इन्दु पूर्वेली
शनिश्चरे । झापा अर्जुनधारा– १० का ओमनाथ भट्टराईको परिवार विहान ४ बजेदेखि बेलुका ७ बजेसम्म ब्यस्त रहन्छ । झिसमिसे उज्यालोमा आँखा मिच्दै उनीहरु परिवार नै अर्जुनधारा–१० र ८ मा रहेको तरकारीबारीमा आइपुग्छन् । ओमनाथ, उनकी श्रीमती भीमकला, छोरी विमला र छोरा विरेन्द्रको दैनिकी अर्जुनधारा बजारनजिकै रहेको एकविगाह, ८ कठ्ठा र वडा नं १० को कालीस्थान चोकनजिकै रहेको लगभग १५ कठ्ठा जग्गामा लगाएको सब्जीबारीमा पुग्छन् । दाजु राजेन्द्र विदेशमा छन् । भाउजु जानुका घिमिरे अध्यापन गराउँछिन् । उनीहरुमध्ये पनि उत्पादित सब्जी बजारसम्म पु¥याउने, होलसेलमा विक्री गर्ने, मल विऊ लगायत ब्यवस्थापनको सम्पूर्ण पक्ष हेर्छिन विमला ।

घरका ४ जना परिवार र अन्य ६–७ जनाले दैनिक रोजगारी पाइरहेको उनीहरुका बारीमा अहिले करेला, कांक्रा, स्टिकलेस बोडी, मिटरे बोडी, भिण्डी, लौका, घिरौला लटरम्मै छ । ‘प्रत्येक दिन उनको बारीमा एक प्रजातिको सब्जी एकदेखि डेढ क्वीन्टलसम्म उत्पादन हुन्छ’– विमलाले भनिन्–‘पहिला निर्वाहमुखी मात्रै थियो । साथीभाइको प्रेरणा र केही गर्नुपर्छ भन्ने उत्साहले अहिले ब्यावसायिक उत्पादन थालेको ।’ उनी तीनबर्षयता निरन्तर यही पेशामा संलग्न छन् ।
सिर्जनशील कृषि फर्म (उनी यसको नाम परिवर्तन गरेर अर्जुनधारा एग्रो एण्ड नर्सरी बनाउने सोचमा छिन् )–को प्रोप्राइटर रहेकी विमलाको संघर्षको कथा निकै लामो छ । ताप्लेजुङको हाल सिरिजंगा गाउँपालिकाको तेल्लोकमा जन्मिएकी उनी परिवारसँगै ५ बर्षकै उमेरमा आफ्ना बाआमासँगै इलामको देउमाई–९ मा आइपुगिन् । स्थानीय त्रीभूवन निमाविमा प्रारम्भिक शिक्षा लिएकी उनले देउमाईकै जितपुर उच्च मा.वि. बाट एस.एल.सी पास गरिन् र झापा झरिन् । सँगै एसएलसी लेख्ने साथीहरुमध्ये कोही कम्प्युटर सिक्नतिर लागे, धेरै चाहिं नेपाल प्रहरीमा जागिर खान जाने भए ।

उनी पनि धेरै विद्यार्थीको रोजाइ अनुसार नेपाल प्रहरीमै जागिरको पहलमा लागिन् । लगभग साढे १७–१८ को उमेर, २०७२ सालमा उनले नेपाल प्रहरीमा लिखित र मौखिक दुवै परीक्षा पास गरिन् । आफ्ना बुवा–आमा छाडेर अध्ययनका लागि सानीमाकोमा बसेकी उनलाई आमा–बुवा छोड्दाको पीडा एकातिर थियो, अनि बुवा आमालाई पनि सानै उमेरकी छोरी तालिममा पठाउन गारो लागिरहेको थियो । ‘त्यसबेला तालिमका लागि सिन्धुली लैजान्थ्यो, त्यति टाढा कसरी जानुजस्तो लाग्यो’–उनले सम्झिइन्–‘प्रहरीमा लागेपछि न त समाज नै चिन्न पाइन्छ, न सच्चा इमान्दार कर्मचारी हुन पाइन्छ ? जस्तो लाग्यो अनि पास भइसकेको जागिर तालिममा नगई छाडिदिएँ ।’ अझै पनि उनलाई कर्मचारी फाँटमा इमान बच्दैन जस्तो लाग्छ रे । ‘जनप्रतिनिधिको भनौ कि राजनेताको खेलौना जस्तो’–उनले भनिन्–‘निश्पक्ष र तटस्थ बसेर देश सेवा गर्न नै नपाइने ।’
त्यसपछि विमलाको जीवनले यु–टर्न लियो । उनले देवी उच्च मा.वि. विर्तामोडमा उच्च माविसम्मको अध्ययन गरिन् । त्यहींबाट शुरु भयो–सामाजिक संघसंस्थामा प्रवेश । अर्जुनधारा जेसीजको जनसम्पर्क अधिकारी, इलाम–झापा मैत्री समाजको सदस्य, चेम्बर अफ कमर्शको कोषाध्यक्ष, भान्सा नै औषधालय अभियान अर्जुनधाराको कोषाध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय विमला यिनै संघसंस्थामा जोडिएका अग्रज तथा समकालीन साथीभाईबाट ब्यवसायीक बन्न प्रेरणा मिलेको बताउँछिन् ।

