Homeसमाचारसुपारीमा शरदको सफलता -(भिडियोसहित)

सुपारीमा शरदको सफलता -(भिडियोसहित)

इन्दु पूर्वेली
बुद्धशान्ति।
सुपारीमा सुन्दर भविष्य देखेका उनी हरपल सुपारीको बोट, दाना, र प्रशोधित सुपारीसँगै खेलिरहन्छन् । अधिकांश समय ब्यस्त देखिने उनी सुपारी खेती, गोडमेल, सुपारी झार्ने, बटुल्ने, छोडाउने, पकाउने, सुकाउने जुनसुकै काममा परिपक्व र सिपालु छन् ।
उनी अर्थात् झापा बुद्धशान्ति–१ निवासी शरद आचार्य (५३) । उनी विगत २७ बर्षयता निरन्तर सुपारीमै भविष्य खोजिरहेका छन् । सुपारी किसानदेखि ब्यवसायीसम्मको पहिचान बनाएका उनी आफू मात्रै होइन, तीनजनालाई स्थायी तथा सिजनमा आसपासका ४५ बढीलाई अस्थाई रोजगारीका श्रोत समेत हुन् ।
मेहनत कम र उत्पादन बढी सुपारीको विशेषता हो । युवा जनशक्ति विदेसिने क्रम बढेपछि झापाको महेन्द्र राजमार्ग उत्तरी क्षेत्रका धेरै किसान सुपारी खेतीमा आश्रित छन् । झापाको प्रमुख नगदे बालीमा पर्ने सुपारीको खेती तथा ब्यवसाय शरदको दैनिकी बनेको छ ।
आफ्नै घर आसपासको लगभग १२/१५ कठ्ठा बढी जमिन उनी सुपारी सुकाउन, छोडाउन र प्रशोधन गर्न प्रयोग गर्छन् । घर आसपास तथा खेतीमा समेत उनले सुपारी लगाइसकेका छन् । ‘मंसिरबाट सुपारीको सिजन शुरु हुन्छ’–उनी भन्छन्–‘असारसम्म सुपारी टिप्ने, छोडाउने र प्रशोधन गर्ने काम चलिरहन्छ । ’ उक्त ७ महिनासम्म उनकामा ४० देखि ४५ जना कामदार सुपारीकै स्याहारमा ब्यस्त देखिन्छन् । ‘पहिला पहिला विहारीहरुले यहाँ आएर बगान ठेक्का गरेर सुपारी लैजान्थे, यहाँका किसान सुपारीको प्रतिकिलो मूल्य कति छ ? भन्ने थाहा नै नपाई हामीले सुपारी बेच्नुपथ्र्यो ’– यस ब्यवसायमा प्रवेश गर्नुअघिको प्रसङ्ग सम्झदै उनले भने–‘हामीले पनि गर्दा त हुन्छ होला नि ! भन्ने सोच आयो , त्यसबेला रोजगारी थिएन , विदेश जानुभन्दा घरमै केही गरौं लाग्यो, त्यसैको परिणाम अहिले सुपारीमै सुन्दर भविष्य खोजिरहेको छु ।’ उनलाई हिसावकितावमा श्रीमती राधा तथा छोेराहरु ज्योति, नवज्योतिले सघाउँछन् ।


उनी स्थानीय किसानको बगान ठेक्का लिन्छन्, अथवा चलनचल्तीको मूल्यमा प्रतिकिलो सुपारीको मूल्य दिन्छन् र सुपारी खरिद गर्छन् । गाउँ–ठाउँको मान्छे, स्थानीयको विश्वास पनि छ । मंसिरदेखि सुपारी टिप्ने काम शुरु हुन्छ । सुपारी हरियो हुन्जेल झारेर बोक्रासँगै उसिनिन्छ । उसिनेर बोक्रा छोडाएर सुकाइएको सुपारीलाई ‘लाली’ भनिन्छ । उनले भने–‘यो सुपारी सिजन अनुसार तीनसयदेखि छ सय रुपैया प्रतिकिलो विक्छ ।’ उक्त सुपारी गुट्का बनाउन प्रयोग हुने र अत्तर हालेर महंगो मूल्यमा विक्री हुने उनी बताउँछन् ।
