Homeसमाचारप्रसाईंको निधनपछि नागरिकले उठाएका सडक, शालिक, सवारी र दुर्घटनाका सवाल

प्रसाईंको निधनपछि नागरिकले उठाएका सडक, शालिक, सवारी र दुर्घटनाका सवाल

रेजिना गौतम

भर्भराउँदो उमेर, समाजमा केही गरौं र गर्नुपर्छ भन्ने भावना बोकेर हिडेको मान्छे । अनायासै अनन्तः यात्राले परिवारमा कस्तो चोट पार्छ ? कल्पना गर्न कठिन छ, त्यस्तै व्यक्तिको निधनपछिको शोकमा छ अहिले विर्तामोड ।
राजनीतिका साथै सामाजिक सेवा र व्यवसायीक क्षेत्रमा पनि उत्तिकै सक्रीय थिए–झापा विर्तामोडका ज्ञानुराम प्रसाई । नेकपा एमाले विर्तामोड नगर कमिटी अध्यक्ष एवं विभिन्न सामाजिक संस्थाको पदीय जिम्मेवारी बहन गर्ने र नेतृत्व गर्ने क्षमतामा समेत अब्बल प्रसाई असार २५ गते अचानक भौतिक रुपमा यो संसारबाट विदा भए सदा सदाका लागि । श्रीमती, छोरा, छोरीका लागि अभिभावकको अभाव खड्किरहेको छ/सदा खड्किरहने छ । प्रसाई परिवारसहित ज्ञानुको अभावको महशुस समाजलाई पनि भएको छ ।
विहान खाना खाएर सरकारी कार्यालयको कामले विर्तामोडबाट चारआली हुँदै चारआलीबाट भद्रपुर हिंडेका उनको अधुरो यात्राको कारणबारे अनुसन्धानबाट केही पनि खुल्न नसकेको प्रहरी स्रोतको भनाई छ । घटनास्थलको अवस्था हेर्दा अन्य कारण केही देखिंदैन, गाडी स्पिड थियो कि भन्ने मात्रै हो जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेस थापाले भने–‘गाडीको अगाडिको भाग एकदमै ब्रस्ट भएको छ, उहाँ एक्लै हुनुहुन्छ, भिडभाड केही छैन, रातको अथवा पानी परेको समय पनि हैन ।’ उनले थपे–‘गाडीको क्षति हेर्दा ओभर स्पिड भन्ने मिल्छ ।’
आफ्नो निजी कार त्यसमा पनि आफैंले ड्राइभ गरेका प्रसाईको निधनको अन्य वास्तविक कारण केही पनि खुल्न सकेको छैन । प्रसाईले चलाएको गाडी दुर्घटनास्थल, उनको गाडीको अवस्थालाई नियालेर दुर्घटनाको कारण अनुमान विभिन्न कोणबाट हुनसक्छ । अनुमान गरिएको कारक तत्व सडकमा बीचमा ठड्याइएका कवि, साहित्यकार, राजनीति, साहित्यिक विधामा ख्यातिप्राप्त ब्यक्तिको शालिक लगायतका भौतिक संरचना हटाउन वा स्थानान्तरण गर्नुपर्नेमा आवाज उठाउन थालेका छन् ।
अन्य ठोस कारण केही नदेखिएपनि प्रसाई दुर्घटनामा पर्नुको एउटै कारक शालिक भएको ठहर गर्दै बीचबाटोमा राखिएका त्यस्ता शालिकहरु हटाउन सामाजिक सञ्जालमा माग गर्दै स्टाटसहरु छरपस्टिएका छन् । सामाजिक सञ्जालमा मात्रै होइन, विर्तामोडका ब्यवसायी तेजमणी प्रसाईले झापाका १५ वटै स्थानीय तह, झापाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, सडक विभाग तथा झापामा क्रियाशील राजनैतिक दलहरुकोे ध्यानाकर्षण गराएका छन् ।
