विर्तामोड । विपत्ती पर्दा सामाजिक कार्यमा सक्रिय एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने भएको छ । अभियानले कोरोना संक्रमणका कारण झापामा पनि अक्सिजनको अभाव हुन सक्ने आंकलन गर्दै अभियानले अक्सिजन बैंक स्थापना गर्नुका साथै एक्सरे मेसिन पनि सञ्चालनमा ल्याउन लागेको हो ।
अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।
झापामा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । संक्रमितको दैनिक मृत्युदर पनि बढिरहेको छ । कोरोना संक्रमणबाट यो वर्ष झापामा मृत्युदर बढ्दै गएको छ ।
झापासहित अन्य अस्पतालमा अक्सिजन भन्दा पनि अक्सिजन सिलिन्डरको अभाव देखिएको छ । अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताउनु भयो ।
४०० थान सिलिन्डरका लागि लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ । अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिनुभयो । सिलिन्डरका लागि सहारा नेपालको टिमले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अभियानले अपुग ३० लाख रुपैयाँका लागि एक व्यक्ति एक सिलिन्डर अभियान सुरु गर्ने भएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय झापाली समाज, वित्तीय संघसंस्था तथा सहकारी संघलाई पनि अभियानमा जोडिने बस्नेतले बताए ।
त्यस्तै, झापा जिल्ला सहकारी संघको पहलमा अभियानमार्फत एक्सरे मेसिन सञ्चालनमा ल्याइने भएको छ । त्यसका लागि संघले काम गरिरहेको बताइएको छ ।
कोरोना संक्रमण जोखिम बढ्दै गएसंगै २०२० को मे १ बाट सुरु भएको अभियानले कोरोना संक्रमणको पहिलो चरणमा एक करोडभन्दा बढी लागतमा कोटीहोममा पिसिआर ल्याब स्थापना,ै लकडाउनमा विपन्नवर्ग तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरु भोकै बस्न नपरोस् भन्ने उद्देश्यले ‘एक विपन्न परिवारलाई सहयोग’ खाद्यान्न सहयोग गर्नुका साथै होल्डिङ सेन्टरमा विभिन्न जिल्लाबाट आएर बसेका लागि खाना खुवाउने तथा झापामा भिटिएम, आडिटी किट वितरण गरेको थियो । संकलन गरिएका स्वाबको परीक्षणको रिपोर्ट आउन ढिलाइ भएपछि अभियानले पिसिआर ल्याब स्थापना गरेको थियो ।
एकका लागि एक अभियान: चारसय थान अक्सिजन सिलिण्डर ल्याउने

































































































