झापा / कोरोना संक्रमणको दोस्रो चरणमा संक्रमण जोखिम बढेसंगै स्थानीय तहले आ आफ्नो तरिकाले आइसोलेसन बेड र अक्सिजनको व्यवस्थापन गरेका छन् । १५ वटा स्थानीय तहले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै आइसोलेसन बेड तयारी गर्नुका साथै अक्सिजनको समेत व्यवस्था गरेका हुन् ।
झापाका १५ वटै स्थानीय तहमा हालसम्ममा ३५७ वटा आइसोलेसन बेड र १५३ वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहले संक्रमणको चाप हेरेर बेड संख्या बृद्धि गर्ने क्रम निरन्तर जारी रहेको बताउनु भयो । जस अनुसार दमक नगरपालिकाले ४ वटा एचडियुसहित ३० वटा आइसोलेसन बेड र ४० वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिसकेको छ भने विर्तामोड नगरपालिकाले ५ बेडको कोभिड अस्पतालसहित ५० शैयाको आइसोलेसन बेड र ७ वटा अक्सिजन सिलिण्डरको व्यवस्था गरेको छ ।
सरकारी, निजी र स्थानीय तहका सहित गरी झापामा हालसम्म ५७५ शैया आइसोलेसन बेड छन् भने ८५ वटा आइसीयु बेड रहेको जनाइएको छ । दोस्रो चरणको कोभिड संक्रमणबाट सबैभन्दा बढी १९ देखि ५९ वर्षसम्मका मानिसहरु बढी संक्रमित भएको तथ्यांकले देखाएको छ । त्यसपछि ६० माथिका बृद्धबृद्धा संक्रमित छन् भने १८ वर्ष मुनिका बालबालिका १४६ जना संक्रमित रहेका छन् । झापाको मृत्युदर १.७७ प्रतिशत रहेको छ ।
त्यस्तै हल्दिवारीले ३०, बुद्धशान्तिले २५, बाह्रदशीले २०, झापाले २०, गौरादह नगरपालिकाले ३५, गौरीगञ्जले १० बेडको आइसोलेसन र ५० बेडको क्वारेन्टिनको व्यवस्था गरेको बताइएको छ ।
यसैगरी अर्जुनधारा, कनकाई, भद्रपुर, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका लगायतले पनि आइसोलेसन बेडका साथै अक्सिजनको व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बुधबार आयोजित पत्रकारसंगको भर्चुअल छलफलमा जानकारी दिनुभयो ।
छलफलले कोभिडसंग लडनका लागि प्रभावकारी उपाय के के हुन सक्छन् भन्ने विषयमा छलफल गरेको थियो । झापामा कोभिड संक्रमितको संख्या क्रमिक रुपमा बढिरहेकोले अबको केही समय कडा प्रकृतिको निषेधाज्ञा जारी गर्नुपर्नेमा जोड दिएको छ । जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलेको संयोजकत्वमा भएको छलफलमा मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन पिताम्बर ठाकुरले अस्पतालमा उपचाररत विरामीको अवस्था, भौतिक संरचना जनशक्ति अभाव लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
झापामा कोरोनाबाट संक्रमितमध्ये मृत्युदर १.७७ प्रतिशत

































































