तीन प्रकारको सुपारी
उत्पादन गर्दै आएका उनी जब सुपारी पाक्छ, तब ‘फाली सुपारी’ उत्पादन गर्छन् । पाकेको सुपारी टिपेर छोडाएपछि सुकाइन्छ, त्यसबाट फाली सुपारी उत्पादन हुने उनी बताउँछन् । फाली सुपारीको मूल्य समेत प्रतिकिलो तीनसय देखि सिजनअनुसार छ सयसम्म पुग्छ । यस्तो सुपारी पान र मसलाका रुपमा प्रयोग हुने उनले बताए ।
गुहापानमा प्रयोग हुने सुपारी पनि पान पारखीहरुका लागि निक्कै लोकप्रिय छ । ‘पाकेको सुपारीलाई प्लाष्टिकमा प्याक गरेर ड्रम वा खाल्डोमा एकमहिनादेखि एकबर्ष सम्म राख्न सकिन्छ’–उनले भने–‘यसबाट गुहा सुपारी उत्पादन हुन्छ ।’ यो सुपारी गुहापानमा मात्रै प्रयोग हुने र गुहा सुपारी आसामतिरबाट आउने ब्यक्तिहरुले अत्यधिक मन पराउने आचार्यको अनुभव छ । यो सुपारी प्रतिगोटा ५ रुपैयाँदेखि ७ रुपैयाँसम्ममा विक्री हुने उनी बताउँछन् ।
नेपालमा उत्पादित सुपारी नेपालमै खपत हुने उनले बताए । गाउँ तथा शहरी क्षेत्रका ब्यवसायीले उत्पादन गरेको सुपारी विर्तामोड वा काँकरभिट्टाका सुपारी होलसेलरले खरिद गर्ने र उनीहरुले नै फ्याक्ट्रीसम्म पु¥याउने गरेको आचार्यले जानकारी दिए ।
२७ बर्षदेखि सुपारीका दानासँग खेल्दै गर्दा उनले यसैबर्ष सुपारी छोडाउने मेसिन समेत भित्र्याएका छन् । भारतको कर्णाटकबाट लगभग ८ लाखको लागतमा सुपारी छोडाउने मेसिन भित्र्याएपछि अहिले काममा थप सहजता मिलेको उनले सुनाए ।
सुपारीको ब्यावसायिकताका लागि लगभग ५० लाख लगानी गरेका उनले बार्षिक रुपमा लगभग चारसय क्वीन्टल तयारी सुपारी उत्पादन गर्दै आएको बताए । सरकारले सुपारीलाई कृषिबाली अन्तरगत नगदेवालीमा राखेपनि कर (भ्याट) भने लिइरहेको उनको भनाइ छ ।
बार्षिक रुपमा लगभग ४० हजार रुपैयाँ कर आन्तरिक राजश्व कार्यालयमा तिर्दै आएका उनले भने–‘सुपारी ट्रान्सपोटेशनमा अत्यन्तै समस्या छ, विचौलियाको खेल छ, फ्याक्ट्रीसम्म पु¥याउनै सकिदैन ।’ ‘ट्रान्सपोटेशन’ सहज बनाउन उनले सरकारसँग माग समेत गरे ।
वि.सं १९८७/०८८ तिर शान्तिनगरका गंगाधर घिमिरेले आसामको तेजपुरबाट ल्याएर पहिलोपटक झापामा सुपारी रोपण गरेको इतिहास पाइन्छ । आसामबाट आउनेले घरको सजावटको लागि सुपारी लगाउने गरेपनि पछिल्लो समय सुपारी उत्पादन र माग क्रमशः बढिरहेको छ भने यसले ब्यावसायिकता समेत ग्रहण गरिरहेको छ ।