प्रसाईले निवेदनमा भनेका छन्–‘अल्पबिकासबाट बिकासोन्मुख हाम्रो देशमा केही बर्षयता मात्र सडक चौडा बनाउने, सडकको मापदण्ड फराकिलो बनाउने कार्य भइरहेको छ । मूल सडकमै ठाउँ–ठाउँमा विभिन्न रास्ट्रिय ब्यक्तित्वहरुको शालिक राखिएको छ । खास गरेर भद्रपुर, चन्द्रगढी क्षेत्रमा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणी लेखनाथ पौडेल, साहित्यिक/राजनीतिक ब्यक्तित्व बी.पी.कोइराला लगायतको शालिक साँघुरो सडकको बीचमा राखिएको छ । चन्द्रगढीमै महेन्द्र स्मृति पार्कमा महेन्द्रको शालिक पनि थियो/छ । राष्ट्रिय विभूतिहरुको सम्मानका खातिर शालिक स्थापना गरिएको भएपनि सडक बीचमा बनाइएका यस्ता स्तम्भहरुको परिणाम घातक र पीडादायी साबित भएको छ ।
केही बर्षअघि यसरी साँघुरो सडकको बीचमा बनाइएको शालिकमा एकजना पत्रकारको मोटरसाइकल ठोक्किएर घाइते हुनुभएको थियो । जिविसका एक कर्मचारी पनि यस्तै सडकमा राखिएको स्तम्भमा मोटर साइकल ठोक्किन पुग्दा उनको मृत्यु भएको थियो।
हिजो असार २५ गते शुक्रबार चारआली–भद्रपुर अन्तर्गत मेची राजमार्गमा राखिएको देवकोटाको शालिकमा बिर्तामोडका युवा ब्यवसायी/राजनीतिक/सामाजिक ब्यक्तित्व ज्ञानुराम प्रसाईको कार ठक्कर खाइ बिभत्स दुर्घटनामा परी मृत्यु भएको छ ।
यसरी एकपछि अर्को गर्दै राष्ट्रिय ब्यक्तित्वका नाममा सडक बीचमा सिमेन्टका कंक्रिट निर्माण गरी यात्री मार्ने पासो थापेको साबित भएका छन ।
प्रकाशपुर नजिक देवकोटा शालिक केही साँघुरिएको र युटर्न सडकमा बनाइएको छ । यसअघि पनि यस शालिकमा दुर्घटना भएका छन । त्यसैको नजिकमा रहेकोे सार्वजनिक भवन अगाडि पनि शालिक राख्न मिल्ने प्रशस्त ठाउँ नभएको होइन । सडकको बीचमा नै शालिक राख्नुपर्छ भनेर कुन इगोले काम गरेको छ मैले गहिरिएर सोच्दा पनि बुझ््न सकिन ।
माथी उल्लेखित सम्पूर्ण मान्यजनमा मेरो बिनम्रतापूर्वक अनुरोध छ यस क्षेत्रका सम्पूर्ण स्तम्भहरुलाई जिल्ला समन्वय समिति भवन अगाडिको महेन्द्रस्मृति पार्कमा स्थानान्तरण गरियोस् । सवै राष्ट्रिय ख्याति पाएका ब्याक्तिहरुका स्तम्भ एकै ठाउँमा हेर्न सकियो । यसका लागि बरु टिकटको ब्यवस्था गरियोस । ब्यवस्थापन राम्रो बनोस ।
त्यस्तै साहित्यकार तथा पत्रकार कुमार भट्टराई सडकबीचमा भएका शालिक तथा स्तम्भलाई झापाकै कुनै निश्चित ठाउँमा स्थानान्तरण गरेर पर्यटकीय तथा अध्ययन गन्तव्य बनाउन सुझाव दिंदै भन्छन्–‘झापा जिल्लामा कुनै एक क्षेत्रमा शालिक पार्क बनाउँ र सबैतिर सडक बीचमा राखिएका शालिकहरुलाई सम्मानपूर्वक स्थानान्तरण गरौं । पर्यटकीय र अध्ययन गन्तब्य बन्छ, केही मात्रामा भएपनि यात्रा सुरक्षित हुन्छ ।’
प्रसाई दुर्घटनामा परेको दुर्घटनास्थल र बाटोको अवस्थाबारे देवी क्याम्पसका प्राध्यापक लेखनाथ भट्टराई भन्छन्–‘जहाँ दुर्घटना भयो त्यो ठाउँको बाटोको बनावट सबै कार तथा चारचक्के चालकका लागि अप्ठेरो छ । विशेषतः उत्तरबाट दक्षिण जाँदा लगभग ५० मिटर नजिक पुग्दासम्म बाटोको विचमा रहेको महाकवी लक्ष्मीप्रसाद देबकोटाको त्यो शालिक देखिँदैन । सवारी साधनको चापको कमि भएको त्यो सुनसान बाटोमा साधारणतया सबै सवारीहरु ६० कि.