भलिबल, फुटबल, ताइकन्दो खेलमा रुची राख्ने विमलाले खेल क्षेत्रबाट चाहिं खासै प्रगति गर्न नसकेको बताइन् । मुख्य गरी जेसीजको अध्यक्ष हुँदा लाग्ने खर्च र त्यसभित्र प्रवेश गरेपछि आत्मसम्मानपूर्वक बाँच्न केही न केही उद्यम गर्नुपर्छ भन्ने सकारात्मक ऊर्जा प्राप्त गरेपछि ब्यवसायीक कृषि उत्पादनमा लागेको उनी बताउँछिन् । उनलाई अर्जुनधारा जेसीजको अध्यक्ष बन्ने रहर पनि छ । सानै छँदा अम्रिसो, अधुवा बटुलेर बजार पु¥याउने, पेवा बाख्रा पालेर बेच्ने विमलालाई त्यसबेला नै लाग्थ्यो रे–‘केही न केही गर्नुपर्छ, पैसा कमाउनुपर्छ ।’
लगभग सवा २ विगाहमा बेमौसमी सब्जी खेती गरिरहेको उनको परिवारमात्रै रोजगार भएको छैन, अहिले स्थानीय ६–७ जनाले सिजनमा पूर्ण र वेसिजनमा आंशिक रोजगारी पाइरहेका छन् । यद्यपिः मल, विऊ सिंचाईमा खेप्नुपर्ने समस्याले उत्पादन झन् असहज हुने उनी बताउँछिन् । ‘बेमौसमी सब्जीको बेर्ना उत्पादन गर्न नै गाह्रो हुन्छ ।
सब्जी फल्छ भन्ने ग्यारेन्टी नै हुँदैन’–सवा दुई विगाहमा ४ लाख बढी लगानी गरेर सब्जी खेती गरिरहेकी विमलाले भनिन्–‘बजार पाउन उत्तिकै गाह्रो छ ।’ अहिले उत्पादित सब्जी शनिश्चरे, विर्तामोड र बुधबारेको बजार तथा उत्पादनस्थलबाट नै विक्री भइरहेको उनले बताइन् ।

‘घाटा नै त छैन तर जग्गाको लिज, लेबर खर्च, उत्पादनका लागि आवश्यक प्लाष्टिक, विऊ, मल, जोताई खर्च, डोरी, धागो, बाँस, टनेल, आवश्यक औजारहरु झम्पल, कोदालो, फरुवा, पसनी, कुटे, हसिया, कैची लगायत अनेकौ चिज चाहिन्छ’–उनले भनिन्–‘सबै खर्च कटाएर नाफा कमाउन मुस्किल छ ।’ आफ्नै जग्गा हुने हो र लिज तिर्नुनपर्दा भने मासिक २÷४ लाख कमाउन विदेश जानै नपर्ने उनको अनुभव छ । सरकारले सिंचाई वा थोपा सिंचाईको मात्रै ब्यवस्थापन गरिदिए पनि साना किसानलाई ठूलो राहत हुने बताएकी विमलाले अहिलेसम्म कृषकले पाउने अनुदान माग्न काँही नगएको सुनाईन् ।

हामी किसानलाई अरुको पनि नखाउँ लाग्छ, अर्काले पनि नखाइदेओस जस्तो लाग्छ’–उनले भनिन्–‘साना किसान र ठूला किसानलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन नभएसम्म साना किसानको उन्नति असम्भव छ।’ खेतीबाट लगानी उठेपनि सन्तुष्ट हुने अवस्था नरहेको उनी बताउँछिन् । नाफा वा घाटा भन्दा पनि आफूले लगाएको बेर्नाबाट फल प्राप्त हुँदा त्यसै सन्तुष्टी मिल्छ । उनले फलिरहेको बोडी देखाउँदै भनिन्–‘यसको बजार ब्यवस्थापन गर्नुपर्ने चिन्ता एकातिर छ तर फल देखेपछि आत्मसन्तुष्टी चाहिं मिल्छ ।’ माटोमा पसिना पोखरेर सुगन्ध अनुभव गरिरहेकी उनले तरकारी उत्पादन मात्रै होइन फूलको बेर्ना उत्पादन पनि थालेकी छन् । ‘फुलको खेती अलिक खर्चिलो हुनेरहेछ’–उनले भनिन्–‘वेर्ना उत्पादन गरेर सार्ने बेलाको पार्न नै निकै परिश्रम र लगानी चाहिन्छ ।
अहिले भर्खर शुरुवात मात्रै छ । ९–१० लाख लगानी गर्नसकेमात्र फुल खेतीबाट उत्पादन लिन सकिने उनले सुनाईन् । उनकामा अहिले सकुलेन्ट, स्नेकप्लान्ट, सयपत्री, गोदावरी, बगानबेली (गेटफुल), का वेर्ना हुर्किरहेका छन् । फुल नर्सरीकै लागि लगभग ४ कठ्ठा जग्गा छुट्याएको समेत उनले बताइन् ।

































































































