अर्जुनधारा । राष्ट्रपति शैक्षिक कार्यक्रम तथा नगर शिक्षा शाखा अन्तरगत विभिन्न शिर्षकमा आएको बजेट भुक्तानी नदिएको भन्दै शिक्षा सरोकारवालाले अर्जुनधारा नगरपालिकामा आइतवार लगाइएको ताला सहमतिपछि खोलिएको छ ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सरोकारवालाहरुसंग बसेको बैठकमा समस्या समाधान गर्न सहभागीहरु सहमत भएपछी कार्यालयमा लगाइएको ताला खोलिएको प्रमुख नेपाल शिक्षक महासंघ अर्जुनधारा नगरसमिति अध्यक्ष पुण्य सुवेदीले जानकारी दिनुभयो ।

बैठकमा सहमत भएको निर्णयहरुमा अर्जुनधारा नगरपालिकामा सञ्चालित राष्ट्रपति सुधार कार्यक्रमलगायत विभिन्न आयोजनाहरुको समयमा भुक्तानी नभएको सम्बन्धमा के कति कारणले उक्त समस्या उत्पन्न भएको हो प्रमुख प्रशासकीय अधिकृतले सात दिनभित्र छानविन गरि नगर कार्यपालिकामा प्रतिवेदन दिनुपर्ने, विविध प्राविद्यिक कारणले गत आर्थिक वर्ष ०७७/०७८को अन्तिम समयमा भुक्तानी हुन नसकेको आयोजनाहरुको भुक्तानीका लागि नगरपालिकाले उपयुक्त वित्तीय स्रोत व्यवस्थापन गरि चालु आर्थिक वर्षको वित्तीय कारोबार सञ्चालन व्यवस्था पश्चात (भदौ १५ गतेभित्र) व्यवस्था मिलाउने र विविध कारणले सामुदायिक विद्यालयको रोक्का गरिएको खाता सञ्चालनका लागि आवश्यक व्यवस्था नगरपालिकाले गर्ने रहेको छ ।
बैठकमा उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, लेखा अधिकृत रामचन्द्र घिमिरे, नेकपा एमालेका प्रतिनिधि प्रेमसागर सापकोटा, नेपाली काँग्रेसका प्रतिनिधि हेमराज खरेल, माओवादी केन्द्रका प्रतिनिधि नारद दुःखी, राप्रपाका प्रतिनिधि लवकुश गिरीलगायतको सहभागिता थियो ।

































































































