका साथ जन्म हुना साथ द्वैपायनको शारीरिक अवस्था एकाएक बृद्धि भई सालनालसंगै तपस्या गर्न भनी हिंडे । हिड्न अघि उनले आफ्नी मातालाई कुनै पनि चिन्ता नलिन र केही शुभ सङ्कल्प गर्नु परे मेरो सम्झना गर्नुहोला म तत्काल हाजिर हुने छु भन्ने वचन दिएका थिए । पछिबाट त्यसै हुन गयो । यो घटना ब्यास र उनकी माता तथा पराशर बाहेक कसैलाई थाहा भएन । त्यसो त मत्स्य गन्धा पनि ब्राह्मणको श्रापबाट श्रापित यमुना नदीमा माछाको रुपमा रहेकी अद्रिका नामकी अप्सराबाट जुम्ल्याहा सन्तानको रुपमा पैदा भएकी थिइन् । माझीले उक्त माछालाई जालमा पारेर घर ल्याई पेट चिर्दा पाएका जोडी सन्तान नै राजा उपरिचरलाई बुझाएका थिए । राजाले पुत्र आफूसंग राखी पुत्री चाहीँ माझीलाई दिएका थिए । यसरी छोराको नाम मत्स्य र छोरीको नाम मत्स्य गन्धा रहेको थियो । पछि यिनै मत्स्य गन्धाको नाम सत्यवती रह्यो र उनी ब्यासकी माता बनेकी थिइन् । दैव संयोग मत्स्य र मत्स्य गन्धा उनै राजा उपरीचरको वीर्य माछाले खान पुग्दा माछाबाट जन्मन पुगेका थिए ।
समयको फेरबदलले गर्दा द्वापरयुगीन घटना आजको मध्य कलिकालमा अपत्यापरिलो हुन सक्ला तर वेदब्यास र उनीबाट रचना भएका ग्रन्थ एवं चारवेद हामीले ओल्टाइ–पल्टाई पढ्न पाएका छौ । उनी सम्पूर्ण विश्व मानवका जगतगुरु हुन् । उनलाई भगवानको अवतार मानिन्छ र उनी अठ्ठाइसौं ब्यासका रुपमा पूजित छन् ।
यिनै चारवेदको कालक्रमले ब्यासजीबाट धर्म, अर्थ, काम र मोक्ष मार्गको चार आश्रमको चारै युगको ज्ञान अवतरण भएको हो । आजसम्म उनी जस्तो प्रतिभाशाली कवि लेखक विश्वमा जन्मिएको पाइदैन । त्यस्ता जगत गुरु अष्ट चिरञ्जीवी मध्येका एक चिरिञ्जीवी ज्ञान स्रष्टा वादरायण गुरु ब्यासप्रति सततः नमन गर्दै गुरु पूर्णिमाको परम्परा उनैको विशेष पूजा–आराधना र स्मरण गरी मनाइने क्रममा आज आएर औपचारिक शिक्षा दिलाउने, मन्त्र दीक्षा दिने, गुरुहरुको पनि सम्मान, नमन र स्मरण गर्ने परम्परा विकसित भएको छ ।
भनिन्छ, अज्ञानरुपी अन्धकारलाई हटाएर ज्ञानरुपी ज्योति प्रदान गर्ने गुरु नै ब्रह्मा, विष्णु र शिब स्वरुप हुन् । त्यसैले गुरुको महत्व र महिमा अवर्णणीय हुन्छ । वास्तवमा जो व्याक्तिमा ज्ञान रुपी ज्योति छैन भने सूर्य र आँखाबाट प्राप्त ज्योति त पशुमा पनि हुँदैन त्यो पशु मानिन्छ । त्यसैले पशुत्वबाट मनुष्यत्व प्रदान गर्न गुरुको आवश्यकता अपरिहार्य हुन्छ । यस वर्षको गुरु पूर्णिमाले गुरुप्रतिको सच्चा श्रद्धाभक्ति जाग्रत गराउनुका साथै तनाबग्रस्त मानसिकताले आक्रान्त नेता, शिष्य वर्गमा सद्ज्ञानको उदय हुन सकोस् अज्ञानता र दुराचारको अन्धकार नास भएर जाओस् भन्ने निम्न गुरु बन्दनाका साथ यो पंक्तिकार आफ्नो लेखनी बिसाउन चाहन्छ ।
‘अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।
चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नम ः ।।
अखण्डानन्द बोधाय शिष्यसन्ताप हारिणे
सच्चिदानन्दरुपाय तस्मै श्री गुरवै नमः ।।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारगुरुपूर्णिमा महिमा‘गुरुको सम्मान र सम्झना’–एक विवेचना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img