अर्जुनधारा । हिजोका दिनमा दुःखी, पिडित खिनमाया रोएको भिडियो हेरर धेरैजना रोएका थिए, आज खिनमाया फेरी रोईन प्रत्यक्ष हेर्नेहरु हाँसे । किनकी खिनमयाको रुवाई खुशीको थियो ।
झापा अर्जुनधारा–५ की खिनमायाकामा एकैदिन धेरै मानिसहरु भेला भएको सायदै पहिलो दिन होला आज (सोमबार) । हिजोका दिनमा खिनमायालाई भेट्नेहरुले बिचरा कठैबरा कति दुःखी भनेर सहानुभूति व्यक्त गर्थे, कसैले सकेको केही सहयोग पनि गर्थे । उनको घरमा आउने र फोटो खिचाउने अनि घरको अवलोकन गर्ने थिएनन् । तर आज घरभरी मान्छे त्यसमा पनि परोपकारी भावना भएकाहरुको उपस्थितीले खिनमायाको मन फुरुंग भएको छ, आज पनि खिनमाया खुशीले रोएकी छन् ।
हिजोका दिनसम्म राम्रो लाउने कुरा त परै जावोस् पेटभरी खानसम्म नपाएर समस्यामा परेकी अतिविपन्न वर्गकी खिनमाया पौडेलको समस्याको बारेमा यस अघि धेरैले थाहाँ पाईसकेको अवस्था छ । आज उनै खिनमायाको खुशी र उमंगलाई सबैसंग साट्दै छौं ।

यस अघि खिनमायाको कठिन अवस्थालाई सञ्चारको माध्यमबाट समुदायमा देखाएपछि समुदायका सहयोगी मनकारीहरुले भौतिक सामग्री तथा नगद उपलब्ध गराए । फलस्वरुप आज मजबुद र आकर्षकघर निर्माण सम्पन्न गराएर समुदायले आज खिनमायालाई घर हस्तान्तरण गरेको छ ।
खिनमाया घर निर्माण समन्वय समितिका अध्यक्ष ओमप्रकाश लुईटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली सेना श्री नयाँ श्री नाथ गण चारआलीका गणपति अमरजंग कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । घर निर्माणका लागि शेरबहादुर थापा, अर्जुन कडेल, कुलप्रसाद खरेल, सोना गेलाल, उमेश उपरकोटी, रुद्रप्रसाद ढकाल, सुरज काफ्ले, डिके सेल्स एण्ड सर्भिस, हेमन्त चौहान, तेजु भण्डारी, हेल्पिङ हेण्डस् कनकाई फाउण्डेशन, हेल्पिङ हेण्डस् जापान, देवेन्द्र थापा, पदम पौडेल त्यसैगरी जीवन उप्रेती, जीत कार्की, रामप्रसाद श्रेष्ठ, दहिझोडा, नमुना, जुकेखाडी सामुदायिक वन समिति, सञ्जय अग्रवाल, राहुल अग्रवाल, प्रविन अग्रवाल, पुरुषोतम अग्रवाल, अशोक साहेवाल, मुनमुन अग्रवाल लगायतले सहयोग गरेको खिनमाया घर निर्माण समनवयन समितिका सचिव जीवन खतिवडाले बताए ।
कार्यक्रममा दाताहरुलाई फुलगुच्छाले सम्मान गरिएको थियो भने समाचार सम्प्रेक्षण गरेर सहयोग गर्ने आमसंचार डटकमका समाचार प्रमुख विनोद पाण्डे र घर निर्माणमा श्रमदान गराउने नेपाली सेना श्री नयाँ श्री नाथ गण चारआलीका गणपति कार्यक्रमका प्रमुख अतिथि अमरजंग थापालाई कदर पत्र र नेपाली टोपी ओढाएर सम्मान गरिएको थियो । सम्मानितहरुलाई अध्यक्ष लुईटेल, सचिव खतिवडा र खिनमायाले सम्मान गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि थापाले भने ‘म झापामा पहिलो पटक आएको हो म विगत १८ महिना देखि यहाँ रहेको छु । मैले यो सयमसम्म झापालाई बुझ्दा यहाँको समाज यति धेरै विशिष्ठ, विकसित रहेछ, अरुको दुःख, कष्टमा धेरै सहयोग गर्ने समाज रहेछ, मैले व्यक्तिगत रुपमा झापाबाट सिकेर बुझेर यहाँबाट जादाँ दिएर जाने विषय बनेको छ ।’
घर हस्तान्तरण कार्यक्रममा दाताहरु शेरबहादुर थापा, कुलप्रसाद खरेल, मदन बुढाथोकी, हेमराज सापकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमा स्वागत कमल पोखरेलले गरेका थिए भने संचालन सचिव जीवन खतिवाडाले गरेका थिए । कार्यक्रमका सभाध्यक्ष लुईटेलले सबै दाताहरुलाई धन्यवाद दिदै घर निर्माण समिति आजकै दिनबाट भंग भएको जानकारी गराए ।

































































































