विर्तामोड साउन । एकसाता अघि अर्धनग्न अवस्थामा मृत फेला परेकी सिर्जना बस्नेतका हत्यारालाई कारबाही र मृत आत्माको चिर शान्तिको कामना गर्दै विर्तामोडमा दिप प्रज्वलन गरिएको छ ।
मेची महाकाली संयुक्त बुहारी आवाज झापाको आयोजनामा विर्तामोडको मुक्ति चोकमा विभिन्न नाराअंकित प्लेकार्डसहित भेला भएका बुहारीहरुले हत्यारा पहिचान गरी कारबाही गर्न मागसहित मृतकको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका हुन् ।
आवाजका दमक उपसमिति प्रमुख जमुना निरौलाको अध्यक्षता र विर्तामोड नगरपालिका वडा नं–५ का अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्य एवं मेची महाकाली संयुक्त बुहारी आवाजका केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा सल्लाहकार रञ्जु प्याकुरेल, विर्तामोड नगरपालिका कार्यपालिका सदस्य भावना आचार्य, आवाजका सल्लाहकार लगायतको आतिथ्य रहेको संस्थाका कोषाध्यक्ष परु सुवेदीले जानकारी दिनुभयो ।
बुहारी आवाजका सल्लाहकार, कार्यसमितिका पदाधिकारी, सदस्य र आजीवन सदस्यहरु, दमक र भद्रपुर उपसमितिका पदाधिकारी, सदस्य एवं बुद्धनगर महिला समूहका दिदीबहिनीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव कविता थापाले र स्वागत सिमा अधिकारीले गर्नुभएको सहसचिव अम्बिका दाहाल गिरीले जानकारी दिनुभयो ।
उठ नारी अति भो सही बस्दा क्षति भो, छोरी मार्न पाइदैन, नारी सामान होइन सम्मान हो, बलात्कारी खुलेआम बलात्कृत गुमनाम लगायतका प्लेकार्डसहित भेला भएका महिलाहरुले घरेलु हिंसा अन्त्य गरेर हिंसामुक्त समाज निर्माण गर्न आह्वान समेत गरेका थिए । यमु शर्मा सुब्बाले नेतृत्व गरेको बुहारी आवाजमा देशभरका १० हजार बढी महिलाहरु आबद्ध रहेको र यस सञ्जालले घरेलु हिंसा न्युनिकरणका लागि कार्य गरिरहेको बताइएको छ । बुहारीहरुले यसअघि जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाउँदै हत्यारालाई कानून संशोधन गरी मृत्युदण्डको सजाय ब्यवस्था गर्न माग गरेका थिए ।
विर्तामोड–५ मा डेरा गरी बस्ने २५ बर्षीया युवती सिर्जनाको गत सोमबार आफू बसेको घरअगाडि अर्धनग्न अवस्थामा शव फेला परेको थियो ।
रहस्यमय तरिकाले सिर्जनाको निधन भएपछि प्रहरीले आवश्यक अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर झिकाएको थियो । सो कुकुर घरभित्रै पसेको थियो । स्थानीयले हत्यारा तत्काल सार्वजनिक गर्नुपर्ने माग गर्दै शव उठाउन केही अवरोध गरेका थिए । तर एकसाता वितिसक्दा पनि प्रहरीले हत्याका अभियुक्त सार्वजनिक गरेको छैन ।
आफ्नै परिवारका नातेदारहरु बस्ने गरेको बताइएको सो घरको चौथो तलामा बस्ने ती युवती राती आफ्नै कोठामा सुतेको परिवारको भनाइ छ । बिहानसम्म घरका सबै तलामा ताला लगाईएको थियो ।
यस विषयमा अनुसन्धान नै भइरहेको र हालसम्म कोही पक्राऊ नपरेको इलाका प्रहरी कार्यालय विर्तामोडका डि.एस.पी. सन्तोष आचार्यले बताए । मृतक युवतीको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न कति दिन लाग्छ ? भन्ने जिज्ञाशामा समेत डि.एस.पी. आचार्यले एकीन मिति तोक्न नसकिने जानकारी दिए ।
बुहारीको चेतावनी–‘छोरी मार्न पाइदैन’

































































































