बिर्तामोड । जिल्लास्थित कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिको बिहीबार सम्पन्न बैठकले निषेधाज्ञालाई थप खुकुलो पारेको छ । बिहीबारको निणर्य अनुसार निषेधाज्ञा अवधीलाई छोट्याएर पसल, होटल तथा रेष्टुरेन्ट सञ्चालनको अवधीलाई लम्ब्याएको छ ।
शुक्रबारदेखि खाद्यन्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक र हार्डवेयर पसल, निर्माणजन्य सामग्री, इलोक्ट्रोनिक्स, टेलरिङ्ग, लत्ताकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी, मोटरगाडी शोरुम, प्लास्टिक तथा मेशिनरी पसल विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएको छ । उक्त प्रकृतिका पसल व्यवसाय यसअघि असार २१ गते बसेको बैठकले ६ बजेदेखि साँझ ५ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको थियो । यद्यपी पसल सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउन र भौतिक दूरी कायम गर्न आग्रह गरिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले होटल तथा रेष्टुरेन्ट सञ्चालनको रेष्टुरेन्ट साँझ ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ भने साँझ ७ बजेपछि टेक अवे सेवा मात्र सञ्चालन गर्न पाइने छ । यसअघि होटल तथा रेष्टुरेन्ट सञ्चालनको समयअवधि पनि ५ बजेसम्म तोकिएको थियो ।
बैठकले यसअघि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा लगाएको जोरविजोर प्रणाली हटाएको छ । शुक्रबारदेखि स्वास्थ्य मापदण्ड पालना गरी सबैप्रकारका सवारी सञ्चालन गर्न पाइने छ । यसअघिको बैठकले अत्यावश्यकसेवाहरु बाहेकका सबै प्रकारका निजी सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणाली अन्तरगत सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।
बैठकले आगामी साउन १४ गतेसम्मका लागि निषेधाज्ञा जारी राखेको छ । सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखानालगायत भने बन्द नै रहने निर्णय डीसीसीएमसीले गरेको छ
खुकुलियो निषेधाज्ञा: हट्यो सार्वजनिक सवारीमा जोर विजोर प्रणाली

































































































