काठमाडौं । सरकारले आगामी असार २५ गतेसम्ममा कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । कोरोना संक्रमणका कारण लामो समयसम्म व्यापार व्यवसाय बन्द छ ।

संक्रमण जोखिम बढ्दै गएसंगै सरकारले जारी गरेको निषेधाज्ञा जारी रहेपनि आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गर्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।
विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्वैमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण , २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण साथै २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार तोकिएको छ ।
२०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागले जनाएको छ ।सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।



