मी प्रतिघण्टा माथिको वेगमा हुन्छन । नचाहँदा–नचाहँदै पनि सजिलो र खाली बाटोेको कारण तेस्रो गियरमै पनि त्यहाँ गाडी हुँइकिएकै हुन्छ । यसरी हेर्दा शालिक देखिएको तीन सेकेण्डभन्दा कमी समयमा मान्छे शालिक भएको ठाउँमा पुगिसकेको हुन्छ । दिमागको प्रत्युत्पन्न मति कम भएको मान्छेले ब्रेक थिचिसक्दा शालिकमा गाडी जोतिन सक्छ । बाटोको बनावट पनि उत्तरबाट देब्रे जानुपर्ने शालिक तलको बाटो साँगुरो र घुम्नु पर्नेछ । जसले त्यहाँ पुगेर गाडी मोड्न निकै कठिन छ । दुर्घटनामा परेको प्रसाईको ँको गाडी हेर्दा पनि गाडीको बारेमा केही सोच्न भ्याएको देखिन्न ।
कसरी भनु महाँकवि देबकोटाको शालिकको कारण वहाँको मृत्यु भयो । भद्रपुर नगर पालिकाका केही ठाउँहरु त्यस्तै छन । त्यही मार्गमा विपि चोकमा जननायक वी.पी. कोइरालाको शालिक, चन्द्रगढी बजारको लेखनाथ चोकमा कविवर लेखनाथ पौडेलको सालिक सदरमुकामको मुख्य चोक ट्रेड युनियन चोकमा भएको स्तम्भ, भानु चोकको आदिकवि भानुभक्तको शालिक सबै सबै त्यस्तै ठाउँहरुमा छन् । अब कसरी भनु यी विभुतिहरुको शालिकले अप्ठेरो पर्यो भनेर । बेलैमा सोचौं फेरि होनहार युवा उमेरका अरु ज्ञानुरामहरुले असमयमा मृत्युबरण गर्न नपरोस् ।’
प्रसाईको गाडी गएर शालिकमै ठोक्किएका कारण त्यस्ता कुरा उठ्नु स्वाभाविक भएपनि बाटोको प्रकृति हेर्दा उक्त स्थानमा शालिक नहुने हो भने अझ बढी दुर्घटनाको जोखिम बढ्ने उनले प्रवक्ता थापाको भनाई छ । उनले भने–‘त्यहाँ शालिक नहुने हो भने अझ बढी दुर्घटना हुने संभावना देख्छौं, किन कि त्यहाँको बाटोको प्रकृति नै त्यस्तो छ ।’ उनले थपे–‘त्यहाँ शालिक नहुने हो भने त्यहाँ अझ बढी दुर्घटना हुने संभावना देखिन्छ ।’
बाटोमा शालिकको विषयमा पब्लिकले उठाएको कुरा ठिकै भएपनि उक्त घटनाको खास कारण के हो ? भन्ने कुरामा अनुसन्धानको विषय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाँईले बताए । उनले भने–‘हामीले सडक स्केच मात्रै गर्ने हो, बाँकी अनुसन्धानको कुरा जिल्ला प्रहरी कार्यालयले गरिरहेको छ, सडक फर्निचरका सम्बनधमा सडक विभागले हेर्ने हो–चापागाँईले भने । यद्यपी शालिकलाई मिनिमाइज गर्दा हुन्छ कि भन्ने कुरा स्थानीयबासी र सम्बन्धीत स्थानीय तहसंगको समन्वयमा गर्न सकिने कुरा हो ।’
कुनै पनि भौतिक संरचना निर्माणको उद्देश्यले त्यसले विपत्ती निम्त्याओस् भन्ने हुँदैन । केही न केही पवित्र उद्देश्य राखेर निर्माण गरिएका त्यस्ता संरचनाले कालान्तरमा ठूलै असर पु¥यायो भने त्यसको स्थानान्तरणका लागि पनि सोच्नैपर्ने हुन्छ । प्रसाईको निधनको खास कारण जे भएपनि संभावित दुर्घटनाका विषयमा नागरिकले उठाएका सवालबारे अध्ययन जरुरी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रसाईंको निधनपछि नागरिकले उठाएका सडक, शालिक, सवारी र दुर्घटनाका सवाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img