जन्मदेखि मृत्युसम्मका हरेक संस्कारमा समेत पुगीफलम भनेर सुपारी चढाइन्छ । अहिले झापाको लगभग २ हजार ७ सय ५० हेक्टरमा सुपारी खेती भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रका शालिग्राम भट्टराइले जानकारी दिए । उनका अनुसार देशभरका १८ जिल्लामा सुपारी खेती हुँदै आएको छ भने झापामा मात्रै लगाइएको सुपारी खेतीबाट लगभग १० हजार २ सय ५० मेट्रिकटन सुपारी उत्पादन भइरहेको भट्टराईले बताए ।
हाल सुपारी खेतीको विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत झापाका मेचीनगर, अर्जुनधारा र बुद्धशान्तिमा विरुवा, सुपारी टिप्ने मेसिन समेत वितरण भइहरेको भट्टराईको भनाइ छ । झापाका बुधबारे, शान्तिनगर, शनिश्चरे, बाहुनडाँगी, अर्जुनधारा, दमक, मेचीनगर, भद्रपुर, ज्यामिरगढी लगायत क्षेत्रमा सुपारी खेती हुँदै आएको छ ।
हाल झापा, मोरङ, इलाम, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, चितवन, नवलपरासी, कपिलबस्तुसहितका १८ जिल्लामा सुपारी खेति हुँदै आएको छ । सुपारी विरुवा लगाएपछि त्यसबाट उत्पादन लिन ७/८ बर्ष लाग्छ भने त्यसले निरन्तर २० बर्षसम्म उत्पादन दिने विज्ञहरु बताउँछन् । प्रतिहेक्टर जमिनमा १ हजार ३ सय ७० वटा सुपारीको बोट लगाउन सकिने र त्यतिकै संख्यामा गोलमरिच, ६ सय ८५ बोट केरा, तथा बेसार खेतीसमेत गर्न सकिन्छ ।
बहुबाली लगाउन सकिने र त्यसभित्र लगाइएको मरिच, बेसार र केरा खेतीसहित प्रतिविगाह वार्षिक ६४ हजारसम्म आम्दानी गर्न सकिने सुपारी खेतीमा संलग्न कृषक तथा विज्ञको टोलीले गरेको अध्ययनले देखाएको छ ।
यसअघि नेपाल सुपारी खेती विकास संस्थाले प्रकाशन गरेको ‘सुपारी संसार’ विषयक पुस्तकमा देशभरमा लगभग ९० हजार सुपारी किसान रहेको र तीमध्ये ७० हजार किसानहरु झापामा मात्रै रहेको उल्लेख थियो । अहिले सुपारी खेती बढ्दै गएको छ ।
समुन्द्री सतहदेखि एक हजार २ सय मिटरको उचाईसम्म १४ देखि ३६ डिग्री सेल्सियस तापव्रmम भएको पानी नजम्ने र धेरै सुख्खा पनि नहुने भिरालो भू–वनोट भएको भूगोल सुपारी खेतीका लागि उपयुक्त मानिने कृषि ज्ञान केन्द्रका भट्टराईले बताए ।
झापामा मङ्गला, श्रीमङ्गला, मोहितनगर, काइकुची, हिरहिल्ली जातका सुपारी खेती हुँदै आएपनि मोहितनगर जातको सुपारी अझ फस्टाउने अनुमान छ ।
पछिल्लो समय सुपारी किसानहरुलाई संगठीत गर्दै किसानकै हकहितमा काम गर्ने उद्देश्यले ३४ बढी सुपारी सहकारी संस्थाहरु समेत क्रियाशील भएपछि सुपारी विक्री तथा मूल्यबारे थाहा पाउन सहज भएको सुपारी किसानहरु बताउँछन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसुपारीमा शरदको सफलता -(भिडियोसहित)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img